पोखरा महोत्सव सम्पन्न «

पोखरा महोत्सव सम्पन्न

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा जारी सडक महोत्सवमा एक जना युवा घाइते भएका छन् । पोखरा १५ नयाँगाउँ बस्दै आएका १८ वर्षीय विकास नेपाली सोमबार लेकसाइडडको गौरीघाट क्षेत्रमा आफ्ना साथीसँग हिँड्दै गर्दा कुनै व्यक्तिको प्रहारबाट घाइते हुन पुगेका हुन् ।
उनीको देब्रे तिघ्रामा गहिरो चोट लागेको छ भने उनको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब १०ः३० बजे तिर पहिचान खुल्न नसकेको व्यक्तिबाट देब्रे तिघ्रामा गहिरो चोट लागेर सडकमा लड्न पुगेका उनलाई स्थानीय र सुरक्षाकर्मीको सहयोगले पोखराको नमस्ते हस्पिटलमा उपचार गरिएको थियो । उनको थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । उक्त घटनामा संलग्न व्यक्तिहरू र घटनाको बारेमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नविन कार्कीले बताए ।
पुस १३ देखि सुरु भएको सडक महोत्सव मंगलबार सम्पन्न भएको छ । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सवमा एकै दिनमा २ लाखभन्दा बढी दर्शक एवं पर्यटकहरू भित्रिएका छन् । महोत्सव स्थल करिब ३ किलेमिटर क्षेत्रभित्र अनावश्यक हो हल्ला तथा झैझगडा गर्ने ३६ जना पक्राउ परेका थिए । तीमध्ये ४ जनालाई सार्वजनिक मुद्दासमेत दर्ता गरिएको डीएसपी कार्कीले जनाए । उनका अनुसार महोत्सवको स्टेचमै ढुंगा मुडा प्रहार गर्ने पोखरा–१७ छोरेपाटनका १९ वर्षीय पुकार गुरुङ पक्राउ परेका छन् । उनले प्रहार गरेको ढुंगा मुडाले प्रहरीलाई लागेको कार्कीले जनाए । त्यसैगरी मोत्सवमा झैझगडा गर्ने छोरेपाटनका १७ वर्षीय दीप गुरुङ, पोखरा–६ का १९ वर्षीय विवेक नेपाली र छोरेपाटनकै १८ वर्षीय अनमोल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पोखराका पर्यटकीय स्तरीय होटलमा अंग्रेजी नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी यस वर्ष हुन नसकेको पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए । पोखराका केही होटलहरूको अकुपेन्सी फुल भए पनि अधिकांश होटल अकुपेन्सी करिब ९० प्रतिशतजसो रहेको उनले जनाए ।

उनले भने, “रेवानका केही सार्थीहरूले होटलको रुममा मूल्यवृद्धि हुन्छ भनी दिएको अभिव्यत्तिबाट होटलमा प्रभाव परेको हो ।” यस अघिका सडक महोत्सवमा पर्यटकहरूले रुम पाउन मुस्किल पथ्र्याे । सडक महोत्सवको अवसरमा पोखराको ३ किलोमिटर क्षेत्र बाहेक नजिकका होटल तथा रेस्टुराँ सहितका अन्य व्यवसायीहरूको व्यापार बढेको छ ।

रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले यस बर्ष महोत्सवमा आतासवाजी गर्न नपाएकोमा दुर्भाग्य भएको जनाए । आफ्नै केही साथीहरूले बोलीमा विचार नगर्दा महोत्सवमा आफूहरूले आशातित व्यापार गर्न नसकेको गुनासो गरे । यस वर्षको महोत्सवमा दर्शक अत्याधिक भए पनि होटल, रेस्टुराँ सहितको समग्र व्यापारमा भने प्रभाव परेको उनले जनाए । यसको प्रभावले एकातर्फ केही व्यावसायीलाई मार परेको छ । पोखराका केही होटल तथा रेस्टुराँहरूमा अंग्रेजी नयाँ वर्ष र सडक महोत्सवको असरमा चर्को मूल्य असुल्ने गरेको पर्यटकहरूले गुनासो गर्न थालेका छन् । यसै बिच कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले कुनै मेला वा महोत्सवको अवसर पारी कसैले तोकेको मूल्यभन्दा एक रुपैयाँ पनि बढी लिएको भेटिएमा कारबाही गर्ने चेतावनी दिएका थिए । महोत्सवको अवसरमा ८ सय सुरक्षाकर्मी खटाइएको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्