साइकलमैत्री सडक योजना अलपत्र «

साइकलमैत्री सडक योजना अलपत्र


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई साइकलमैत्री सहर बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ ।
प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै सुर्खेतलाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको हो ।

सरकारी कर्मचारीलाई साइकल चढ्न प्रोत्साहान गर्ने भन्दै अघिल्लो आर्थिक वर्षमा पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालयबाट सुरु गरी अन्य मन्त्रालयमा पनि लागू गर्ने भनी अघिल्लो आर्थिक वर्षमा १० वटा साइकल पनि खरिद गरिएको थियो । ०७६ साउन ९ गते मुख्यमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालयका कर्मचारीका लागि तीन लाख रुपैयाँ खर्च गरेर खरिद गरिएका १० वटा साइकलसमेत अहिले कहाँ छन पत्तो छैन ।


त्यसबेला कार्यालयका कर्मचारी कार्यालय आउँदा र जाँदा साइकलमै चढ्ने भनिएको थियो । मुख्यमन्त्री कार्यालयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि केही साइकल किनिएको थियो । तर, ती साइकल अहिले प्रयोग भएको देखिँदैन ।
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा राजधानी सहरको धुलो धुँवामुक्त गरी वातावरणमैत्री बनाउन र इन्धन खपत न्यूनीकरणका लागि सुलभ र सहज विद्युतीय सार्वजनिक यातायात, सुब्बाकुनादेखि बाँङ्गेसिमलसम्म साइकलमार्ग र नगर क्षेत्रमा अपांगमैत्री तथा साइकलमैत्री सडक बनाउने उल्लेख गरिएको थियो । यस्तै कार्यालय आवत–जावत गर्नका लागि साइकलको प्रयोगलाई प्रोत्साहन गरिने पनि उक्त नीति कार्यक्रममा भनिएको थियो । त्यसका लागि २ करोड बराबरको बजेट पनि छुुट्याइएको थियो ।

तर, यो कार्यक्रम सुरुवात नै नभएर सुस्ताएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माले सुब्बाकुनादेखि बाँङ्गेसिमलसम्म साइकलमार्ग बनाउने भनिए पनि सो सडक संघअन्तर्गतको भएकाले कार्यान्वयन अघि बढ्न नसकेको बताए । प्रदेश राजधानीमा बढ्दो सवारी चापकम गराउन, धुलो र धुँवामुक्त सहर बनाउन टेवा पुग्ने प्रदेश सरकारले दाबी गररिहँदा यसलाई यसको कार्यान्वयनमा भने चासो दिएको छैन । यता मुख्यमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालयका प्रवक्ता केशव उपाध्यायले केही साइकल बिग्रिएका र कतिपय कर्मचारीले साइकल प्रयोग गरिरहेको जानकारी दिए ।


प्रदेश सरकारका कर्मचारी साइकलमा कार्यालय आउजाउ गर्ने र यसले सर्वसाधारणलाई पनि साइकल चढ्न प्रेरणा होस् भनेर साइकलमैत्री सहरको कल्पना गरएिको थियो । तर, चालू आर्थिक वर्ष र आगामी आवको नीति, कार्यक्रम र बजेटमा यो योजना प्राथमिकतामा परेको छैन । नीति कार्यक्रममा निरन्तरता पाए पनि कार्यान्वयन हुनेमा भने ठोस योजना देखिएको छैन । आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा साइकल भन्ने शब्दसम्म उल्लेख गरिएको छैन । नीति तथा कार्यक्रममा भने गत वर्षकै निरन्तरता दिँदै प्रदेश राजधानी र मुख्य सहरमा साइकल लेन तथा पैदल यात्रुमैत्री सडक निर्माण कार्यक्रमलाई निरन्तारता दिइने उल्लेख गरिएको छ ।


प्रदेश सरकारका तत्कालीन प्रमुख सचिव केवलप्रसाद भण्डारीले साइकलमैत्री सहरको योजनालाई प्राथमिकताका साथ अगाडि बढाएका थिए । त्यसमा केही काठमाडौंमा बस्ने कर्णालीका युवाको पनि भूमिका थियो । तर उनी सरुवा भएर गएदेखि भने साइकलमैत्री सहर बनाउने योजना पनि अलपत्र परेको युवाहरूको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा साइकल चलाउन प्रोत्साहन गर्ने वा त्यसका लागि भौतिक संरचना निर्माण गर्नेलगायतका कुनै पनि योजना ल्याएको छैन ।

प्रतिक्रिया दिनुहोस्