भारत र चीन दुवैतिरबाट ‘इन्फरमेसन हाइवे’

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक व्यावसायिक सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सूचना राजमार्ग ‘इन्फरमेसन हाइवे’ भारत र चीन दुवैतिरबाट सम्भव भएको छ । शुक्रबार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले फाइबर लिंकको औपचारिक प्रारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री बस्नेतले देशव्यापी रूपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक कोसेढुंगा भएको बताउँदै चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने बताए ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं टेलिकम सञ्चालक समितिका अध्यक्ष केदार बहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासका लागि दूरसञ्चार पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सो लिंक नेपालका लागि महत्वपूर्ण भएको बताए । नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दैै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बीचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताइन् । टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले विगत एक सय वर्ष यता ग्राहकको चाहना अनुसारका विभिन्न सेवा उपलब्ध गराउँदै आएको बताउँदै हाल वायरलेसतर्फ फोरजी तथा वायरलाइनतर्फ फिक्स ब्रोडब्यान्डको विस्तार सँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आबद्धताले अहम् भूमिका निर्वाह गर्ने बताइन् । चाइना टेलिकम ग्लोबलका मुख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर पूर्वी एसिया र अमेरिकासम्म जोड्ने बताए । यो केबलले भारत र चीनलाई समेत जोड्ने र दुई देश बीचको सम्बन्धलाई अझै बलियो बनाउने तथा नेपाली कम्पनीहरूको बजार विस्तारमा सहयोग उनको भनाइ थियो । इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यावहारिक रूपमा एकभन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआबद्धता हुनु पर्ने आवश्यकता बमोजिम सन् २००३ देखि नै पहल भएको थियो । सन् २०१३ डिसेम्बर २३ मा वैकल्पिक रुटको रूपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मतसम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यही बीच सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो । सन् २०१६ को डिसेम्बर ६ मा यस सम्बन्धी व्यावसायिक सम्झौता हङकङमा सम्पन्न भएको थियो ।