जलवायु परिवर्तनले पारेको असरको समाधान खोजौं «

जलवायु परिवर्तनले पारेको असरको समाधान खोजौं

पछिल्लो समय विश्वभर जलवायु परिवर्तनको मुद्दालाई निकै चासो र चिन्ताको विषय बनाइएको छ । किनकि यसको प्रभावका कारण कालान्तरमा मानवजातिको अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । जलवायु परिवर्तन गराउनमा नेपालको भूमिका नगन्य छ, तर जलवायु परिवर्तनका कारण हाम्रा हिमालमा हिउँ पग्लँदै गएको छ । सेता हिमालहरू काला पत्थरमा परिणत हुँदैछन् । हिमनदीहरू सुक्न थालेका छन् । हिमपहिरो जाने खतरा बढिरहेको छ । पानीका मुहान सुक्न थालेका छन् । कृषि उब्जनीमा -हास आउन थालेको छ । जलवायु परिवर्तनकै कारण सर्वसाधरणको जीवनशैली कष्टकर बन्दै गएको छ । जलवायु परिवर्तनको समस्या पहिचान गर्दै जलवायु परिवर्तनको न्यूनीकरण तथा अनुकूलनका मुद्दाहरूमा बहस गर्न सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाको गुफाडाँडामा जलवायु सम्मेलन गरिएको छ । मंगलबार मात्रै सम्मेलन सकिएको छ । सम्मेलनमा राष्ट्रपति, संघ, प्रदेश तथा स्थानीय तहबाट राखिएका धारणालाई कारोबारकर्मी प्रगति ढकालले गरेको संकलनको सार :

जलवायु परिवर्तनले समृद्धिमा असर पर्नु हुँदैन
विद्यादेवी भण्डारी
राष्ट्रपति
नेपाल हालै पोल्यान्डमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी २४ औं अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा भाग लिएर आएको छ । जहाँ आफ्नो दृष्टिकोण स्पष्ट राखेर आएलगत्तै यो सम्मेलन भएकाले यसको ठूलो महत्व रहेको मैले महसुस गरेकी छु । नेपाल जैविक विविधता तथा प्राकृतिक वैभवले सम्पन्न मुलुक हो । हाम्रा पुर्खाले पनि जलवायु परिवर्तन अनुकूलनसम्बन्धी धेरै अभ्यास गरेका छन्, जुन हाम्रा परम्परागत रूपमा स्थापित हुँदै आइरहेका छन् । स्वच्छ वातावणमा बाँच्न पाउनु मानव अधिकार हो । हामीले वातावरणको क्षेत्रमा नगरेको-नबिगारेको कुरामा अरूका कारण भावी पुस्तालाई समेत असर पु-याउनु भनेको अन्याय हुनु हो । हामीले पनि विकास निर्माणको काम गर्दा त्यसले वातावरणमा पु-याउन सक्ने असरको विषयमा अध्ययन गर्नु आवश्यक छ । वातावरणीय जोखिम काम गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ । त्यसैगरी हामीसँग रहेको माटो, डुंगा, बालुवा, वनजस्ता सम्पदाको उपभोग गर्दा प्रकृतिको अनावश्यक दोहन नहोस् भनेर संयमता अपनाउनु पनि जरुरी छ । नयाँ पुस्तालाई पनि जलवायु पविर्तन तथा वातावरणसम्बन्धी सचेतना जगाउनु जरुरी छ । यसका लागि विद्यालय, कलेजहरूको पाठ्यक्रमहरूमा पनि यस जलवायुका विषयका कुरा समावेश गराउनुपर्छ । अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको पर्यटन विकासका लागि प्रकृति तथा संस्कृतिको संरक्षण हामीले गर्नैपर्छ । विकास कार्य गर्दा प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर गर्नुपर्छ । धर्तीको संरक्षण गर्नु सबैको साझा दायित्व हो ।
नेपालमा जलवायु परिवर्तनका कारण अप्राकृतिक रूपले हिमशिखर पग्लने, अतिवृष्टि र अनावृष्टि हुने, डढेलो लाग्ने तथा बाढीपहिरो आउने गरेको छ । यसबाट खाद्य सुरक्षा, रोग, धूवाँ, धूलो र ध्वनि प्रदूषण पनि बढ्दो छ । जलवायु परिवर्तनको असरको प्रभाव किसान, महिला र निर्दोषमा बढी परिरहेको छ । घर तथा खेतबारीमा काम गर्ने महिलाको जनजीवन झनै कष्टकर बन्दै गइरहेको छ । जलवायु परिवर्तनको असर, वन्यजन्तु, जडीबुटी तथा जैविक विविधतामा पनि परेको छ ।
