वैदेशिक लगानीमा सिमेन्ट उद्योग थप्न सुझाव «

वैदेशिक लगानीमा सिमेन्ट उद्योग थप्न सुझाव


निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने नेपाल राष्ट्र बैकको प्रतिवेदले सुझाएको छ ।
नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याएर सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती गर्नका लागि लगानी आवश्यक रहने ‘बैंकले गरेको नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीःआर्थिक सामाजिक प्रभावको‘ अध्ययन प्रतिवेदनले सुझाएको हो ।
प्रतिवेदन अनुसार, २०७५-०७६ सम्ममा नेपालमा रहेका सिमेन्ट उद्योगमा कुल १ खर्ब २३ अर्ब रुपैयाँ लगानी रहेको र प्रत्यक्ष विदेशी लगानी भने करिब ५७ अर्ब रुपैयाँ छ ।
सरकारी र निजी स्वामित्वमा रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको प्रतिवेदनले भनेको छ । “विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ,” प्रतिवेदनमा भनिएको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने प्रतिवेदनले उल्लेख गरेको छ ।
प्रतिवेदनका अनुसार, नेपालमा रहेका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन छ । यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको प्रतिवेदनमा लेखिएको छ । हाल सञ्चालित सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष वैदेशिक लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्यता रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा विशेषतः प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी मागर आपूर्ति लगायत ती उद्योगहरुको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गराएर प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस अध्ययनले विदेशी लगानी रहेको ३, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २-२ गरी ७ उद्योगहरु समेटेको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, २ जना कर्मचारीर उद्योग वरपरका १० जना बासिन्दाहरुलाई उत्तरदाताको रुपमा चयन गरिएको थियो ।
विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।
सामाजिक–आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग वरिपरी रहेका जमिनको मूल्यवृद्धिका कारण वेल्थ इफेक्टलगायतका सकारात्मक प्रभावहरु परेको भएपनि वातावरणीय प्रदुषणसम्बन्धी नकारात्मक असर पनि परेको उल्लेख छ । अतः सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन नीति अवलम्बन गर्नु आवश्यक रहेको अध्ययन प्रतिवेदनले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्