१६० किलो चरेश बरामद «

१६० किलो चरेश बरामद

वीरगन्ज-लागू औषध ओसारपसार र तस्करीको केन्द्र बनेको पर्सामा पछिल्लो पटक प्रहरीले १६० किलो चरेश बरामद गरेको छ । आइतबार साँझ ७ बजे परवानीपुरदेखि मिलनचोक जाने सडक खण्डमा एक क्विन्टल ६० किलोग्राम चरेश लोड गरिएको ट्रकसहित एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ गरेको प्रतिबन्धित लागू औषध चरेशसहित ट्रक र चालकलाई पर्सा प्रहरीले सोमबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पहाडी जिल्ला धादिङ र मकवानपुरको विभिन्न स्थानमा उत्पादन भएको चरेश मकवानपुरको मनहरीबाट चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगलको बाटो भएर भारततर्फ तस्करी भइरहेको चरेश प्रहरीले बेलाबखतमा पक्राउ पर्ने गरेको छ । सोही क्रममा वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख २९८५ नम्बरको ट्रकलाई वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ वेल्वामा चेकजाँच गर्ने क्रममा चरेश फेला परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चरेशसहित ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी बस्ने सागर बललाई पनि पक्राउ गरेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सागरले गाडी पनि आफ्नै भएको बयान दिएको प्रहरी उपरीक्षक ढकालले बताए । उनले भने, “बयानमा गाडी पनि मेरै हो भनेको छ, यसबारेमा सवारीधनी प्रमाणपत्र हेरेपछि मात्रै गाडी उसको हो या होइन भन्ने यकिन हुन्छ । हामी अनुसन्धान गरिरहेका छौं ।” ट्रक र चरेशसहित पक्राउ परेका सागर बललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
यसैबीच, सशस्त्र प्रहरी भन्सार राजस्व गुल्मले पनि ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ । वीरगन्ज भन्सार कार्यलयमा तैनाथ रहेको सशस्त्र प्रहरी राजस्व गुल्मले सोमबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार कार्यालय पछाडिबाट भारतबाट नेपालतर्फ प्लाष्टिक कवाडको पोकामा लुकाएर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ सय पिस लागू औषध बरामद गरेको हो । बरामद गरिएको लागू औषध डाईजोल्याब दुई सय पिस, दुई सय पिस नोर्फिन र फेनारगन दुई सय पिस रहेको सशस्त्र प्रहरी भन्सार राजस्व गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्