जीडीपीका जटिलता र तथ्यांकको विश्वसनीयता «

जीडीपीका जटिलता र तथ्यांकको विश्वसनीयता

जीडीपी वृद्धिदर वास्तविक उत्पादनमा भएको वृद्धि मापन गर्न उपयोग हुने भएकाले पोहोरकै उत्पादनको मूल्य अहिले बढ्यो भने त्यसलाई जीडीपी बढेको मानिँदैन ।

विश्व बैंकका अनुसार, विश्वको सबैभन्दा ठूलो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भएको मुलुक अमेरिका हो । सन् २०१७ मा अमेरिकाको जीडीपी १९.३९ ट्रिलियन डलर थियो । विश्वको कुल जीडीपी ८० ट्रिलियनमध्ये एक चौथाइ अमेरिकाको छ । दोस्रो स्थानमा रहेको चीनको जीडीपी १२ ट्रिलियन छ । त्यस्तै जापानको ४.८७ ट्रिलियन र जर्मनीको ३.६८ ट्रिलियन डलर छ । यसैगरी बेलायत, भारत, फ्रान्स, इटाली र ब्राजिलको २ ट्रिलियनमाथि छ ।
जीडीपीको अनुक्रममा नेपाल १ सय २ औं स्थानमा पर्छ । नेपालको जीडीपी ०.०२४ ट्रिलियन अर्थात् २४ अर्ब डलर छ । सबैभन्दा थोरै जीडीपी हुने मुलुक टुभालु हो । यसको जीडीपी ०.००००४ ट्रिलियन अर्थात् ४ करोड डलर मात्र छ ।
जनसंख्याको आधारमा हेर्दा अमेरिकाको प्रतिव्यक्ति जीडीपी अत्यन्तै धेरै छ । अमेरिकाको जनसंख्या विश्वको ४.२८ प्रतिशत अर्थात् ३२ करोड ६८ करोड रुपैयाँ छ । चीनको जनसंख्या भने विश्वको १९ प्रतिशत अर्थात १ अर्ब ४१ करोड रहेको छ । त्यस्तै, भारतको जनसंख्या पनि १ अर्ब ३५ करोड पुगेको छ ।
क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो रूस भए पनि त्यहाँको जनसंख्या अत्यन्तै न्यून अर्थात १४ करोड मात्र छ । यसले १ करोड ६४ लाख वर्गकिमि क्षेत्रफल ओगटेको छ; जुन चीन, अमेरिका वा ब्राजिलभन्दा करिब दोब्बर हो ।
जीडीपी बढाउने प्रमुख आधार जनसंख्या र क्षेत्रफल हो, किनकि उत्पादन गर्न जनशक्ति र ठाउँ चाहिन्छ, साथै उपभोग गर्न पनि जनशक्ति चाहिन्छ । तर, विश्वव्यापीकरण र प्रविधिको विकासले गर्दा जनसंख्या र क्षेत्रफललाई गौण मान्नुपर्ने देखिएको छ । विदेशी नागरिक आएर स्वदेशमा उत्पादन बढाए पनि जीडीपी बढ्छ । सामान निर्यात भएर विदेशीले उपभोग गरे पनि जीडीपी बढ्छ ।
कुनै देशको सीमाभित्र एक आर्थिक वर्षमा उत्पादन भएका सम्पूर्ण उपभोग्य वस्तु तथा सेवाको मूल्यको जोड उक्त देशको जीडीपी हुन्छ । जीडीपीको मापन एकदमै जटिल विषय हो । नेपालजस्तो मुलुकमा यसको सही तथ्यांक नै आउँदैन । नेपाल सरकारले भन्ने जीडीपी र दातृ निकायले भन्ने जीडीपीमा सधैं फरक आउनुको कारण यही हो ।
