वैदेशिक लगानीमा ह्रास «

वैदेशिक लगानीमा ह्रास

कोरोना महामारीका कारण नेपालको समग्र आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भएको बेला विदेशी लगानी पनि खुम्चिन पुगेको छ । चालू वर्ष र गत वर्षको लगानी खुम्चिनुमा विश्वव्यापी कोरोना महामारी नै रहेको छ । कोरोनाले विश्वको अर्थतन्त्रलाई नै नराम्रो असर पु-याएको पाइन्छ, जसका कारण कैयन्ले आफ्नो रोजगारी गुमाउन पुगेका छन् । रोजगारी गुमाउँदा उनीहरूको आर्थिक अवस्था ज्यादै कमजोर बन्न पुगेको छ भने दैनिक जीवनयापन पनि असहज र कठिन बन्न पुगेको छ । कोरोनाका कारण विश्वव्यापी भोकमरी पनि बढ्ने देखिन्छ ।
कोरोना अवधिको दुई आर्थिक वर्ष नेपालको वैदेशिक लगानीमा कमै असर पारे पनि गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको वैशाखसम्म आइपुग्दा वैदेशिक लगानी प्रतिबद्धता ९.६६ प्रतिशतले घट्न पुगेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखमा नेपालमा रु. २७ अर्ब ३ करोडको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । १ सय ५१ वटा परियोजनामार्फत उक्त रकमबराबरको लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्ष २०७६-७७ मा रु. २९ अर्ब ९२ करोड प्रतिबद्धता रकम रहेको थियो । आर्थिक वर्ष २०७५÷७६ को यस्तो लगानी प्रतिबद्धतामा जम्मा रु. ११ अर्ब ५७ करोड थियो भने यस अवधिमा २ सय ६८ परियोजना दर्ता भएका थिए । वैदेशिक लगानी घट्ने क्रम २०७७-७८ को ६ महिनापछि कोरोना भाइरसको पुष्टि भएलगत्तै घट्न पुगेको हो । गत आर्थिक वर्षको तुलनामा परियोजना कम दर्ता भए पनि प्रतिबद्धता रकम भने उल्लेख्य देखिन्छ । गत आर्थिक वर्षको यस अवधिमा १ सय ७८ वटा परियोजना दर्ता भएका थिए । २०७६ चैतदेखि नेपालमा लकडाउन भएकाले गर्दा वैदेशिक लगानीमा प्रतिबद्धता कमी आएको हो ।
महमारीमा वैदेशिक लगानी कम हुनु स्वाभाविकै हो । कोरोना महामारीका बेलामा जुन वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ, त्यो राम्रो मान्न सकिन्छ । अहिलेको अवस्थामा हेर्दा आर्थिक वर्ष अन्तिमसम्म प्रतिबद्धता रकम रु. ३२ अर्ब पुग्ने देखिन्छ । वैदशिक लगानी घटे पनि लगानीकर्ता निरुत्साहित भएका देखिन्नन् । कोरोना महामारीका कारण विदेशी लगानी घटेको छ भने वैदेशिक व्यापार पनि खुम्चिएको छ । २०२० को सुरुवातबाट नै कोरोना महामारी फैलिएपछि सो नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा लगाउँदा नेपालको समुद्रपारका मुलुकसँगको कारोबार खुम्चिन पुगेको हो । कोरोना नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा भएका कारण बजारमा माग घटेको र आपूर्ति कम भएका कारण त्यसको प्रत्यक्ष प्रभाव वैदेशिक व्यापारमा पनि देखिएको छ भने कोभिड–१९ का कारण नेपाल भित्रिने विप्रेषण पनि प्रभावित भएको छ ।
विदेशी लगानी बढाउनका लागि लगानीको सुरक्षाको प्रत्याभूति पनि हुनुपर्छ । वैदेशिक लगानीमा सुरक्षाको प्रत्याभूति नभएका कारण स्वतःस्फूर्त रूपमा विदेशी लगानी भित्रिन नसकेको हो । यही कुरालाई मध्यनजर गरेर नै नेपाल सरकारले विदेशी लगानीसम्बन्धी ऐन नियमावलीमा केही परिमार्जन गरेको छ । यो कदम राम्रो भए पनि अन्य स्पष्ट नीति निर्देशनको अभावमा अझै विदेशी लगानीको सुरक्षाको ग्यारेन्टी हुन सकेको छैन । विदेशीहरू पनि आफ्नो लगानीको ग्यारेन्टी खोज्ने भएका कारण त्यसको प्रत्याभूत गर्नुपर्ने देखिन्छ । व्यावहारिक जटिलता न्यूनीकरण गर्नुपर्ने देखिन्छ । यदि त्यस्ता जटिलतालाई न्यूनीकरण नगरेसम्म अपेक्षाकृत विदेशी लगानी भित्रिने वातावरण नबन्ने देखिन्छ । त्यसैले नेपाल सरकारले बढीभन्दा बढी क्षेत्रमा विदेशी लगानी भित्र्याउनका लागि विशेष पहल गर्नुपर्छ ।
कोभिड–१९ का कारण विश्वभरिका उद्योगधन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ भने हाम्रो देशमा पनि कोरोना महामारीका कारण बन्द भएका व्यवसायहरू अझै सञ्चालनमा आउन सकेका छैनन् । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका व्यवसायहरू अझै पूर्ण रूपमा आउन सकेका छैनन् । केही उद्योग व्यवसायहरू आंशिक रूपमा सञ्चालनमा आउन थालेका छन् । कोरोनाअगाडिकोे तुलनामा अहिले ५१ प्रतिशत व्यवसायले उत्पादन तथा कारोबार सञ्चालन गर्न सकेका छन्, जसमा विद्युत्, पानी, ग्यास, कृषि, वन तथा मत्स्यपालन, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार कोरोनाभन्दा अगाडिकै अवस्थामा पुगेका छन् । यी क्षेत्रको उत्पादन तथा व्यापार पनि करिब ७० प्रतिशतमाथि हुन थालेको छ । तर, होटल तथा रेस्टुराँहरूको व्यापार भने अझै स्वतःस्फूर्त रूपमा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्