नेतापुत्र त्रयको भेटघाटले पार्टीमा सकारात्मक सन्देश दिएको छैन «

नेतापुत्र त्रयको भेटघाटले पार्टीमा सकारात्मक सन्देश दिएको छैन

डा. प्रकाशशरण महत, सहमहामन्त्री, नेपाली कांग्रेस

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जोकोही पनि चुनावी प्रतिपर्धामा आउन सक्ने बताएका छन् । पार्टीको आसन्न महाधिवेशनका सम्बन्धमा कुराकानी गर्दै उनले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको भन्दै योग्य र सक्षम उम्मेदवार आकांक्षीका रूपमा अघि आउन सक्ने बताए । विधानले दोस्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुख्र्यौली विरासतका आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गरे । पार्टीभित्रका तीन पुत्र नेताहरूको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खान पाउनुपर्छ भन्दा पनि योगदानका आधारमा स्थापित हुनुपर्ने दाबी गरे । भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै उनले पार्टीमा ठूलो योगदान दिएका लाखौं नेता–कार्यकर्ताहरू रहेको बताए । उनले आफू सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताए । राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनीतिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्छ भन्ने डा. महतसँग महाधिवेशनको तयारी, आगामी नेतृत्व र उम्मेदवारीबारेमा कारोबारले गरेको कुराकानीको सार :

महाधिवेशन नजिकिएको छ, व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी ?
हाम्रो महाधिवेशनलाई कोभिड–१९ ले धेरै प्रभावित ग-यो । धेरै पटक कार्यतालिकामा संशोधन गर्नुप-यो । नचाहँदा–नचाहँदै यो परिस्थिति आयो । तर, नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ । यसको तयारी सबै पक्षबाट भइरहेको छ । क्रियाशील सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुङ्गो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ । मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।

नेतृत्वलाई लिएर आकांक्षीहरू धेरै छन् । पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरू र नयाँ आकांक्षीहरू पनि देखिएका छन् । यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ ?
पार्टीको विधानले कोषाध्यक्षबाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ । पालिकाको वडादेखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ । यसबाट पहिलो पिंढी रामचन्द्र दाइ, शेरबहादुर दाइसँगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौं । यसले सबै पदहरूमा उम्मेदवार हुने संख्या बढ्यो । यस्तो अवस्थामा निर्वाचनले आफैं व्यवस्थापन गर्छ । अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिस्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रूपमा कसलाई कहाँ मिलाउने भन्ने हुन सक्छ, तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ । यसमा चुनौती पनि छ, अवसर पनि छ । त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ । जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई पनि लाग्छ, पार्टीमा महŒवपूर्ण जिम्मेवारी लिन तयार छौं । यसको बाबजुद राजनीतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टीभित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ, अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ । अहिले विशिष्ट परिस्थितिमा हामी छौं । यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय होे । पार्टी सम्हाल्ने कुरा बाहिर देखिएजस्तो हुँदैन । यसकारणले मलाई लाग्छ, अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्व नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ, आलोचना, टिप्पणीहरू होलान् देउवाको, तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ ।

यसको अर्थ रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शशांक कोइराला, विमलेन्द्र निधिलाई एकै ठाउँमा लडाउने हो त ?
यस्तो छ कुरा, अहिले उपसभापति दुई जना हुनुहुन्छ । पहिला एक जना हुनुहुन्थ्यो । महामन्त्री दुई जना निर्वाचित हुन सक्नुहुन्छ । यदि हामी सँगै काम गरौं, फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ । होइन, म पछि गर्र्दिनँ, अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ ।

ल फेरि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईंहरूको राजनीतिक समय, उमेर र भविष्य पाँच वर्ष पछाडि धकेलिनेछ । योबारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?
म आफूलाई पनि नेतृत्वका लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ । हाम्रो अग्रज रहनुभएका दाइहरू हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दाजान्दै पार्टीको परम्परा र संरचना तथा अनुभवले दाइहरूको सान्दर्भिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छांै । हामी केही वर्ष पछाडि धकेलिनेछौं, तर हामी त्यो दाबी गरिरहेका छैनौं । मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भईसकेँ, सबै किसिमको अनुभव छ तर सभापति दाबी गरिरहेको छैन । यस्तै अरू साथीहरूले पनि सभापतिमाथि दाबी गरिरहनुभएको छ । जस्तै विमलेन्द्रजी पनि हुनुहुन्छ । निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेकाहरू फेरि नबन्ने दाउमा पुग्नुहोला । कतिपय उम्मदवारी नै नदिएका साथीहरू नै अगाडि सर्नुहोला । त्यसकारण अहिलेनै यस्तो भइसक्यो भन्ने अवस्था आइसकेको छैन ।

पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग, तीन शीर्ष नेताका सुपुत्रहरू, संयोगले सबैको पार्टीभित्र अलग–अलग योगदान छ । यसलाई वंश वा नाताले जोड्नुपर्दैन । तीनै जनाको घरमा लञ्च मिटिङ भयो, यसले नयाँ गुट जन्मायो कि भन्ने छ । पार्टीभित्र दुई समूह अहिले पनि छ । यसलाई कसरी हेर्नुभएको छ ?
उहाँहरूको भेटघाट मात्रैको कुरा त केही होइन, तर हामी नेतापुत्र नै त्यसैको हैसियतले त्यसमा नै सीमित रहेर बैठक बस्यौं । यसलाई आमकार्यकर्ता पंक्तिले सहज रूपमा लिएको छैन । यो पार्टी समग्र जनताका छोराछोरीहरूको पार्टी हो । उहाँका पिताजी नेताहरूले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान पनि छ, तर यो पार्टी त मेरो बुबा, मेरी आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानका आधारमा हामी स्थापित हुन सक्छौं ।
हामी पार्टीमा सबै वर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौं । उहाँहरूले जसका बुबाहरू नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक–पटक बैठक बस्नुभयो । यसले उहाँहरूका लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौं नेता, कार्यकर्ताहरू छन् । सबैको धेरथोर योगदान छ । कतिपय अवस्थामा उहाँहरूले गरेको भन्दा बढी योगदान गरेका साथीहरू छन् । यसकारण हामी मिल्यौं भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रूपमा स्वीकार गर्दैनन् । त्यसमा नेतापुत्र पनि, बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ ।

यो प्रसङ्गको अर्को पाटो पनि छ, अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ । मान्नुहुन्छ ?
विकल्प खोज्दा नेतापुत्रमा नै सीमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाइन्छ । पिता नेता नभएका अरू पनि योग्य पात्र छन् नि ! विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिस्पर्धा छ, तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन ।

लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरिनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ । यसको मूल्यांकन कसरी गर्नुभएको छ ?
शेरबहादुरजीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्रजीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीहरूले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुरजीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ । समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ । तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिवर्तन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्छ भन्ने मलाई लागेको छ । तर, उहाँ आफैं उम्मेदवारी दिन योग्य हुनुहुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्यो, अलग–अलग बाटो लागिसक्नुभयो भन्ने मूल्यांकन अलि अपरिपक्व हुन्छ ।

सबैले आआफ्नो उम्मेदवारी दाबी गरिसकेका छन्, तर तपाईंले गर्नुभएको छैन । तपाईं को दाबी कुन पदमा हो ?
पार्टी सभापति स्वयम्ले पनि साथीहरूको बीचमा भने पनि औपचारीक रूपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नुभएन । तथापि म सहमहामन्त्री भइसकेको छु । पहिला नै महामन्त्रीका लागि दाबी थियो । त्यसका लागि योग्यता र पृष्ठभूमि मसँग छ । सभापति पदमा शेरबहादुर दाइ आफैं लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु । नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ । यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।

फेरि पनि, नेतृत्वले तपाईंलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि ?
यी कुराहरू भइसकेको छ । यी कुरा नभइ म यसरी बोल्ने थिइनँ । त्यो राम्रो पनि हुँदैन । हामी संस्कार अँगाल्छौं । उत्ताउलो भएर राजनीति कहिल्यै गरेनौँ । यस विषयमा छलफल भएको छ । तर, औपचारिक रूपमा कसैको पनि घोषणा नभएको अवस्थामा मैले पनि नगरेको हो । तर, म सहमहामन्त्रीभन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु ।

प्रतिक्रिया दिनुहोस्