विकासले गति लिन सकेन «

विकासले गति लिन सकेन

दाङ जिल्लामा विकासको कार्यले गति लिन सकेको छैन । चालू आर्थिक ०७५/७६ को करिब ६ महिना हुँदासम्म पनि विकास बजेट न्यून मात्रामा खर्च भएको स्थानीय तहहरूले बताएका छन् । अहिले उपभोक्ताहरू योजना सम्झौता गर्न आउने क्रम सुरु भएको जिल्लाका स्थानीय तहहरूको भनाइ छ । केही उपभोक्ताले योजना सम्झौता गरेर कामसमेत सुरु गरेका छन् । तर, अहिलेसम्म जति विकास बजेट खर्च हुनुपर्ने हो त्योअनुसार खर्च हुन नसकेको बताइएको छ । दोस्रो चौमासिकबाट विकासको काम सुरु हुने भएकाले अहिले विकास बजेट कम खर्च भएको स्थानीय तहहरूले बताएका छन् । जिल्लामा आर्थिक वर्षको अन्त्यमा आएर योजना सम्झौता गर्ने र काम गर्ने समस्या विगतका वर्षदेखि नै रहँदै आएको छ । यसरी आर्थिक वर्षको अन्यमा हतारमा काम गर्दा काम गुणस्तरीय नहुने यसका जानकारहरू बताउँछन् । जनप्रतिनिधिहरू आएमा यस प्र्रकारको समस्या समाधान हुने अपेक्षा गरिएको थियो, तर समाधान भने हुन सकेको छैन ।
राजपुर गाउँपालिकाका केही स्थानमा अहिले उपभोक्ता समितिहरूले योजना सम्झौताको काम सुरु गरेका छन्, तर अहिलेसम्म विकास–निर्माणमा उपभोक्ताहरूको उत्साहपूर्ण सहभागिता हुन सकेको छैन । गाउँपालिकामा मंसिरदेखि उपभोक्ता समिति गठन गरिएको थियो । तर, सम्झौता भने थोरै मात्र भएका छन् । यसरी सम्झौता भएर काम सुरु हुन नसक्दा विकास बजेटसमेत न्यून मात्रामा खर्च भएको छ । गाउँपालिकामा करिब ३ सय योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गाउँपालिकामा निर्माण हुने विकासे कामहरूको सर्भे भने गरिसकेको छ ।
उपभोक्ताहरू सम्झौता गर्न नआउँदा समस्या भएको देखिन्छ । पहिलो चौमासिकसम्म वर्षात तथा चाडपर्वले गर्दा काम सुरु हुँदैन, त्यसैले दोस्रो चौमासिकदेखि विकास निर्माण सुरु हुने गरेको देखिन्छ । उपभोक्ताहरूमा पुरानो संस्कार हट्न सकेको छैन । पछि गरे पनि हुन्छ भन्ने संस्कार नै बसिसकेका कारण पनि उपभोक्ताहरू समयमै योजना सम्झौता गर्न नआउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । समयमै काम गर्नुपर्छ भनेर मानसिक रूपमा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ ।
गाउँपालिकाले उपभोक्ताहरूलाई योजनाको सम्झौता गर्नका लागि माघ १५ सम्मको समय दिएको छ । गाउँपालिकाले उपभोक्ताहरूलाई समयमै योजना सम्झौता गर्न आउन अनुरोध गर्दै सचेतीकरण कार्यक्रम गर्न पनि थालेको छ ।
बबई गाउँपालिकामा पनि विकास बजेट थोरै खर्च भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका लेखापाल गोपाल वलीले हालसम्म करिब विकास वजेट खर्च भएको जानकारी दिए । उनले गाउँपालिकामा योजना सम्झौताभएर काम सुरु भएको बताए । उपभोक्ताहरूले योजना सम्झौता गरेर काम सुरु गरे पनि काम सम्पन्न भइनसकेकाले भुक्तानी हुन सकेको छैन । यसले गर्दा पनि गाउँपालिकाको विकास बजेट खर्च कम भएको उनको भनाइ छ । गाउँपालिकामा ४ सयभन्दा बढी योजना रहेको गाउँपालिकाले जनाएको छ ।
यता घोराही उपमहानगरपालिकामा पनि योजनाहरूको सम्झौता सुरु भएको उपमहानगरपालिकाले जनाएको छ । केही उपभोक्ताले सम्झौता गरेर काम सुरु गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले बताए । पहिलो चौमासिक सकिए पनि विकासका काम सुरु हुने भएकाले उपभोक्ताहरूले योजना सम्झौता पनि सुरु गरेको उनको भनाइ छ । तर हालसम्म न्यून मात्रामा योजना सम्झौता भएका छन् । उपमहानगरपालिकामा २ सयभन्दा बढी योजना सम्झौता भएको प्रमुख प्र्रशासकीय अधिकृत सुनारले बताए । उपमहानगरपालिकामा करिब २ हजार ६ सय योजना रहेको उनको भनाइ छ ।
उपभोक्ताहरूलाई काम गर्दा आवश्यक पर्ने सामग्रीको समस्या आउन नदिएको सुनारले बताए । तर पनि उपभोक्ताहरूले काम गर्दा ढुङ्गा, गिट्टी, बालुवाको समस्याका कारण काम गर्ने समस्या भएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्