हिमालयन बैंकको २५ प्रतिशत बोनस सेयर पारित

बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न हिमालयन बैंकको पच्चिसौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी गराए । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७३-७४ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र माघ ४ गते सफलतापूर्वक २५ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए । अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७३-७४ अन्त्य सम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको जानकारी दिए ।