राहत र पुनस्र्थापना प्रभावकारी बनाउन सांसदहरूको माग «

राहत र पुनस्र्थापना प्रभावकारी बनाउन सांसदहरूको माग

संक्रामक रोगबाट प्रभावितहरुका लागि दिइने राहत तथा पुनस्र्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक रोग ऐन, २०२० उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्दै सांसदहरुले संक्रामक रोगपछि राहत तथा पुनस्र्थापना गर्ने निकायमा अस्पष्टता भएको र मनोमानी हुने गरेको भन्दै राहत तथा पुनस्र्थापनाको प्रावधान ऐनमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने बताएका हुन् ।


बैठकमा सांसद डा. विमला राई पौड्यालले राहत र पुनस्र्थापनाको प्रावधान प्रष्ट रुपमा आउनुपर्ने बताइन् । राहत दिने आधिकारिक र जिम्मेवार निकायको प्रष्टता हुनुपर्ने र पुनस्र्थापना र पुनर्उत्थान सम्बन्धी नीति पनि सरकारले बनाउनुपर्ने उनले बताइन् ।
सांसद बेदुराम भुसालले संक्रामक रोगहरु प्राकृतिक विपत्तिसँग जोडिएर आउने भएकाले विपत व्यवस्थापन सँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए । संक्रामक रोगको प्रकोप आउँदा अन्य रोगका विरामीले समेत पाउने उपचार सेवामा कठिनाइ भएको भन्दै त्यस्तो स्थिति नहुनका लागि राज्यले प्रवन्ध मिलाउनुपर्ने उनले बताए ।


सांसद ठगेन्द्र प्रकाश पुरीले विद्यमान ऐनमासंक्रामक रोगको बारेमा स्पष्ट परिभाषा नगरिएको बताए । उनले यस ऐनको संशोधन आवश्यक रहेको धारणा व्यक्त गरे ।
सांसद भगवती न्यौपानेले राहत वितरणलाई राज्यको निकायबाट एकद्धार प्रणाली अनुरुप गरिने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । सांसद भैरव सुन्दर श्रेष्ठले संक्रामक रोगको बेलामा नीजि अस्पतालहरुले मनोमानी रुपमा शुल्क लिने गरेको भन्दै अस्पतालहरुले शुल्क लिने मापदण्ड पनि निश्चित गरिनुपर्ने धारणा राख्नुपर्ने बताए । विपत्तिपछि वितरण गरिने राहतमा राज्यलाई पछि पारेको देखाउन व्यक्तिहरु हावी भएको भन्दै सांसद श्रेष्ठले व्यक्तिवादलाई नियन्त्रण गर्न ऐनमा व्यवस्था गरिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्