शक्तिखोर–फिस्लिङ सडक कालोपत्रे हुने «

शक्तिखोर–फिस्लिङ सडक कालोपत्रे हुने

चितवन-चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी एसियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम सुरु भएको छ ।
सोमबार शक्तिखोर बजार नजिकैको शक्तिखोला सडक आयोजनाको संघीय सांसद् तथा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले शिलन्यास गरे । “चेपाङको बाहूल्य रहेका पहाड अब ‘दार्जिलिङ’ जस्तो गरी विकास हुनेछ,” उनले भने, “२ वर्षमा यो सडकको निर्माण पूरा हुनेछ, पर्यटक चहलपहल बढ्नेछ, शक्तिखोर व्यापारिक केन्द्र बन्नेछ ।” उनले कालिका ९, १० र ११ का पहाडी क्षेत्रमा एकीकृत बस्तीको कार्यक्रम बनाउन अध्ययन भइरहेको बताए । “मलेखु–भण्डारा चेपाङ मार्गसमेत यो सडकमा जोडिने छ,” उनले भने, “नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा विकास हुनेछ ।” शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रलाई यो सडक निर्माणले सहज बनाउने बताए ।
शक्तिखोरदेखि फिस्लिङसम्मको दूरी ४७ किमि छ । तर, ३७.९ किमि सडकमात्रै कालोपत्रे हुनेछ । निर्माणको जिम्मा साञ्जी एण्ड आशीष जेभीले पाएको छ । ७८ करोड ९६ लाख १७ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पाएको हो । सडक निर्माणका क्रममा ७.२५ मिटर चौडा पारिने छ । “४ किमि नयाँ ट्रयाक खोल्नुपर्ने देखिन्छ, अन्य पुरानै ट्रयाक हुँदै बाटो जानेछ,” कन्ट्रयाक्ट म्यानेजर नारायण रिजालले भने, “गाडी चल्ने बाटो बन्नेछ ।” उनका अनुसार १ मिटर ड्रेन, ३.२४ मिटर चौडाको कालोपत्रे गरिनेछ । शक्तिखोर–उपरदाङगढी, उपरदाङगढी–तेर्से र तेर्से–तोलाङसम्म तीन खण्डमा विभाजन गरी निर्माणको काम सुरु हुने उनले बताए । “करिब ४ सय कर्मचारी खटिनेछन्,” उनले भने, “सम्झौतामा ७ सय ३० दिनमा निर्माण सक्नुपर्ने उल्लेख छ, समयमै निर्माण सकिनेछ ।” पुरानो सर्भेमा पुल वारिबाटै सडक लैजाने गरी सम्झौता भए पनि नयाँ ट्रयाक हुँदै सडक लैजान प्रस्ताव आएकाले सम्झौता पुनरावलोकन हुनसक्ने उनले बताए । “५ मिटर चौडाको सडक हुनुपर्छ भन्ने आवाज छ, यो बारे छलफल चलिरहेको छ,” उनले भने, “सर्भे सकेपछि निर्माणको कामले गति लिनेछ ।”
प्रदेश सांसद् घनश्याम दाहालले सिराईचुली, उपरदाङगढी, सिन्ती झरनालाई मूल सडकमा जोड्न प्रदेश सरकार अग्रसर रहेको बताए । “तराई र पहाड जोड्ने सडकका रूपमा यो सडक चिनिनेछ,” उनले भने, “त्रिशूली नदीसँग जोडेर यो वैकल्पिक बाटोका रूपमा स्थापित हुनेछ ।” उनका अनुसार शक्तिखोर–फिस्लिङ सडकमा केही वर्ष पहिले आरआरआरले १२ करोड खर्चेर ट्रयाक खोलेको थियो । कालिकाका मेयर खुमनारायण श्रेष्ठले दीर्घकालीन महत्वको आयोजना भएकाले निर्माणमा अवरोध नगर्न स्थानीयलाई आग्रह गरे । “लागत कट्टा गर्दा स्थानीयले अवरोध गर्नु हुँदैन, अवरोध भए कारबाही हुनेछ,” उनले भने, “आयोजना अलपत्र पर्न नदिन हामी तयार छौं ।”
उनले गुणस्तरीय निर्माण कार्यमा खटिन निर्माण व्यवसायीलाई घच्घच्याउन स्थानीयले निरन्तर निगरानी गर्नुपर्ने बताए । यो सडकखण्ड अन्तर्गत २ स्थानामा पुल र कजवे बनाउनुपर्नेछ । तर, पुल बनाउने सम्झौतामा परेको छैन । शक्तिखोलामाथिको एक पुल बनाउन प्रदेश सरकारले डीपीआर बनाउन १० लाख छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्