यसका बाबजुद नेपालले आफ्नो क्षमताले भ्याएसम्म जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम पनि गर्दै आएको छ । निजी, पारिवारिक तथा सामुदायिक वनको दिगो व्यवस्थापन, वन क्षेत्रको वृद्धि, दुर्लभ र लोपोन्मुख वन्यजन्तु संरक्षण गर्नु नै नेपालले जलवायु परिवर्तनको क्षेत्रमा गरेको सकारात्मक पहल हो । नेपालले कार्बन उत्सर्जन न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अर्कातर्फ वायुमण्डलमा भएको कार्बन सोसेर पृथ्वीको तापक्रम वृद्धि घटाउनका लागि ठूलो योगदान पु-याएको छ । यसलाई अझै विकास र सुदृढ गर्दै लैजान असल प्रजातिका वनस्पतिहरूको संरक्षण, नदी क्षेत्रको हरियाली विस्तार, नदी प्रणाली सुदृढ गर्दै जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरू बढाउन सकिन्छ । यस्ता कार्यक्रम दिगो विकासका कार्यक्रम पनि हुन् । नेपालका हिमशिखरहरूबाट बग्ने नदीहरू पहाड र तराई तथा छिमेकी मुलुक हुँदै समुद्रमा पुग्ने भएकाले हिमाल, पहाड र समुद्रको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय रूपमा एकीकृत रूपमा हेर्न सकिएन भने जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनका कार्यमा जटिलता आउने भएकाले सम्बद्ध पक्ष यसमा गम्भीर बन्नुपर्छ । जलवायु परिवर्तन र वातावरणीय प्रभाव अनुकूलनका लागि जिल्ला समन्वय समिति महासंघले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले अझ मुलुकको दिगो विकासको लक्ष्य हासिल गर्न स्थानीय जनसमुदायलाई सक्रिय बनाउने, वातावरणीय अवस्थाबारे निगरानी राख्ने र जलवायु परिवर्तनको सूचना तथा सञ्चार व्यवस्थालाई प्रभावकारी तुल्याउने जस्ता काम समन्वयात्मक रुपमा गर्न सक्छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई संघीय, प्रदेश तथा स्थानीय सरकारका लक्ष्य निर्धारणका साथ सहकार्य गर्दै अघि बढ्नुपर्ने हुन्छ । जलवायु परिवर्तन व्यवस्थापनका लागि आवश्यक नीति र संस्थागत सुधार एवं क्षमता अभिवृद्धिसमेत गर्नुपर्ने हुन्छ । अनुसन्धानका सफलतालाई धरातलमा जोड्नुपर्छ । जलवायु परिवर्तनको असरले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय संकल्पलाई प्रतिकूल असर पर्नु हुँदैन ।

विकास गर्दा वातावरण बिगार्नु हुँदैन
शक्तिबहादुर बस्नेत
वन तथा वातावरणमन्त्री
पछिल्लो समय पृथ्वीमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि तथा प्राकृतिक प्रकोप जस्ता समस्या बढ्दै गइरहेका छन् । यसकारण पनि यो विषय निकै चर्चाको विषय बन्न पुगेको छ । जलवायु परिवर्तनको विषय यहाँ मात्रै होइन, विश्वभर नै निकै चासो र चिन्ताको विषय बनेको छ । यो विश्वव्यापी समस्या हो र समाधानको उपाय पनि विश्वव्यापी रूपमै खोजिनुपर्छ । नेपाल संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धिको पक्ष राष्ट्र भइसकेको छ । जलवायु परिवर्तनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय शिखर सम्मेलनहरूमा पनि भाग लिँदै आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दै आइरहेको छ । त्यसैले नेपालका लागि जलवायु परिवर्तनको विषय थप सरोकारको विषय बन्न पुगेको छ ।
