रायो बेचेरै २० हजार कमाइ «

रायो बेचेरै २० हजार कमाइ

श्यामैडाँडा-पानीको अभावले आक्रान्त धादिङको श्यामैडाँडाका चेपाङ अहिले तरकारी बेच्न सक्ने भएका छन् । पेटभरी पानीसमेत खान नपाउने चेपाङ गाउँका बासिन्दा अहिले तरकारी फलाएर बेच्न सक्ने भएका हुन् । अहिले आफ्नै बारीको तरकारी बजारसम्म लगेर बेच्दा चेपाङहरू खुसी मात्र भएका छैनन्, आम्दानीसमेत गर्न थालेका छन् ।
“पहिलो पटक रायोको साग बेचर २० हजार आम्दानी गर्दा खुशीको सिमा रहेन,” स्थानीय कुलबहादुर चेपाङले भने । अघिल्लो वर्ष कात्तिकपछि तरकारी किनेर आएको स्मरण गर्दै उनले अब आफूहरूको पनि दिन आएको बताए । कुलबहादुरमात्र होइन उनका छिमेकी रेशम चेपाङले पनि गत मंसिरमा रायो रोपेका छन् । गत वैशाखबाट गाउँमा खानेपानी आएपछि आफूले आलु, धनियाँ, लसुन, रायोको साग, रोप्न सिकेको र गाँउका १ सय ५५ घरपरिवारले नै बारीमा तरकारी रोपेको रेशमले बताए ।
“गाउँमै आएर फियान नेपालले हाम्रो समस्या बुझेर छलफल गर्दा खाद्य अधिकार छ भन्ने सुनेको थियौं,” लालबहादुर चेपाङले भने, “अधिकारका लागि सामूहिक रूपमा संघर्ष गरेपछि गाउँमै परिवर्तन आएको छ ।” अहिले गाउँमा पानीको समस्या समाधान भएको छ भने सबैले बारीमा तरकारी खेती गरेका छन् । “नौ महिनाअघिसम्म घरमा पानी कसरी संकलन गर्ने भन्ने मात्रै चिन्ता हुन्थ्यो,” स्थानीय संगीता चेपाङले भनिन्, “२०७१ साल पुस २४ गते श्यामैडाँडा खाद्य अधिकार समूह गठन गरेपछि संघर्ष गर्दागर्दा अहिले सबै समस्या समाधान हुने अवस्था आएको छ ।” उनले आफूहरूका समस्या समाधान गर्न ओम साई संगठनले सहयोग गरेको बताइन् ।
श्यामैडाँडा खाद्य अधिकार समूहका सचिव रामहरी चेपाङले फियान नेपालले खाद्य अधिकार, पैरवी, नेतृत्व विकाससम्बन्धी तालिम दिएपछि त्यसलाई आफूहरूले व्यवहारमा उतारेको बताए ।
समूहकी अध्यक्ष विमला चेपाङले तालिम पाएपछि आफूहरूमा थप उत्साह पलाएको र गाउँका समस्याबारे सरोकारवाला निकायलाई घच्घच्याउन थालेपछि समाधान भएको बताइन् । अहिले गाउँका सवै परिवारले घर आँगनमै पर्याप्त पानी पाएका छन् । अव दीगो व्यवस्थापन कसरी गर्ने भन्ने मात्र यहाँका बासिन्दालाई चिन्ता छ ।
श्यामैडाँडा खाद्य अकिार समूहका सदस्यहरूसँग छलफल गर्दै जिल्ला समन्वय समितिकी सदस्य सावित्रा सुनारले पानीको अधिकतम उपयोग गरी हरियाली बढाउँदै कुपोषण घटाउने अभियानमा लाग्न सुझाव दिइन् । समुदायमा आएको अधिकारमुखी जागरणले समाज रूपान्तरण सहयोग पुग्ने भन्दै जिल्ला समन्वय समितिकी सदस्य उर्मिला रेग्मीले संघर्ष गरेर अधिकारका रूपमा प्राप्त गरेको पानी सदुपयोग गर्न सुझाव दिइन् ।
श्यामैडाँडा खाद्य अधिकार समूहको अनुगमन गर्न पुगेका गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले समुदायको क्षमता विकास गर्न फियान नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेकोे र समुदाय सक्षम भई अधिकार प्राप्त गर्न गरेको संघर्षकोे प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्