उत्पादन, खरिदबिक्री, स्टक, उपभोगको तथ्यांक अद्यावधिक हुने विकसित मुलुकमा समेत जीडीपी गणना गर्दा जटिलता आउने गर्छ । जीडीपीमा अन्तिम उपभोग्य वस्तु मात्र गणना हुन्छ । कुनै वस्तु हेरेर अन्तिम हो या माध्यमिक भनेर यकिन गर्न सकिंदैन । उदाहरणका लागि पीठो किनेर घरमा रोटी बनाएर खायो भने त्यो अन्तिम उपभोग्य वस्तु हुन्छ । रेस्टुराँवालाले रोटी बनाएर बेच्यो भने अन्तिम उपभोग्य हुँदैन । पाउरोटी उद्योगले पाउरोटी बनाएर बेच्यो भने पनि अन्तिम उपभोग्य हुँदैन ।
यसरी वस्तुको दोहोरो–तेहोरो गणना हुन सक्ने सम्भावना हुन्छ । यस्तो समस्यालाई हटाउन पछिल्लोबाट अघिल्लो घटाउने विधि अवलम्बन गरिन्छ । उदाहरणका लागि सम्पूर्ण पीठोलाई पहिले गणना गरिन्छ । रेस्टुुराँ वा पाउरोटी उद्योगको उत्पादनमा उनीहरूले पीठो खरिद गरेको मूल्य घटाएर अर्थात मूल्य अभिवृद्धिलाई मात्र जीडीपीमा गणना गरिन्छ ।
जीडीपीको अंक बजार मूल्यमा गणना गरिन्छ, तर जीडीपीको वृद्धि दर मूल्यवृद्धि घटाएर निकालिन्छ । जीडीपी वृद्धिदर वास्तविक उत्पादनमा भएको वृद्धि मापन गर्न उपयोग हुने भएकाले पोहोरकै उत्पादनको मूल्य अहिले बढ्यो भने त्यसलाई जीडीपी बढेको मानिँदैन । जीडीपी वृद्धि मापन गर्न कुनै सामान्य वर्षको मूल्यलाई आधार मूल्य मान्ने गरिन्छ ।
आधार वर्षको मूल्य कति वैज्ञानिक छ, त्यसले कति वर्षसम्म सही प्रतिनिधित्व गर्न सक्छ भन्ने आधारमा जीडीपीको यथार्थता निर्भर गर्छ । उदाहरणका लागि आलुको मूल्य ३० रुपैयाँ केजी र प्याजको मूल्य २० रुपैयाँ केजी भएको वर्षलाई आधार मानिएको छ । अहिले प्याजको मूल्य ७० रुपैयाँ र आलुको मूल्य ४० रुपैयाँ पुगेको छ । त्यस्तो आधार मूल्यले सही तथ्यांक निस्कँदैन ।
उत्पादन भएका तर उपभोग नभएका वस्तुलाई जीडीपीमा कसरी गणना गर्ने अर्को समस्याको विषय हो । एउटा वस्तु दुई आर्थिक वर्षमा गणना हुनु हुँदैन । अघिल्लो वर्ष उत्पादन भएका वस्तु अहिले उपभोग हुन वा त्यत्तिकै खेर जान सक्दछन् । उत्पादन भएका वस्तु जीडीपीमा गणना हुने तर धेरै वस्तु प्रयोग नभई नष्ट हुने हो भने तथ्यांकले अर्थतन्त्रको सही प्रतिनिधित्व गर्दैन ।
जीडीपीको मापन वस्तु तथा सेवाको उत्पादनलाई आधार मानेर वा आम्दानी विधि वा खर्च विधिबाट निकाल्ने गरिन्छ । आम्दानी विधिमा उत्पादनका सम्पूर्ण साधनको एक आर्थिक वर्षको आम्दानीलाई जोडिन्छ । पुँजीको ब्याज आम्दानी, कामदार कर्मचारीको ज्याला तलब आम्दानी र उद्यमीको मुनाफा जोडिन्छ । त्यस्तै खर्च विधिमा एक आर्थिक वर्षमा भएको निजी लगानी, सरकारी खर्च र उपभोक्ताले तिरेको पैसा जोडिन्छ ।
