स्टार्फ नर्स मनीषा आफ्नै श्रीमानबाट निर्घात कुटिइन् «

स्टार्फ नर्स मनीषा आफ्नै श्रीमानबाट निर्घात कुटिइन्

पोखराको एक अस्पतालमा कार्यरत एउटी महिला आफ्नै श्रीमान्बाट निर्घात कुटिएकी छन् । पोखरा–१४, चाउथेकी २८ वर्षीया मनीषा थापा (केसी) आफ्नै श्रीमान् नरेन्द्र केसीबाट निर्घात कुटिएको उनले गुनासो गरेकी छन् ।
सोमबार मादक पदार्थ सेवन गरी आफू बसेको कोठामा आएर निर्घात कुटपिट गर्दा हाल आफू अस्वस्थ भई अस्पतालमा उपचार गर्नुपर्ने अवस्था आएको मनीषाले बताइन् ।
करिब साढे तीन वर्षअघि विवाह बन्धनमा बाँधिएकी मनीषाको हाल डेढ वर्षकी छोरी भए पनि घरपरिवारबाट छोरीलाई समेत आफ्नो नजिक पर्न नदिने गरेको उनले दुखेसो पोखिन् । मनीषाको हाल पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
मनीषाका आफन्तले उनका श्रीमान्ले पटक–पटक उनलाई कुटपिट गर्ने क्रममा सोमबार राति निर्घात कुटपिट गरी घरमा राखेकाले उनका श्रीमान्लाई कानुनी उपचारको लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उनका आफन्तले दिएको उजुरीका आधारमा नरेन्द्रलाई हाल अभद्र व्यवहार गरेको मुद्दा चलाइएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । पटक–पटक नरेन्द्रले आफ्नी श्रीमतीलाई कुटपिट गरेको विषयमा आफूहरूले मिलाउँदै आएको उनले जनाए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मनीषाका बाबु तिलकबहादुर थापाले भने विवाह भएको पहिलो वर्षदेखि दाइजोको विषय उठाउँदै ज्वाइँ नरेन्द्रले आफ्नी छोरीलाई कुटपिट गर्दै आएको दाबी गरे । यसपालि भने मनीषालाई बेहोस हुने गरी नरेन्द्रले निर्घात कुटपिट गरेपछि उनका छिमेकीले अस्पतालसम्म ल्याएर बाँच्न सफल भएको मनीषाका बाबु थापाले बताए ।
उनका अनुसार मनीषाको नाक–मुखबाट रगत आएको थियो भने उनको ६ वटा दाँतसमेत हल्लिने गरी कुटपिट भएको थियो ।
नरेन्द्रका दाइ (मनीषाका जेठाजु) राजेन्द्र केसीले भाइले गल्ती गरेकाले हाल उनलाई कानुनी उपचारका लागि प्रहरीसामु पठाएको बताए । मनीषाले आफूलाई मिथ्या आरोप लगाएको समेत उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्