पाँच वर्षमा ललितपुर जिल्ला अदालत पूर्ण डिजिटल हुने «

पाँच वर्षमा ललितपुर जिल्ला अदालत पूर्ण डिजिटल हुने

ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गर्ने भएको छ । बिहीवार ललितपुर जिल्ला अदालतमा आयोजिक एक कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने बताए ।


उनले अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरु मध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको जानकारी दिए ।


ललितपुर जिल्ला अदालतमा २०७८ साल जेठ मसान्तसम्म अदालतमा जिम्मेवारी सरेका १ हजार ८ सय ५५ मुद्दा मध्ये ९ सय ६६ मुद्दा फर्छौट भएको र ८ सय ८९ मुद्दा फर्छौट हुन बाँकी रहेको जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा दर्ता हुन आएका २ हजार १ मुद्दा मध्ये ६४० मुद्दा फर्छौट भएका र १ हजार ३ सय ६१ मुद्दा फर्छौट हुन बाँकी रहेको जानकारी दिएको छ ।

ललितपुर जिल्ला अदालतले समग्रमा ३ हजार ८ सय ५६ मुद्दा मध्ये १ हजार ६ सय ६ मुद्दा फर्छौट गरेको स्रेस्तेदार पाण्डेले जानकारी दिए । फैसला कार्यान्वयन तर्फ अदालतले जम्मा ५८ करोड ३६ लाख १३ हजार ८ सय ४१ रुपैयाँ जरिवाना मध्ये १४ करोड ६९ लाख १५ हजार ४ सय २५ रुपैयाँ असुली गरेको स्रेस्तेदार पाण्डेले बताए ।
ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत् मुद्दाको मिलापत्र गराउने कामलाई प्राथमिकतामा राखेको जनाइएको छ । यस आर्थिक वर्षमा ५ सय ४७ थान मुद्दा मेलमिलापमा पठाइएकोमा १०८ थान मुद्दा मेलमिलाप हुन सकेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्