निषेधाज्ञामा पनि पुँजीबजारमा चमक «

निषेधाज्ञामा पनि पुँजीबजारमा चमक

देशमा दोस्रो लहरको कोरोनाको कारणले गर्दा सरकारले दोस्रो पटक निषेधाज्ञा भर्खर खुकुलो भएको छ । यसपालिको निषेधाज्ञाले सबैजसो क्षेत्रलाई निषेध गरेको थियो । खाद्यान्न पसलसमेत खोल्न दिइएन । निषेधाज्ञाले सबैजसो आर्थिक गतिविधि ठप्प भए । तर, सेयर बजार भने निषेधाज्ञाले निषेध भएन । सेयर बजार निषेधाज्ञामा पनि खेुले भने निषेधाज्ञामा पनि सेयर बजारमा चमक देखियो । निषेधाज्ञामा पनि सेयर बजारले नयाँ–नयाँ रेकर्डहरू कायम गरेको थियो । देशको सबैजसो आर्थिक गतिविधि ठप्प भएको बेला पनि सेयर बजार भने बढेको थियो भने कारोबारको रकममा पनि वृद्धि भएको देखियो । यसलाई सकारात्मक मान्नुपर्छ । हाल केहि घट्दो बजार भए पनि सेयर बजारको क्रियाकलाप सकारात्मक नै रहेको छ ।
गत वर्ष पनि कोरोनाको कारणले लकडाउन भएको थियो । पहिलो लकडाउनमा सेयर बजार पनि बन्द भएको थियो । त्यस बेला केही लगानीकर्ताका नेताहरूले सेयर बजार बन्द गर्नुपर्छ भनेर होहल्ला गरेका थिए । त्यस बेला सेयर बजार पनि ओरालो लागिरहेको अवस्थामा थियो । त्यस बेला पनि कतिपयको भनाइमा सेयर बजार ओरालो लागेको कारणले सेयर बजार लकडाउनमा बन्द गर्नुपर्छ भनेर आवाज उठाएका हुन् । कतिपयको भनाइमा सेयर लगानीकर्ताका नेताहरू सेयर बजार ओरालो लागेको बेला मात्र सक्रिय हुने गरेका पनि छन् । तर, यसपालिको निषेधाज्ञामा भने सेयर बजार उकालो लागिरहेको अवस्थामा थियो । यस कारणले पनि लगानीकर्ताका नेताहरू केही नबोलेका होलान् । यो एक हिसाबले सही नै हो भनेर भन्नुपर्ने हुन्छ । तर, यसपालि सेयर बजारमा अनलाइनबाट कारोबार गर्नेहरू ह्वात्तै बढेका छन् । गत वर्ष निषेधाज्ञामा सेयर बजारमा अनलाइन कारोबार गर्नेहरू त्यति थिएनन् । त्यसो त अहिले सेयर बजारका सबै गतिविधि अनलाइनबाट नै हुने भइसकेका छन् । घर, पसल जहाँतहीँ बसेर पनि सेयर कारोबार अनलाइनबाट गर्न सकिने भएको छ । यस कारणले पनि सेयर बजार बन्द गर्नु नपर्ने भएको हो । त्यसैले सेयर बजारलाई निषेधाज्ञाले असर नगरेको भए पनि कतिपय अनलाइनमा आबद्ध नभएका नयाँ लगानीकर्ताहरूले भने कारोबार गर्न नपाएको भनेर पनि भने । त्यसो त निषेधाज्ञाले अरू क्षेत्र बन्द भएकाले पनि सेयर बजार बढेको हो भनेर भन्ने पनि छन् । जे भए पनि निषेधाज्ञामा सेयर बजारमा भने चमक भने देखिएको थियो नै । यसपालि देशको राजनीतिमा भएको भाँडभैलोले पनि सेयर बजारलाई त्यति असर गरेन । यसपालिको निषेधाज्ञामा राजनीतिक क्षेत्रमा भाँडभैलो भएको थियो । सत्ताका लागि राजनीतिक दलहरूबीच सत्ताको लागि लुछाचुँडी भए । कोरोनाको कहरले अक्सिजन नपाएर बिरामीहरू मरिरहँदा पनि राजनीतिक दलहरूले सत्ताको लागि नाङ्गो नाच देखाए । नागरिकहरू खोप मागिरहेको अवस्थामा पनि सरकारका दलहरू भने भोट माग्ने अवस्थामा आइपुगे ।
