स्थलमार्गबाट हाल सम्मकै सर्वाधिक पर्यटक «

स्थलमार्गबाट हाल सम्मकै सर्वाधिक पर्यटक

१ लाख ६६ हजार विदेशी पर्यटक आगमन

रुपन्देही-सडक मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरू १० प्रतिशतले बढेका छन् । भैरहवानाका हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू(भारतीय बाहेक) वर्ष २०१८ मा हाल सम्मकै सर्वाधिक आएका छन् ।
अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष २०१८ मा कुल १ लाख ६६ हजार २ सय ३५ पर्यटक आएका छन् । गत वर्ष सन् २०१७ मा यो नाका हुँदै कुल १ लाख ५० हजार ८ सय ४१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । विदेशी पर्यटक आगमन संख्या वर्ष २०१८ मा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको अध्यागमन कार्यालय भैरहवाका निमित्त प्रमुख तथा सूचना अधिकारी गिरीराज खनालले बताए ।
यो नाका हुँदै आउने भारतीय पर्यटकहरूको कुनै तथ्यांक राख्ने नगरिएकाले कति भारतीय पर्यटक यो नाका हुँदै नेपाल प्रवेश गरे कुनै जानकारी छैन । यो नाका हुँदै कम्तीमा ३ लाख बढी भारतीय पर्यटक नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । पछिल्लो समय अधिक भारतीय पर्यटकहरू यो नाका हुँदै लुम्बिनी, पोखरा, मुक्तिानथ, सौराहा, काठमाडौं जाने गरेका छन् भने भैरहवा वरपर आउने भारतीय पर्यटकहरू पनि बढी रहेका छन् ।
वर्ष २०१८ मा स्थलमार्ग बेलहिया भैरहवा हुँदै नेपाल प्रवेश गर्नेमा सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन् । ५८ हजार ७ सय ६३ जना श्रीलंकनहरू स्थलमार्गबाट आए भने थाइल्याण्डका ३२ हजार ७ सय ९२, म्यान्मारका ३० हजार ५९, भियतनामका ७ हजार २ सय ४१, दक्षिण कोरियाका ६ हजार ८ सय ६६, चीनका ५ हजार २५ जना स्थल मार्गको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरे भने अन्य देशको पर्यटक बढे पनि स्थलमार्गबाट आउने थाई पर्यटकको संख्यामा भने केही कमी हो । अघिल्लो वर्ष ३३ हजार ६ सय ९३ जना आएकोमा यो वर्ष ३२ हजार ७ सय ९२ मात्रै आएका छन् ।
त्यस्तैगरी वर्ष २०१८ मा स्थलमार्गबाट अमेरिकीहरू २ हजार ३ सय ७९ जना, कम्बोेडियाका २१ सय ७५, नेदरल्याण्डका १६ सय ९४, बेलायतका १५ सय ४८, इन्डोनेसियाका १४ सय ४३, अष्ट्रेलियाका १३ सय ४७, जर्मनका १२ सय ६७, जापानका १२ सय ५४, मलेसियाका ११ सयउ ६०, फ्रान्सका ११ सय ३६ जनालगायत १ सय १९ भन्दा बढी देशबाट भ्रमणमा आएको अध्यागमन कार्यालयको तथ्यांकमा छ ।
स्थलनाकाबाट सबैभन्दा बढी २०१८ मार्चमा २८ हजार ८ सय ४८ पर्यटक आएका थिए । त्यस्तै नोभेम्बरमा २५ हजार ४२, फेब्रुअरीमा २१ हजार ३ सय ७२, अगस्टमा १८ हजार २ सय ३३, अक्टोबरमा १७ हजार १ सय ९३ थिए । अफ सिजनको रुपमा रहेको जुनमा नाकाबाट १३ सय ८८ पर्यटक आएका थिए ।
यो नाका हुँदै आउने पर्यटकहरूको मुख्य गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनीमा आध्यात्मिक गतिविधिका लागी आउने गरेको र त्यसपछिको अन्य गन्तय भनेको पोखरा, चितवन(सौराहा),मनाङ, मुस्ताङ, काठमाडांै र पाल्पा हो । लुम्बिनी आउने पर्यटक प्रायः सेम डे फर्कने गरेका कारण पर्यटन तथा होटल व्यवसायीहरूले अपेक्षाकृत फाइदा लिन नसकेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले(सिपी) बताए । लुम्बिनी आउने पर्यटकहरूलाई थप नयाँ प्याकेजसहित उनीहरूलाई भुलाउने किसिमका थप प्याकेज बनाउन सरोकारवालाहरू लाग्नुपर्ने र यसो गर्न सकेमा कम्तीमा १ रात २ दिनको बसाई लम्ब्याउन सकिने श्रेष्ठको भनाइ छ ।
भारतीय पर्यटकहरू पनि पर्याप्त आएको र पछिल्लो समय टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएपछि भारतीय पर्यटकहरू अझै बढेको पर्यटन व्यवसायी तथा नेपाल ट्राभल्सका प्रबन्ध निर्देशक सञ्जय बजिमयले बताए । पर्यटक आउने क्रम बढेपछि भैरहवा, लुम्बिनी क्षेत्रमा नयाँ होटल निर्माण गर्ने क्रम बढेको छ । लुम्बिनी क्षेत्रमा पाँचतारे पवन प्यालेस होटलसमेत सञ्चालनको क्रममा छ ।

 

प्रतिक्रिया दिनुहोस्