अर्ध जलाशयको डिजाइनमा क्यू–४० हट्यो

पूर्ण क्षमतामा उत्पादन गर्न पाउनुपर्छ – निजी क्षेत्र
क्यूको डिजाइनभन्दा अझ वैज्ञानिक छ- प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले अर्धजलाशय (पिआरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमता क्यू–४० मा डिजाइन गर्नुपर्ने प्रावधान हटाएको छ । तर, बर्खामा जडित क्षमताको ७० प्रतिशत र सुख्खा याममा ३० प्रतिशत ऊर्जा उत्पादन गर्नुपर्ने प्रावधान भने कायमै राखेको छ ।
अर्धजलाशय जलविद्युत् आयोजनाको हकमा क्यू–४० डिजाइनको सीमा हटाए पनि ७०ः३० सीमा नहटाएपछि यसलाई निजी क्षेत्रले खुट्टा बाँधेर दौडमा पठाउने रणनीति मात्र भनेको टिप्पणी गरेको छ । तर, प्राधिकरणले भने क्यूभन्दा ७०ः ३० को सीमा अझ बढी वैज्ञानिक भएको बताएको छ ।
विद्युत् प्राधिकरणले अर्ध जलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा क्यू ४० को डिजाइनको आधारमा गर्ने गरेको थियो भने ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय अन्र्तगतको विद्युत् विकास विभागले पनि यसकै आधारमा लाइसेन्स (अनुमति) दिने गरेको थियो । क्यू ४० डिजाइन हटाउने निर्णय गरेको प्राधिकरणले बर्षामा जडित क्षमताको ७० प्रतिशत मात्र र सुख्खा याममा ३० प्रतिशत उत्पादन गर्नुपर्ने व्यवस्था गरेको छ ।
निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले आर्थिक र प्राविधिक सम्भाव्यताको आधारमा कुनै क्यू डिजाइन र सीमा नराखी पूर्ण क्षमतामा उत्पादन गर्न दिनुपर्ने माग गर्दै आएका थिए तर शत प्रतिशत उत्पादन गर्न सकिने वर्षामा ७० प्रतिशतको सीमा राखेपछि निजी प्रवद्र्धकहरु पनि असन्तुष्ट बनेका छन् । ‘पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गरी विद्युत् विकास विभाग र विद्युत् प्राधिकरणले प्रावधान राख्नुपर्छ, यसले उत्पादनसँगै सरकारको राजस्व पनि बढ्छ,’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई भन्छन्, ‘क्यू–४० डिजाइन त हटाइयो भनियो तर ७०ः३० सीमा कायमै राखियो, यो त खुट्टा बाँधेर दौडन लगाएजस्तै भयो ।’
विद्युत् विकास विभाग विभागकी उपमहानिर्देशक मनदेवी श्रेष्ठ भने विद्युत् प्राधिकरणले राखेको ७०ः३० को सीमा र क्यू–४० को डिजाइनको आधारमा उत्पादन बराबरजस्तै भएकोले यसले केही फरक नपर्ने बताउँछिन् । ‘अर्ध जलाशयमा खास लागु हुँदैन, प्राधिकरणले पीपीए गर्दा ७०ः३० अनुपात लिएको छ, यसको विश्लेषण गर्दा क्यू–४० भन्दा माथिनै आउने गछ,’ उनी भन्छिन् ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य क्यूभन्दा ७०ः३० अनुपातको सीमा बढी वैज्ञानिक हुने बताउँछन् । ‘क्यू–४० को डिजाइनको प्रणाली त्यति वैज्ञानिक होइन, अनुपात सीमा भने धेरै वैज्ञानिक छ,’ उनी भन्छन् । वर्षामा ७० प्रतिशतको सीमा राखेर क्यू ४० को हटाउँदा विद्युत् उत्पादनमा भने खासै नपर्ने उनी बताउँछन् । ‘खासै उत्पादन त धेरै फरक पर्दैन, खोला हेरेर केही घटीबढी हुन सक्छ तर क्यू डिजाइनभन्दा अनुपात धेरै वैज्ञानिक छ,’ उनी भन्छन् ।
क्यू–४० को प्रावधान अर्धजलाशय जलविद्युत् आयोजनाको हकमा हटाएपनि नदी प्रवाही (आरओरआर) जलविद्युत् आयोजनाको हकमा भने कायम नै छ । सरकारले १० वर्षमा १५ हजार मेगावाट लक्ष्य राखेको छ । हालसम्म १६ सय मेगावाट विद्युत् उत्पादन भएकोमा कुलेखानी प्रथम, द्धितीय र तृतीयबाट उत्पादन हुने १०६ मेगावाट मात्र जलाशययुक्त आयोजना रहेको छ । हिउँदमा कुल जडित क्षमताको ३० प्रतिशत मात्र उत्पादन हुने गरेकोमा सरकारले अर्ध जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई आकर्षण गर्ने गरी सुविधा दिने बताएको छ तर वर्षामा ७० प्रतिशत मात्र उत्पादन गर्न पाउने व्यवस्थाले झन निरुत्साहित गर्ने निजी क्षेत्रका प्रतिनिधिले बताउँदै आएका छन् ।