गाउँ बगाएको ३८ वर्ष : बचेको गाउँ डुबानको उच्च जोखिममा «

गाउँ बगाएको ३८ वर्ष : बचेको गाउँ डुबानको उच्च जोखिममा

विक्रम संवत २०२२ सालमा राजा महेन्द्रले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकाको भारतसँग जोडिएको सीमाक्षेत्रमा बस्ती बसाल्ने योजना बनाए । राजाको योजनापश्चात् नगरपालिकाको जोगबुढा नदी पारि कुतियाकबर क्षेत्रमा झण्डै डेढ सय नेपाली नागरिकले बस्ती बसाए । बस्ती बसाएपछि बस्तीलाई व्यवस्थित पार्ने योजना बनाएर राजाले जिल्लाको अन्य ठाउँमा पनि बस्ती बसाल्दै गए । २०२२ सालदेखि बसेको बस्तीलाई वि.सं २०४० सालमा महाकाली नदीमा आएको बाढीले विस्थापित गरिदियो । बाढीले विस्थापित गरेको बस्तीलाई अहिलेसम्म नत जोगाउने कुनै उपाय अवलम्बन गरिएको छ नत प्रयास नै । सरकारले बाढीबाट पीडित भएका स्थानीयलाई तीन दशक बढी समयसम्म पनि व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ ।

“बाढीपीडित भएको लामो समय भएको छ, सरकारी पक्षबाट कुनै किसिमको व्यवस्थापन गर्ने कुरा अगाडि बढेको छैन,” दोधरा–चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीय ऐनबहादुर सुनारले भने, “२०२२ सालको बसोबास हो, बीचमा बाढीले केही समस्या पारे पनि २०४० सालमा भने ३ सय बिघा बराबरको आधाभन्दा बढी गाउँ बगाएर लग्यो, बाढीले गाउँ बगाएको ३८ वर्ष हुँदासम्म बाढी पीडितको व्यवस्थापनका लागि केही पनि भएको छैन ।” गाउँमा चुनावको बेला आउने नेतादेखि अहिलेका जनप्रतिनिधि सबैलाई गाउँलेको समस्या थाहा छ । तर समस्या थाहा भए पनि पीडितको व्यवस्थापनबारे कुनै पक्ष अग्रसर नभएको स्थानीय सुनारको गुनासो छ ।

बाढीले आधा गाउँ बगाउने समयभन्दा अगावै कुतियाकबर क्षेत्रमा डेढ सय परिवारको बसोबास भए पनि हाल भने ३६ परिवारमात्रै बसोबास गर्दै आएका छन् । भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँका स्थानीयले सीमाको रक्षा पनि गर्ने गर्दछन् । २०४० सालयता वर्षैपिच्छे महाकाली नदी र जोगबुढा नदीले कटान गर्दै गएपछि सीमास्तम्भ पनि हराएका छन् ।

“भारतीय सिमानासँग जोडिएर रहेको बस्तीमा वर्षैपिच्छे घर आगनमै बाढी आएर डुबान गर्ने गर्दछ, गाउँ पूरै डुबान भएको अवस्थामा सीमा क्षेत्रमा गाडिएका सीमास्तम्भ पनि बग्ने तथा भत्कने गरेका छन्,” उनले भने, “बाढीले गाउँ बगाउनुभन्दा अगाडि सीमास्तम्भ २२ र सीमास्तम्भ २३ नम्बर सजिलै देख्न सकिन्थ्यो, बाढी आएपश्चात २२ नम्बर हराएको छ भने २३ नम्बर सीमास्तम्भमा नेपाली पक्ष कुनै समयमा पनि निरीक्षण गर्ने जाँदैन ।” भत्केको सीमास्तम्भलाई पुनर्निर्माण तथा भएको सीमास्तम्भमा नेपाली पक्षले रेखरेख नगर्दा भारतीय पक्षले सीमा मिच्दै गएको छ । जसका कारण सीमा क्षेत्रमा बसोबास गर्ने कुतियाकबरबासीलाई भने डुबान तथा सीमाको समस्या भएको स्थानीय सुनारको भनाइ छ ।

कुतियाकबर बाट नगरपालिकासँग जोडिनका लागि जोगबुढा नदीमा झोलुंगे पुल छ । तर झोलुंगे पुल भए पनि जोगबुढा नदीलाई नियन्त्रण गर्नका लागि ३ सय मिटरमात्रै एकतर्फी तटबन्ध निर्माण गरिएको छ । जसका कारण लामो क्षेत्रफलमा तटबन्ध नहुँदा कुतियाकबर बस्ती नै जोखिममा पर्ने खतरा रहेको अर्का स्थानीय टेकबहादुर सुनारले बताए ।
स्थानीय टेकबहादुर सुनारले भने, “स्थानीयको माग तटबन्ध भए पनि तटबन्ध निर्माणमा सरकारले कुनै किसिमको ध्यान दिएको छैन, यसले गर्दा बाढीपिडित नभएको परिवार पनि बाढीपीडित हुने जोखिममा छ ।”
गाउँमा बसोबास गर्ने ३६ पविारमध्ये आधाजति घर पविारको मात्रै आफ्नो जमिन छ । बाँकीको भने बाढीपीडित भएर सुकुम्बासीजस्तै अवस्था भएको स्थानीय सुनारको भनाइ छ ।

हिँडडुल गर्न भारतीय पक्षको रोक
नेपाल भारत सिमाना रहेको कुतियाकबरबासीलाई भारतीय पक्षले एक वर्षदेखि भोगचलन गर्दै आएको बाटोमा हिँडडुल गर्न रोक लगाएको छ । बस्तीको बसोबास भएदेखि स्थानीयले उक्त बाटो भएर हिँडडुल गर्ने भए पनि भारतीय पक्षले भारतीय भूमि भएको भन्दै स्थानीयलाई हिँडडुलमा रोक लगाएको हो ।
“स्थानीयले सीमा क्षेत्रको बाटो भनिने उक्त बाटो भारतीय तथा नेपाली पक्ष दुवैले हिँडडुलका लागि प्रयोग गर्दै आएको अवस्था थियो, अचानक भारतीय पक्षले अघिल्लो वर्षदेखि उक्त बाटो भारतीय भूमि भएको भन्दै नेपालीलाई हिँडडुल गर्न रोक लगाएको छ ।” स्थानीय खड्के बुढाले भने, “सडकमा हिँडडुल गर्न भारतले रोक लगाएपछि हिँडडुलका लागि गाउँभित्रबाट नयाँ सडक खोलिएको अवस्था छ, सडक खोलिएको भए पनि वर्षात्मा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने गरेको छ ।” भारतीय पक्षले हिँडडुल गर्न रोक लगाएपछि सीमा क्षेत्रमा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले समय समयमा दुःख दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्