लेखापाल कुटिएपछि नगरपालिकाको सेवा ठप्प «

लेखापाल कुटिएपछि नगरपालिकाको सेवा ठप्प

लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिकाको कार्यलयभित्रै कर्मचारी कुटिएपछि नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएको छ । सोमबार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटिएपछि कर्मचारीहरुले आन्दोलनस्वरुप कार्यालयको सेवा प्रवाह ठप्प पारेका हुन् ।
सुन्दरबजार नगरपालिका अन्तर्गतका कर्मचारीहरुले दोषीलाई कारवाहीको माग गर्दै आन्दोलन गरेका हुन् । कर्मचारीहरुले नगरपालिका अन्तर्गतका सवै वडा कार्यालयहरुमा सेवा प्रवाह ठप्प पारेका छन् । कार्यालय समयमा कार्यकक्षमै निरअपराध कर्मचारी कुटिएपछि कर्मचारीहरु आतंकित भएको र मनोवल गिरेको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावलीले बताए ।
नेकपा निकट युवासंघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले सोमबार मध्यान्ह कार्यालयमै पसेर कुटपिट गरेका थिए ।
कर्मचारीको आन्दोलनले सेवाग्राही प्रभावित भएको सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शाहले बताइन् । कार्यकक्षमै कर्मचारीमाथि सांघातिक आक्रमण गर्नु निन्दनीय घटना भएको भन्दै घटनाले पूरै नगरपालिका अस्तव्यस्त भएको उनको भनाइ छ ।
कुटपिटबाट घाइते पराजुलीको अनुहारमा गम्भिर चोट लागेको छ । घाइते पराजुलीलाई लमजुङ जिल्ला सामुदायिक अस्पताल सामान्य उपचार गरी थप उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लागिएको छ । घटनापछि कर्मचारी जिल्लास्थित आधिकारिक ट्रेड युनियनसहित कर्मचारीका विभिन्न संघसंगठनले दोषीलाई कारवाहिको माग गरेका छन् । दोषीलाई तत्काल पक्राउ गरी कारवाहि नगरे आन्दोलनलाई थप चर्काउने निजामती कर्मचारीहरुले चेतावनी दिएका छन् ।
लेखापाललाई कुटपिट गर्ने युवासंघका नगर उपाध्यक्ष श्रेष्ठ भने अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक यादव ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्