संसद्मा कांग्रेसको भूमिका कमजोर भयो : कोइराला «

संसद्मा कांग्रेसको भूमिका कमजोर भयो : कोइराला

विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसदमा कांग्रेसको भूमिका एकदमै कमजोर भएको टिप्पणी गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेसको कमजोर प्रस्तुतिकै कारण सरकारले प्रभावकारी काम गर्न नसकेको बताए ।
“संसद्मा कांग्रेसको भूमिका एकदमै कमजोर भयो,” उनले भने, “सरकारले यति धेरै नाजायज काम गरिरहेको छ, निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न सकेको छैन ।” उनले संसद्मा संख्यात्मक रुपमा कांग्रेसको उपस्थिति कमजोर भन्न नमिल्ने तर्क गरे । “एकजनाले उभिएर विरोध गर्दा संसद् अवरुद्ध हुने अन्तर्राष्ट्रिय अभ्यास छ,” कोइरालाले भने । वाइडबडी काण्ड, निर्मला पन्तको हत्याका घटना मात्रै होइन, अहिले सरकारका अनेकौं कमजोरीहरू छताछुल्ल भएको उनले बताए ।
उनले पार्टीको १४ औं महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए । कोइरालाले कांग्रेसको नेतृत्वले विक्रम संवत् २०७६ फागुन मसान्तभित्र अधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे । कांग्रेसले धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने गरेको बताउँदै नेपालको राष्ट्रिय जनावर गाई संरक्षण हुनुपर्ने भन्दै प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्नेमा जोड दिए । “अहिले विभिन्न प्रलोभनमा धर्म परिवर्तनको खेल भइरहेको छ,” उनी भन्छन्, “यस्ता गतिविधिलाई सरकारले तत्काल रोक्नुपर्छ ।” कोइरालाले धर्म र राजनीति अलग विषय भएको भन्दै पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्