जीडीपी मानवीय आवश्यकता परिपूर्ति, मूल्य अभिवृद्धि र नयाँ पुँजी सिर्जनाका लागि भएका उत्पादनको मात्र जोड हो । बिनामेहनतको कमाइजस्तो बाजी राख्ने, चिठ्ठा जित्ने, जुवा खेल्ने जस्ता कार्यबाट भएको आम्दानी जीडीपीमा जोडिँदैन । त्यस्तै, १ सय रुपैयाँको कम्पनीको सेयरको मूल्य बजारमा १ हजार रुपैयाँ भए पनि त्यो जीडीपीमा गणना हुँदैन । त्यस्तै, सामाजिक सुरक्षा भत्ता जीडीपीमा जोडिँदैन । सामाजिक सुरक्षा भत्ता यो कुनै उत्पादन होइन । सरकारको खातामा रहेको पैसा व्यक्तिको खातामा सरेको मात्र हो ।
जीडीपी गणना सैद्धान्तिक रूपमै जटिल त छँदैछ । नेपालजस्तो मुलुकमा व्यावहारिक रूपमा पनि समस्या छन् । नेपालको जीडीपीमा २७ प्रतिशत कृषि उत्पादनको योगदान छ भनिएको छ । कुन खाद्य वस्तु वा नगदे बाली कति उत्पादन हुन्छ भन्ने तथ्यांक हचुवाको भरमा निकालिन्छ । यहाँ कति खाद्यान्न र नगदे बाली खपत हुन्छ, कति आन्तरिक उत्पादन र कति आयात हुन्छ भन्ने विश्वासिलो तथ्यांक छैन । कृषि सामानमा भन्सार नलाग्ने हुँदा खाद्यान्नको कारोबार भएको भनेर पैसा वारपार गर्ने कार्य पनि हुने गर्छ ।
सकेसम्म सामान्य व्यक्तिदेखि उद्योगीसम्मले आफ्नो कारोबारको तथ्यांक नै दिन चाहँदैनन्, दिनैपरे मेनुपुलेट गरेर दिने गर्छन् । कर छली तथा लेखामा देखाउन नमिल्ने चन्दा घूस, कमिसनलगायतको पैसाका लागि उत्पादन र आम्दानी नै कम देखाउने गर्छन् । त्यति मात्र होइन, उद्योगी–व्यवसायी स्वयम्ले आफ्नो कारोबारको अद्यावधिक तथ्यांक नै तयार गरेका हुँदैनन्् ।
कृषि मन्त्रालयले कृषि उत्पादनको, उद्योग मन्त्रालयले उद्योगको तथा अन्य सरकारी निकायले आफूसँग सम्बन्धित तथ्यांक केन्द्रीय तथ्यांक विभागलाई उपलब्ध गराउँछन् । केन्द्रीय तथ्यांक विभाग स्वयम्ले आर्थिक सर्वेक्षण र औद्योगिक सर्वेक्षण गर्छ । यिनै तथ्यांकका आधारमा जीडीपी र वृद्धिदर तयार गरिन्छ ।
आँकडाको सिर्जना, अभिलेखीकरण, संकलन, विश्लेषण सबै चरणमा उल्लेख्य छुट र त्रुटि त हुन्छन् नै । त्यसपछि राजनीतिक दबाबमा अन्तिम तथ्यांकलाई तोडमोड गरिन्छ । सरकारको नेतृत्व गर्ने दलका नेताले केन्द्रीय तथ्यांक विभागलाई रिसर्चबाट जे आएको भए पनि आफूले चाहेजस्तो तथ्यांक सार्वजनिक गर्न दबाब दिन्छन् । तथ्यांक विभागले जीडीपीको तथ्यांक कसरी तयार गरिएको हो, त्यो यथार्थपरक छ कि छैन भनेर जो–कोहीले विश्लेषण गर्न पाउने गरी सार्वजनिक गरेको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्