जलवायु परिवर्तनका कारण नेपाल जस्तो अल्पविकसित मुलुकहरूलाई बढी असर पु-याएको छ । यसकरण पनि जलवायु परिवर्तनको मुद्दा हाम्रो जस्तो मुलुकका लागि निकै महत्वपूर्ण पनि छ । हामीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा बहन गर्नुपर्ने दायित्व तथा केही आवश्यकता पनि छ । हाम्रा दायित्वहरू कसरी बहन गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा बहस गर्नु आजको आवश्यकता पनि हो । हाम्रा जिम्मेवारीहरू पूरा गर्नका लागि केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारको भूमिका निकै महत्वपूर्ण छ । वातावरण संरक्षणका मान्यता र विधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्नु आवश्यक छ । जलवायु परिवर्तनका मुद्दालाई राष्ट्रिय महत्व दिन जरुरी छ । जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी परेको छ । हाम्रो अधिकारको विषयमा चर्चा गर्नुपर्छ । स्थानीय तहले पनि जलवायुका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । तीनवटै सरकारबीच समन्वय पनि आवश्यक छ । जलवायु परिवर्तनका कार्यक्रमलाई समयानुकूल अगाडि बढाउनका लागि राष्ट्रिय जलवायु नीति निर्माणको काम भइरहेको छ । यस्ता छलफलले आगामी दिनमा कस्ता कार्यक्रम गर्नु आवश्यक छ र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नेछ । अझ राष्ट्रिय महत्व दिन यो कार्यक्रमको महत्व छ । जलवायु परिवर्तनको विषय स्थानीय स्तरमा स्थापित गराउन सजिलो हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा हुने छलफलहरूलाई गहन बनाउनेछ । छलफललाई अगाडि बढाउन अझै सजिलो हुन्छ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनका कारण हामीले जे सजाय भोगेका छौं, जति क्षति बेहोरिरहेका छौं, उक्त क्षतिको पूर्ति कसरी हुन्छ भन्ने कुरा पनि छन् । यस विषयमा पनि छलफल भइरहेको छ ।
जलवायु परिवर्तन गराउनमा हाम्रो भूमिका निकै नै न्यून छ । नेपालको कार्बन सञ्चितिमा योगदान छ । हामीले निर्वाह गरेको भूमिकालाई अन्तर्राष्ट्रिय जगत्मा कसरी स्थापित गराउने भनेर लागिरहेका छौं । अझै हामीले खेप्नुपरेका यस्ता समस्यालाई अन्तर्राष्ट्रिय फोरममा राख्नेछौं । राष्ट्रिय फोरममा मात्रै कुरा गरेर मात्र हुँदैन । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि अनुकूलनका कार्यक्रम गर्न ध्यान दिनुपर्छ । स्थानीय रूपमा पनि यस्ता कार्यक्रममा प्राथमिकता दिनुपर्छ । न्यूनीकरणका बारेमा चर्चा गर्दा यो पक्षलाई ध्यान दिनुपर्छ कि हामीले विकास र वातावरणलाई परिपूरक र सन्तुलित बनाएर अगाडि लैजानका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण छ । विकास योजनाको छलफल गर्दा वातावरणलाई ध्यान दिनुपर्छ । कसरी नीतिगत कुरालाई सहज बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ । वातावरणप्रतिको सजहकर्ता र जिम्मेवारीको ख्याल गर्नुपर्छ । समग्रमा जलवायु परिवर्तनको कोषलाई पनि स्थानीयकरणको कुरा आउँछ । हामी छलफल गर्नेछौं । जलवायु परिवर्तनको एजेन्डालाई स्थानीयकरण र अन्तर्राष्ट्रियकरण गर्नेछौं । जलवायु नीतिसम्बन्धी काम अगाडि बढिरहेको छ ।

तीनवटै तहबाट जलवायुका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ
अरुणप्रसाद नेपाल
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, प्रदेश नं. ३
