घाँस खेतीबाट दाम र नाम «

घाँस खेतीबाट दाम र नाम

दमौली-उमेरले ७० कटेर बुढ्यौली लागे पनि तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका बामदेव खनालको जोशमा भने अझै बुढ्यौलीपन देखिँदैन । यो आराम गर्ने उमेर भए पनि उनमा अझै पनि युवाको झैं जोश जाँगर कायमै रहेको प्रष्ट देखिन्छ । उमेरले ७० कटेर बुढ्यौली लागे पनि तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका बामदेव खनालको जोशमा भने अझै बुढ्यौलीपन देखिँदैन । यो आराम गर्ने उमेर भए पनि उनमा अझै पनि युवाको झैं जोश जाँगर कायमै रहेको प्रष्ट देखिन्छ । २०५४ सालदेखि घाँसखेती सुरु गरेका उनी बिहान ७ बजेदेखि साँझ ६÷७ बजेसम्म बारीमै काम गरिरहेको भेटिन्छन् । घाँस खेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल भएका छन् । कुनै समय वर्षभरिको कमाईले चार महिना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो । थप ३२ रोपनी जग्गा भाडामा लिएर कूल ७० रोपनी क्षेत्रफलमा घाँस खेती गरिरहेका खनाल घाँस बेचेरै वार्षिक लाखौं आम्दानी गर्न सफल भएका छन् ।उनले यो वर्षको साउनमा मात्रै १२ लाख रूपैयाँको घाँस बिक्री गरेका छन् । उनी भन्छन्, “२०७४ सालमा पनि १२ लाखको घाँस बिक्री गरें, २०७३ सालमा भने २२ लाखको घाँस बेचेको थिएँ ।” आफूले लगाएको घाँस कृषकले देशैभर फैलाइसकेकाले अहिले विस्तारै आम्दानी भने घट्दै गएको उनी बताउँछन् । “मैले उत्पादन गरेको घाँस अहिले देशका थुप्रै जिल्लामा पुगिसकेको छ, जसले गर्दा पहिले जस्तो मेरोबाट घाँस बिक्री हुँदैन,” उनले भने, “मेरो प्रचार भने थुप्रै जिल्लामा भइसकेको छ ।’ उनले घाँस खेतीबाटै आफू परिचित हुन पाएकोमा खुशीसमेत व्यक्त गरे ।उनका अनुसार अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी लगायतका ठाउँका कृषकले आफूले उत्पादन गरेको घाँस विस्तार गरिसकेका छन् । “बेला–बेलामा जिल्ला–जिल्लामा घुम्न जान्छु, आफूले उत्पादन गरेको घाँस विस्तार भएको देख्दा खुशी लाग्छ,” उनले भने ।उनले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायतका जातको घाँस खेती गरिरहेका छन् । भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी तीन हजार र पाखो बारीको प्रतिरोपनी २ हजार रूपैयाँ वार्षिक भाडा तिर्ने उनले जानकारी दिए ।खनालले घाँस खेतीबाट आम्दानी भएको रकमले भ्यानसमेत खरिद गरेका छन् । पोखरा, बाग्लुङ, स्याङ्जालगायतका ठाउँबाट घाँसको माग भएका बेला ढुवानीको समेत व्यवस्था मिलाइएको उनले जानकारी दिए । उनलाई घाँस खेतीमा तीन जना छोराले समेत सहयोग गरिरहेका छन् । “देशमा रोजगारी नभएको भन्दै युवाहरू विदेशिरहेको अवस्थामा मैले छोराहरूलाई समेत यही व्यवसायमा सहभागी गराएको छु,” उनले भने, “आफ्नै ठाउँमा पौरख गरे विदेशिनुपर्दैन ।” आफ्नो ठाउँअनुसारको काम गरे कसैले पनि बेरोजगार भएर बस्न नपर्ने उनले बताए ।भौगोलिक अवस्था हेरेर जहाँ–जहाँ जे सम्भावना छ, त्यही पेशा गरे आत्मनिर्भर बन्न सकिने उनको अनुभव छ । उनी थप्छन्, “बाख्रापालन हुने ठाउँमा बाख्रा पाल्ने, माछापालन हुने ठाउँमा माछा पाल्नुपर्छ । मेरोमा चाँही घाँसखेतीको सम्भावना थियो, मैले त्यसैलाई अगाडि बढाएँ ।”
तीन वटा बेर्नाबाट सुरु भएको घाँसखेतीजिल्ला पशुसेवा कार्यालय तनहुँका तत्कालिन पशु सेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा २०५४ सालमा पशुसेवा फर्म पोखरामा एक हप्ते तालिममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैंचाको रूपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि परेका थिए ।एक हप्ते घाँस बाली तालिमबाट घर फर्कंदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँसखेती सुरु गरेका उनको पाखो बारी अहिले हरियाली नर्सरीको रूपमा परिणत भएको छ । कुनै पनि सरकारी एवं गैरसरकारी कार्यालयद्वारा सञ्चालित तालिमको उपलब्धि भनेको व्यक्तिको सामाजिक जीवनस्तरमा सुधार ल्याउनु हो । सामाजिक कार्यमा जनसहभागिता बढाई समाजका आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा सुधार ल्याउने साथै व्यक्तिको सकारात्मक सोचको विकास गराउनु हो । जिल्ला पशुसेवा कार्यालय तनहुँले खनाललाई तालिममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उनको आफ्नै अथक मेहनत र परिश्रमले गर्दा उनी आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात भएका छन् ।सुरुका वर्षमा खनालले घाँसका विरुवामा मलजल गर्दा काम नपाएर झारमा मल हाल्ने र गोड्ने गरेको भनेर जिस्क्याउने उनका छिमेकी आजभोलि दंग परेका छन् । खनालले सरकारबाट राष्ट्रियस्तरको उत्कृष्ट कृषक पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्