महामारीपछि सामाजिक–आर्थिक परिवर्तन «

महामारीपछि सामाजिक–आर्थिक परिवर्तन

महामारी, युद्ध, विद्रोह र सरकारको अक्षमताका कारण समाज परिवर्तन हुन्छ । यिनीहरूमध्ये महामारीको भूमिका कम छैन ।
विश्वमा जस्टिनियन पेगलाई पहिलो भनिन्छ, जुन इजिप्टबाट सुरु भएर बेजन्ताइन साम्राज्यको राजधानी कन्सटेनटाइन पोलसम्म पुगेको थियो । तत्पश्चात् यो पूर्वपश्चिम फैलिएर साढे २ देखि १० करोडसम्म नरसंहार भएको अनुमान छ ।
उक्त महामारीअघि बेजन्ताइन साम्राज्य सम्पन्न थियो । परन्तु ७ सय ५० तिर उक्त देश उन्मूलन हुँदा बेजन्ताइन साम्राज्यको आर्थिक अवस्था दयनीय भयो र टुक्रियो पनि ।
चौधौं शताब्दीमा युरोप र एसियामा ब्ल्याकडेथ नामको महामारी फैलियो, जसका कारण ५ लाख ५० हजारदेखि २० करोड व्यक्तिको ज्यान गएको अनुमान छ । सन् १३४० को सुरुमा उक्त महामारी भारत, सिरिया र इजिप्टमा फैलियो भने सन् १३४७ मा युरोपमा फैलियो, जसबाट यहाँको ५० प्रतिशत जनताको ज्यान गयो ।
ब्याक डेथको महामारीबाट धेरै व्यक्तिको मृत्यु भए पनि कृषि कामदारहरूको ज्याला बढ्यो, कृषि श्रमिकहरूको जमिनमाथिको पहुँच बढ्यो र जमिनदारहरूको स्वामित्व घट्यो । श्रमिकहरूको माग बढ्दा उनीहरूको ज्याला बढ्यो र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव प¥यो, तर जमिनदारहरूलाई चित्त बुझेन र उनीहरूले जमिनको मापदण्ड बनाउन दबाब दिए, जसको कारण भूमिसम्बन्धी कानुन बन्यो, जुन कृषकहरूको हितमा नहुनाले सन् १३८१ मा कृषक आन्दोलन भयो । यसबाट युरोपको कृषिक्षेत्रमा केही प्रभाव प-यो ।
युरोपभरि ब्ल्याकडेथको महामारी फैलाएको आरोपमा धेरै यहुदीहरूलाई फाँसी दिइयो । क्याथोलिक चर्चले उक्त महामारीको समाधान गर्न नसकेकाले आमजनतामा यसप्रतिको आस्था घट्यो ।
प्रथम विश्वयुद्धको अन्त्यतिर युरोपमा देखा परेको स्पेनिस फ्लु अमेरिका र एसियामा पनि फैलियो । यसबाट ५ करोड व्यक्तिको ज्यान गएको अनुमान छ, जसमध्ये भारतमा मात्र २ करोडको मृत्यु भएको अनुमान छ ।
वस्तुतः उक्त फ्लूले जर्मनी र अस्ट्रेलियालाई बढी प्रभावित बनायो । केही व्यक्तिहरूले त यही फ्लूको कारण जर्मनले युद्ध हारेको बताएका छन् । परन्तु यो कुरा पुष्टि भएको छैन ।
सन् २०१९ को डिसेम्बर महिनाको अन्तिमतिर चीनको दक्षिण–पूर्व प्रान्त हुपेइको राजधानी बुहानमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारणले विश्वका अर्बाैं व्यक्ति प्रभावित भएका छन् । सन् २०२० को अप्रिलको पछिल्ला हप्तामा त यसको रफ्तार झन् बढ्यो । यो रफ्तार हाल केही कम भए पनि यसको असर कहिलेसम्म पूर्ण रूपमा घट्ने हो, किटान गर्न सकिएको छैन ।
कोभिड–१९ का कारण हाल विश्वमा लाखौंको ज्यान गएको छ भने करोडौ संक्रमित भएका छन् । भविष्यमा यसबाट थप कतिको ज्यान जाने हो र कति संक्रमित हुने हुन्, थाहा छैन ।
हालसालै बेलायत, अमेरिका, रूस, चीन र भारतले कोभिड–१९ विरुद्धको खोप बनाएर मानव जातिको संरक्षणका लागि उल्लेखनीय रचानात्मक काम गरेका छन् । यसैले विश्वमा सामाजिक तथा आर्थिक रूपमा ठूलो रूपान्तरण ल्याउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्