दुई दिनमै ७९ लाख डलर कमाउने पुस्तक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषयमा लेखिएको पुस्तकका लेखकले ‘फायर एन्ड फरी’ को पहिलो दुई दिनको बिक्रीबाट ७९ लाख अमेरिकी डलरको कमाइ गरेका छन् । माइकल उल्फले लेखेको सो पुस्तकको ३ लाख ८० हजार हार्ड कभर, ई–बुक र अडियो कपीको बिक्रीबाट सो कमाइ गरेका हुन् । पुस्तकमा उनले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पहिलो वर्षको बसाइका बारेमा लेखेका छन् । ट्रम्पले पहिलो वर्षमा कसरी जंगली शोषण गरेका छन्, त्यसको विस्तार पुस्तकमा गरिएको छ । तर, यसबारे पुस्तकका लेखक उल्फले न त पुस्तकका प्रकाशक हेनरी होल्ट एन्ड कम्पनीले यसबारे केही खुलाएका छैनन् । ब्लुमबर्गको विश्लेषणअनुसार उल्फले यो पुस्तकका लागि पेस्कीस्वरूप ५ लाख अमेरिकी डलर पाएका थिए र पुस्तकमा सूचीकरण गरिएको मूल्यको १५ प्रतिशत विशेष रोयल्टी पाउने गरी सम्झौता गरेका थिए ।
यो पुस्तकको हार्ड कभर प्रतिपुस्तकको बिक्री दर ३० अमेरिकी डलर छ भने ई–बुकको मूल्य १५ अमेरिकी डलर र अडियो बुकको २८ अमेरिकी डलर छ ।
समाचारमा जनाइएअनुसार यो पुस्तकको हार्ड कभरको बिक्री २९ हजार थान, ई–कपीको बिक्री २ लाख ५० हजार थान र अडियो बुक १ लाख थान बिक्री भएको छ ।
‘फायर एन्ड फरी: इनसाइड द ट्रम्प ह्वाइट हाउस’ नामक पुस्तकमा ट्रम्पलाई आफ्नो पदीय हैसियत नबुझेको नेताका रूपमा प्रस्तुत गरिएको छ । राष्ट्रपति र ह्वाइटहाउसका सहयोगीले यसको कटु आलोचना गरेका छन्, तर यो पुस्तकको बिक्री तीव्र रूपमा भइरहेको छ । यो पुस्तकको बिक्रीको गति हेर्दा अझ धेरै बिक्री हुने अनुमान गरिएको छ । यो पुस्तक जनवरी ९ मा सार्वजनिक गरिएको थियो ।