जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट आज «

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट आज

जीवन विकास लघुवित्तको आइपीओ आज बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान साढे ९ बजे आइपीओ बाँडफाँट गर्नेगरी तयारी पूरा भएको छ । झण्डै २१ लाखले यो कम्पनीको आइपीओमा आवेदन दिएका छन् । कम्पनीले कुल १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ निष्कासन गरेको हो ।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुने भएको छ ।
कम्पनीको आइपीओ जम्मा १ लाख ८४ हजार ८ सय १ जनालाई पहिले १० कित्ताका दरले बाँडफाँट गरिने क्यापिटलले जनाएको छ । त्यसपछि ५ कित्ता बाँकी रहन्छ । न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान छ, तसर्थ यो ५ कित्ता छुट्टै दिन मिल्दैन । त्यसैले १० कित्ता पाएकाहरुबाटै २० वा सोभन्दा धेरै कित्ताका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गरी ५ जनालाई थप १–१ कित्ता अर्थात ११ कित्ताका दरले बाँडफाँट गरिने छ ।


जीवन विकास लघुवित्त कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३०७ रुपैयाँ छ । कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०.६ प्रतिशत छ । मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्