विगत केही समययता हेर्ने हो भने वातावरणमा आएका परिवर्तनका कारण सिन्धुपाल्चोक पनि प्राकृतिक प्रकोपको चपेटामा परेको छ । यहाँका बासिन्दाहरू प्राकृतिक प्रकोपका कारण धेरै पीडित भएका छन् । जलवायु परिवर्तनको असर बढी पर्ने जिल्लाहरूमध्ये सिन्धुपाल्चोक पनि एक हो । जलवायु परिवर्तनको प्रभावका कारण यहाँ थुप्रै समस्या आए । जुरे पहिरोको सम्झना अझै पनि हामीमाझ ताजा बनिरहेको छ, जुन पहिरोले अझै पनि सर्वसाधारणलाई तर्सारहेको छ । जुरेमा गएको पहिरोले धेरै मानवीय क्षति भयो । धनको क्षति भएको छ । सिन्धुपाल्चोकले यो बेहोरेको छ । जलवायुका कारण वातावरणमा जुन परिवर्तन आएको छ, यस्ता परिवर्तनले निकट भविष्यमा मानव सभ्यताको अस्तित्व घट्न सक्छ ।
जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरू पग्लँदै छन् । सेता हिमालहरू अब काला देखिन थालिसके । हामी जलस्रोतको धनी मुलुक भनेर गर्व गरिरहेका छौं, तर विडम्बनाका साथ भन्नैपर्छ कि हाम्रा नदीहरू सुक्दै छन् अनि हाम्रा हिमतालहरू फुट्दै छन् । हामीले यो समस्या बेहोरेका छौं । जलवायु परिवर्तनका कारण प्राणी जगत्मा नकरात्मक असर पु-याउँछ । हामीले प्रदूषण गरेका छैनौं । हामीले जलवायु परिवर्तन गराउनमा नगन्य भूमिका खेलेका छौं । तर, जलवायु परिवर्तनकै कारण हाम्रा हिमाल पग्लिएका छन् । ठूला तथा औद्योगिक राष्ट्रले सिर्जना गरेका समस्या आज हामीले भोगेका छौं । अन्तर्राष्ट्रियस्तरमा हाम्रो मुलुकले यो विषयमा बुलन्द आवाज उठाउनुपर्छ । जलावायुको क्षति हामीले पाउनुपर्छ । हामीले वातावरण बिगारेका छौं । हामीले नै रोक्नुपर्छ । वातावरणको विषयलाई जनताको एजेन्डा बनाउनुपर्छ । सामुदायिक वन जनतालाई जिम्मा दिँदा सफल भएको छ । आज वनक्षेत्र पनि वृद्धि भएको छ । वातावरण हरेक मानिससँग सम्बन्धित छ । कसरी जनताको एजेन्डा बनाउन सकियोस् भनेर सोच्नुपर्छ । संघ र प्रदेश तथा स्थानीय तहमा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनको कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्छ ।

हिमाल सेतो देखिँदैन
डम्बरबहादुर अर्याल
मेयर, मेलम्ची नगरपालिका
जलवायु परिवर्तनको असर बढिरहेको छ । नदीको पानी सुक्दै जान थाल्यो । हाल मेलम्चीको पानी काठमाडौं लैजाने तयारी भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएपछि काठमाडौंवासीलाई खानेपानीको आपूर्ति व्यवस्थापन त होला । तर, जलवायु परिवर्तनका कारण पानी काम भयो भने पछिसम्ममा मेलम्चीको पानीले खानेपानीको आवश्यकता पूर्ति हुँदैन । यसकारण समयमै सचेत भएनौं भने यस्ता आयोजना सञ्चालन भए पनि पानीको स्रोत सुक्यो भने लगानी खेर जान्छ ।
हिउँले ढाकेका हिमाल काला देखिन थाले । हिउँ छैन हिमालमा । हिमशिखरहरू सुक्दै जान थालेका छन् । पानी पर्न कम भएको छ । प्राकृतिक प्रकोप निम्तिँदै छन् । कृषिजन्य उत्पादनमा कमी आइरहेको छ । कृषिप्रधान देशमा कृषिमै -हास आउन थालेपछि मुलुकको अर्थतन्त्रमा पनि -हास हुन्छ । जलवायुका समस्याले गर्दा पानीका मुहान सुक्दै जान थालेका छन्, जसले गर्दा मानव जातिको जीवनशैली झनै कष्टकर बन्दै जाने सक्ने खतरा छ ।
ग्रामीण कच्ची सडक निर्माण धेरै हुन थालेका छन्, पछिल्लो समय । डोजरको प्रयोग पनि बढेको छ । तर, डोजर प्रयोग गर्ने नाममा जथाभावी रूपमा प्रयोग भएको छ । वातावरणीय संरक्षणलाई ख्याल गरिँदैन, जसले गर्दा पहिरो तथा भू–क्षय निम्तिने काम भएको छ । यसलाई अब हामीले समयमै रोक्नुपर्छ । ‘विकास र वातावरणलाई सन्तुलित कसरी गर्दै जाने ?’ भन्ने विषयमा छलफल तथा सहकार्य गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्