पहिरोले पर्वत सदरमुकाम कुश्माबजारका १९ परिवार विस्थापित
पर्वत सदरमुकाम कुश्माबजारका १९ घरपरिवार बाढिपहिरोका कारण विस्थापित बनेका छन् ।
सोमबार राती वर्षासँगै आएको बाढीले कुश्मा नगरपालिका–४ जिरो किमि र नारायणस्थान वरपरका १९ घरे जोखिममा परेका हुन् । कुश्मा नगरपालिका–३ सल्यानबाट ग्रेगानसहितको पहिरो आउँदा बस्तीमा असर गरेको छ । ठूलाठूला ढुंगा र गेगरसहितको पहिरोले स्थानीयको आगन पुरिएको छ ।
मध्यपहाडी लोकमार्ग समेत गेग्रानले भरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय परिसर र विरुवा नर्सरी पहिरोले पुरिएको छ । कुश्मा नगरपालिकाको अनुरोधअनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनीकरणका लागि प्रदेश र संघीय सरकारसमक्ष सहयोग माग गरेको छ ।
नगरप्रमुख रामचन्द्र जोशीले पहिरोको जोखिममा रहेको बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने र पहिरोको स्थायी समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । पहिरोको स्थलगत अवलोकन गरी जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकार र प्रदेश सरकारलाई पहिरो नियन्त्रणका लागि पहल गरिदिन अनुरोध गरिएको जोशीले बताए ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बस्तीमा जोखिम बढेकोले स्थानीयलाई तत्काल सुरक्षित स्थानमा सार्ने र च्येकड्याम बनाएर पहिरो नियन्त्रणको प्रयास गर्न यहाँका सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको बताइन् ।
बस्तीमा आएको ढुंगा र ग्रेगान पन्छाउन कुश्मा नगरपालिका, मध्यपहाडी लोकमार्ग र भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई समन्वयात्मक तरिकाले काम गर्न प्रशासनले अनुरोध गरेको छ । पहिरोले जिरोकिलो, पोखरी उप्रि र डम्डारेखोला वरपरको बस्तीमा ठूलो क्षति हुने भएकाले सतर्क रहन पनि अनुरोध गरिएको छ ।
पहिरोको दीर्घकालीन समाधान नगर्ने हो भने कुश्मा गुप्तेश्वर गुफासम्मको बस्तीमा क्षति हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।