थाहा नगरमा प्याराग्लाइडिङ उड्ने «

थाहा नगरमा प्याराग्लाइडिङ उड्ने

हेटौंडा- उत्तरी मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश तथा स्थानीय सरकारले चासो दिइरहेको बेला प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । थाहा नगरमा अब व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडाइने भएको हो ।
थाहा नगरकै पर्यटन व्यवसायी बैकुण्ठ थापाले प्याराग्लाइडिङ सेवा सुरु गर्न लागेका हुन् । थाहानगर–१० को विसिङ्खेलमा रहेको आइतबारे चौरबाट गरिएको परीक्षण उडान सफल भएको र अब व्यावसायिक रुपमा नै प्याराग्लाइडिङ गर्न सकिने पाइलट सागर क्षेत्रीले बताए । पाइलट सागर क्षेत्रीले नै प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए ।
प्याराग्लाइडिङको परीक्षण उडानमा पाइलट क्षेत्री र पर्यटन व्यवसायी बैकुण्ठ थापा सहभागी थिए । थाहानगर–१० का थापा काठमाडौंमा रहेर पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील छन् । परीक्षण उडानका क्रममा युक्रेनका पर्यटन व्यवसायी आन्द्रेसहित १० नम्बर वडा अध्यक्ष हीराबहादुर गमाल, सदस्य रामकृष्ण गमाल तथा स्थानीयहरूको उपस्थिति थियो ।
“परीक्षण उडान सफल भएको छ, अब हामी पर्यटन मन्त्रालयबाट अनुमतिको क्रममा छौं, केही समयमा नै हामी थाहा नगरमा प्याराग्लाइडिङको सेवा सुरु गर्छौं,” व्यवसायी थापाले भने । प्याराग्लाइडिङको सफल परीक्षणस“गै मकवानपुरको पर्यटकीय क्षेत्र आग्रा, टिस्टुङ, दामन, पालुङ, बज्रबाराहीजस्तै चित्लाङको विसिङ्खेलमा पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको छ ।
थाहा नगरको पर्यटन विकासमा प्रदेश र स्थानीय सरकारले पनि चासो देखाइरहेको बेला धमाधम पर्यटकीय संरचना निर्माण हुने क्रममा रहेका छन् । मकवानपुर थाहानगर–४ मा पर्ने सीमभञ्ज्याङदेखि भीमफेदीसम्म केबलकार पनि चलाउने गरी तयारी भइरहेको छ । केबलकारकोे सम्भाव्यताबारे अध्ययन भइरहेको थाहा नगरका प्रमुख लवशेर बिष्टले बताए । विज्ञ टोलीले केही समयअघिदेखि काम गरिरहेको छ । नगरपालिका, प्रदेश सरकार र नागरिकको संयुक्त लगानीमा करिब ३ सयदेखि ५ सय करोड खर्चिएर केवलकार सञ्चालनको प्रयास थालिएको हो । ड्रोनको सहायताले दुरी मापन गरिसकिएको नगरका उपप्रमुख खड्ग गोपालीले बताए ।
केवलकार करिब साढे ३ किमी लामो हुने प्रारम्भिक अनुमान छ । केवलकारको संरचनाभित्र होटलहरू, पर्यटन पार्क, सभागृहलगायत संरचना पनि पर्नेछन् । देशकै पर्यटकीय गन्तव्यका रूपमा चिनिएको थाहा नगरमा विभिन्न संरचना बनेसँगै भारतीय पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको छ । सरकारले एक सयवटा नया“ पर्यटकीय गन्तव्य घोषणा गर्दा मकवानपुरमा दामन र इन्द्रसरोवरको मैत्रीपार्क फाखेल परेका छन् ।

प्रतिक्रिया दिनुहोस्