बल्मा नदीको पुल निर्माण सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिका–१० स्थित बल्मा नदीमा निमार्णाधीन पुलको निर्माणकार्य सम्पन्न भएको छ । पाँच वर्षअघि एमएसकेएस एडभेञ्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर निर्माण अलपत्र अवस्थामा रहेको पुलको निर्माणकार्य लामो समयपछि सम्पन्न भएको हो । पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न भने सहज भएको छ ।
“समय समयमा म्याद थप गर्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण निर्माण अलपत्र परेको बल्मा नदीमा निमार्णाधीन पुलको निर्माणकार्य सम्पन्न भएको अवस्था छ,” वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने, “माथि नगरपालिकाको गाउँ बस्ती र तलतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त क्षेत्रमा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भएको थियो, पुल अलपत्र भएको लामो समयपछि पुल निर्माण सम्पन्न भएको छ यसले गर्दा उक्त पुल भएर आवतजावत गर्ने स्थानीयलाई भने सहज भएको स्थिति छ ।” पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा नदी भएर दैनिकरूपमा सदरमुकाम महेन्द्रनगर आवतजावत गर्दछन् । पाँच वर्षअघि सम्झौता भएर पनि पुल निर्माण हुन नसक्दा वर्षात्को समयमा स्थानीयलाई आवतजावत गर्न निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको प्रमुख चन्दले बताए ।
चुरे फेदी भएर आउने उक्त नदीमा वर्षात्को समयमा आवतजावत गर्न निकै कठिन हुने गर्दछ । जिल्लाको दक्षिणी भेगमा स्थानीयलाई आवतजावत गर्न उक्त नदीले समस्या पार्ने गरेको थियो । तर पुल निर्माण सम्पन्न भएपछि भने सहज भएको स्थानीय हरि सिंह धामीको भनाइ छ ।
“दक्षिण तर्फबाट प्रत्येक दिन सदरमुकाम आउने स्थानीय सर्वसाधारणलाई पुल निर्माण भएपछि निकै सहज भएको छ ।” बेल्डाँडी गाउँपालिकाका स्थानीय धामीले भने, “वर्षायाममा नदीका कारण अवरुद्ध हुने बाटो पुल निमार्णपछि भने खुलेको छ, यसले गर्दा वर्षात्मा नदी आएको समयमा ज्यानको बाजी लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भने हटेको छ ।” स्थानीयलाई कुनै पनि समयमा सदरमुकाम आउनु पर्ने काममा पनि पुल बनेपछि यात्रा सहज भएको उनले बताए । उनीजस्तै अर्का स्थानीय गोविन्द जेठाराका अनुसार नदीमा पुल नभएर असहज यात्रा पुल निर्माणपछि सहज बनेको उनले बताए । पुल निर्माण भएपछि यात्रा गर्न पनि छिटो तथा छरितो भएको उनको भनाइ छ । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जान यो बाटो छोटो दूरीको छ । अहिले यस क्षेत्रमा हुलाकी राजमार्ग पनि निर्माण भइरहेको छ । कुल ९७ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि ६ करोड ८० लाखमा ठेक्का दिइएको छ । बल्मा खोलाले वेदकोट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई छुट्याएको छ ।