काठमाडौंका खोप केन्द्र अस्तव्यस्त «

काठमाडौंका खोप केन्द्र अस्तव्यस्त

कोभिड–१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ ।
सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोस्रो डोज लगाउन सूचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धा कयौंले खोप लगाउन नपाई फर्कनु परेको छ ।

उपत्यकाका निजामती अस्पताल, प्रसूति गृह, वीर अस्पताल, टेकुलगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धा दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित बने । उनीहरूले सरकारले सही सूचना नदिएका कारण आफूहरूले दुःख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण गराए ।


मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजेदेखि लाइन बसेर २ बजेसम्म पनि खोप लगाउन पाउनुभएन । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखे । बानेश्वरका तेजबहादुर दाहाल पनि बिहान ६ बजे निजामती अस्पताल खोप केन्द्रमा लाइन बसे तर दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापनप्रति उनले आक्रोश व्यक्त गरे ।
आलोकनगर टोल सुधार समितिको अध्यक्षसमेत रहेका डीआर पोख्रेल बिहान ३ बजेदेखि खोप लगाउन लाइन बसे पनि दिउँसोसम्म खोप लगाउन पाएनन् । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा पाँच सयमात्रै खोप लगाउने सूचना निकालेपछि उनको धैर्यता टुट्यो । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्