भागबण्डा नमिल्दा तातोपानीको बजेट अझै आएन् «

भागबण्डा नमिल्दा तातोपानीको बजेट अझै आएन्


जुम्लाको तातोपानी गाउँपालिकाले अझै आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेको छैन । जनप्रतिनिधिबीच भागबण्डा नमिल्दा बजेट नआएको हो । असार १० गते स्थानीय तहले अनिवार्य रुपमा नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । तर, तातोपानी गाउँपालिकाले गएको असार १० गते नीति तथा कार्यक्रम सार्वजानिक गर्दै असार २२ गते नीति तथा कार्यक्रम पारित गर्ने बजेट ल्याउने समयसिमा तोकेको थियो ।


असार १० मै जनतासँग अध्यक्ष उपाध्यक्ष कार्यक्रममा बजेट बाडफाँटको कुरो नमिल्दा बजेट आउन सकेको थिएन । तर तयारी पूरा नभएको भन्दै असार २२ गते बजेट ल्याउने भनिएपनि अन्तत भाडबण्डा नमिलेपछि बजेट ल्याउन तातोपानी गाउँपालिका निर्धारित समयमा बजेट ल्याउन असफल भएको छ ।


तातोपानीका अध्यक्ष नवराज न्यौपाने र उपाध्यक्ष गंगादेवी उपाध्यायले जनतासँग अध्यक्ष उपाध्यक्ष कार्यक्रमका लागि १÷१ करोड छुटाउनु पर्ने अडान राखेका छन् । “सबै वडाध्यक्षले जनतासँग अध्यक्ष उपाध्यक्ष कार्यक्रममा १÷१ करोड नभई ५०÷५० लाख बजेट छुटाउनु अनुरोध गरेका छौं” तातोपानी गाउँपालिका–६ का वडाध्यक्ष विशाल खड्काले भने, “बाँकी भूगोल जनसंख्या तथा आवश्यकताका आधारमा वडामा विनियोजन हुनुपर्छ भन्ने पक्षमा हामी छौं । तर अध्यक्ष उपाध्यक्ष सहमत छैनन् ।”


पालिकाको जम्मा पुँजीगत बजेट ६÷७ करोड भन्दा बढी छैन । त्यसमा सबै विषयगत कार्यालयलाई छुटाउनु पर्ने वडामा छुटाउनु पर्ने भएकाले अध्यक्ष उपाध्यक्षको कार्यक्रममा १÷१ करोड छुटाउँदा अन्य क्षेत्रमा बजेट अभाव हुने अवस्था रहेको तातोपानी गाउँपालिका–३ का वडाध्यक्ष डिल्ली रावलले बताए । “असार १० देखि २२ गतेसम्म बजेट ल्याउनेबारे छलफल नै भएन । अध्यक्ष उपाध्यक्षले चासो पनि दिएनन्” उनले भने, “हामीले हामीले अनुरोध गर्दा पनि अध्यक्ष उपाध्यक्षले आफ्नै अडान कायम राखेपछि हालसम्म बजेट आउन नसकेको हो ।”

गाउँपालिकाको नवौं गाउँसभाको दोस्रो बैठकमा उपस्थित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले हालसम्म पनि बजेट नल्याउँदा समग्र पालिकामाथि नै प्रश्न चिन्ह खडा गर्ने अवस्था सृजना भएको भन्दै अध्यक्ष र उपाध्यक्षको ध्यानकर्षण गराए ।
वडाध्यक्षहरुले पनि स्थानीयहको माग र आकश्यकता भन्दा आफ्ना रुचिका योजना र बजेट माग्ने गरेको बताए । नयाँ नीति कार्यक्रम ल्याउनु, सुझाव दिनुभन्दा आफूलाई बढी बजेट चाहियो भन्ने मानसिकता सबै वडाध्यक्षहरुमा रहेको पालिका अध्यक्ष न्यौपानेको भनाइ छ ।

नीति तथा कार्यक्रम पनि पास भएन्
तातोपानी गाउँपालिकाले असार १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम पास हुन सकेको छैन । नवौ गाउँसभाको दोस्रो सभामा छलफलबाट नीति तथा कार्यक्रम पास गर्न अध्यक्ष नवराज न्यौपानले अनुरोध गरेपनि बजेट नआएसम्म नीति तथा कार्यक्रम पास नगर्ने भन्दै गाउँसभा सदस्यले नीति तथा कार्यक्रम पास गरेका छैनन् ।
तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावल, ४ का वडाध्यक्ष धिरज जैसी,कार्यपालिका सदस्य आदी प्रसाद न्यौपाने लगायतका पदाधिकारीले बजेट ल्याउन अध्यक्षले चासो नदेखाएको भन्दै नीति तथा कार्यक्रम पास नहुने भन्दै असन्तुष्टी प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्