सरकारले दोस्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणासमेत गरेको छ । तर, देशमा राजनीतिक दलहरू सत्ताको लागि भाँडभैलो गरिरहँदा पनि यसले सेयर बजारमा असर गरेन । सेयर बजार आफ्नै लयमा अगाडि बढिरह्यो । यो सेयर बजारका लागि राम्रो पक्ष हो । विगतमा भए राजनीतिक चलखेल सरकार परिवर्तनसँगै सेयर बजारमा पनि असर गर्ने गरेको देखिन्थ्यो । तर, यसपालि भने त्यस्तो देखिएन । के त लगानीकर्ताहरू परिपक्व भएका हुन् त ? त्यसो त कतिपय सेयर बजारका ठूलाबडा माहिर खेलाडीहरूले सेयर बजारलाई आफ्नो अनुकूल बनाउनका लागि भने चलखेल गरेको पनि देखिन्छ । निषेधाज्ञामा नै नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार विकास फोरमले प्राथमिक बजारमा रहेको १० कित्ते नीतिलाई हटाउनका लागि सेबोनमा दबाब दिएको चर्चाहरू पनि सेयर बजारमा भएका थिए । सेयर बजारका माहिर खेलाडीहरूले प्राथमिक बजारलाई पनि आफ्नो पोल्टामा पार्नका लागि सेबोनलाई दबाब दिएका थिए । १० कित्ते नीतिलाई हटाउनु भनेको साना र नवप्रवेशी लगानीकर्ताहरूलाई प्राथमिक सेयर भर्नबाट वञ्चित गराउनु हो । त्यसो त सेबोनको अध्यक्ष पनि १० कित्ते नीतिको विरोधी नै थिए ।
केही कम्पनीहरूको निषेधाज्ञामा नै वार्षिक विशेष साधारणसभाहरू पनि गरेका छन् । यसमा आम लगानीकर्ताहरूको असन्तुष्टि रहेको छ । आम लगानीकताहरूले नै भाग लिन नसक्ने अवस्थामा साधारणसभा आयोजना गर्न नहुने सर्वसाधारण लगानीकर्ताहरूको भनाइ रहेको छ । साधारणसभा एक–दुई हप्तापछि गरेको भए पनि आकाश नै खस्ने त थिएन । यसपालिको निषेधाज्ञामा आर्थिक वर्ष २०७८÷७९ को बजेट पनि जारी भएको थियो, तर यसपालिको बजेटले सेयर बजारका लगानीकर्ताहरूका लागि भने हात्ती आयो हात्ती फुस्सा भएजस्तै भएको थियो । बजेटले सेयर बजारका लागि त्यस्तो केही सम्बोधन गरेन ।
तर, सेयर बजारका लगानीकर्ताहरूलाई भने दुई वर्गमा वर्गीकरण गरिदिए । लामो अवधिका र छोटो अवधिका लगानीकर्ताहरूलाई भने पुँजीगत लाभ कर ५० प्रतिशतले बढाएको थियो छोटा लगानीकर्ताहरूका लागि । सेयर किनेको १ वर्षभित्र बेच्ने लगानीकर्ताहरू छोटो अवधिका र सेयर किनेको एक वर्षपछि बेच्ने लगानीकर्ताहरू लामो अवधिका । बजेटले सेयर बजारका लगानीकर्ताहरूलाई कुनै राहतका कार्यक्रमहरू योजनाहरू ल्याएको थिएन । यसपालिको बजेट राजस्व बढाउनमा नै केन्द्रित भएको थियो । तर पनि सेयर बजारमा भने असर पारेको देखिएन । यो सेयर बजारका लागि सकारात्मक पक्ष हो । तर पनि कतिपय लगानीकर्ताहरू भने आफुले किन्न लागेको कम्पनीको छनोटमा भने चिप्लिएको देखिन्छ । घाटामा रहेको कतिपय कम्पनीको सेयरमा लगानीकर्ताहरूको आकर्षण देखिएको थियो । यस्ता कम्पनीहरूको सेयर मूल्य उच्च रहेको पनि देखियो । लगानीकर्ताहरू कम्पनी छनोटमा सजग सचेत हुनुपर्ने देखिन्छ । घाटामा रहेका वर्षौंदेखि लगानीकर्ताहरूले केही नपाएका कम्पनीहरूको सेयर मूल्य हजारभन्दा बढी रहेको देखियो । यस्ता कम्पनीहरूको सेयरबाट लगानीकर्ताहरू नडुब्लान् भन्न सकिँदैन । लगानीकर्ताहरूले सेयरमा लगानी गर्दा आपूmले लगानी गर्ने कम्पनीको आर्थिक सूचकांकका बारेमा जानकारी लिएर मात्र लगानी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्