सेयर बजार : लगानी भर्सेस स्पेकुलेसन «

सेयर बजार : लगानी भर्सेस स्पेकुलेसन

विदेशमा स्पेकुलेसनका लागि सेयर, जग्गा, सुन, मुद्रा र क्रिप्टो करेन्सीलगायतका चिज उपलब्ध हुन्छन् । आफ्नो दाउ वा भाग्य परीक्षण गर्न र रमाइलो गर्न क्यासिनो, चिट्ठा आदि हुन्छन् । नेपालमा स्पेकुलेसनका लागि सेयर र जग्गामात्र उपलब्ध छन् । दाउ वा भाग्य परीक्षण गर्ने खेलहरू छैनन् ।
सम्पत्ति उपभोग र उत्पादनका लागि किनिन्छ । सानो गाडी वा सानो घर आफू चढ्ने वा बस्ने प्रयोजनका लागि किनिन्छ । यो उपभोग भयो । बस वा ठूलो घर भाडामा लगाएर आम्दानी गर्न किनिन्छ । यो उत्पादन भयो । सम्पत्ति किन्नुको तेस्रो पनि उद्देश्य हुन्छ । त्यो हो— स्पेकुलेसन ।
जग्गा किनेर त्यहाँ खेतीबाली लगाएर आम्दानी गर्नु उत्पादन हो । यहाँ जग्गाको भाउ घटोस् वा बढोस्सँग सम्पत्तिवालालाई मतलब हुँदैन । खेतमा उब्जनी कति हुन्छ भन्ने मात्र मतलब हुन्छ । जग्गा उब्जनीका लागि होइन, भाउ बढेर बेचौंला र नाफा गरौंला भन्ने उद्देश्यले पनि किन्ने गरिन्छ । यसलाई स्पेकुलेसन भनिन्छ । सम्पत्तिको मूल्य बढेर आम्दानी गर्ने काम स्पेकुलेसन हो ।
विदेशमा डलर, युरो वा अन्य मुद्रा, जसको मूल्य आज कम भएजस्तो लाग्छ, त्यो किनेर थुपार्ने र पछि महँगो भएपछि बेच्ने गरिन्छ । नेपालमा पनि डलरको भाउ कहिले तल कहिले माथि हुन्छ । तर, यहाँ डलर किनेर सञ्चय गर्न र बिक्री गर्न पाइँदैन । त्यस्तै, विदेशमा बिटक्वाइनलगायत विभिन्न क्रिप्टो करेन्सी सस्तो लागेको बेला किनेर महँगो हुँदा बेच्ने गरिन्छ ।
कुनै–कुनै चिज स्पेकुलेसनका लागि मात्र प्रयोग हुन्छन् । जस्तो— सुन, मुद्रा आदि । यो किनेर घरमा राखेर यसबाट कुनै उपयोगिता हुँदैन । कुनै–कुनै चिजमा भने स्पेकुलेसन र उपयोगिता दुवै हुन्छन् । सेयर र जग्गा यसका उदाहरण हुन् । मुद्रा वा सुनका डल्लाबाट नाफा गर्न मुद्रा वा सुनका डल्ला नै बेच्नुपर्छ । तर, सेयर र जग्गाबाट नाफा कमाउन सेयर र जग्गा नै बेच्नुपर्छ भन्ने छैन ।
सेयर राखिराख्दा कम्पनीबाट लाभांश र बोनस सेयर प्राप्त हुन सक्छ । जग्गा भाडामा लगाएर वा आफैंले खेतीबाली गरेर आम्दानी गर्न सकिन्छ । सेयर र जग्गाको मूल्य बढेको बेला बेचेर पुँजीगत लाभ पनि लिन सकिन्छ । किन्ने मानिसले के उद्देश्यले किन्ने हो, त्यहीअनुसार सम्पत्तिमा लगानी गर्नुपर्छ ।
उत्पादन बेचेर नाफा गर्ने हो भने सम्पत्तिमा कति लगानी गर्नु ठीक ? यसका लागि सम्पत्तिबाट हुने उत्पादनको अनुमान गर्नुपर्छ । ५÷१० वर्षमा लगानी उठ्ने र अर्को ५-१० वर्षको आम्दानी नाफा हुने हिसाबले लगानी गर्न सकिन्छ । बस किन्दा यसै गरिन्छ । बस थोत्रो भएपछि त्यसको मूल्य हुँदैन । त्यसैले जति लिने हो, उत्पादनबाटै नाफा लिनुपर्छ ।
सेयर र जग्गा ह्रास भएर जाँदैन । बैंकमा पैसा राख्दा वा कसैलाई ऋण दिँदा साँवा र ब्याज पाइन्छ । साँवा रकम तलमाथि हुँदैन, ब्याज भने कसैले कम, कसैले बढी दिन्छन् । सेयरको कित्ता र जग्गाको क्षेत्रफल तलमाथि हुँदैन, तर बिक्री गर्दा परल मूल्यभन्दा कम वा बढी जे पनि हुन सक्छ ।
सामान्यतया नष्ट भएर जाने सम्पत्ति किन्दा १० देखि २० वर्षमा लगानी उठाएर नाफा गरिसक्ने हिसाबले किन्नुपर्छ । नष्ट भएर नजाने सम्पत्ति त्यो हिसाबले किन्नु पर्दैन । यस्तो सम्पत्ति किन्दा वार्षिक यति आम्दानी हुन्छ र बेच्दा यति त आइहाल्छ भन्ने अनुमान गरी लगानी गर्नुपर्छ ।
मानौं कुनै कम्पनीको एक कित्ता सेयर १ हजार रुपैयाँमा किनियो । त्यो कम्पनीले वार्षिक १ सय प्रतिशत प्रतिफल दिन्छ । त्यसो हो भने १० वर्षमा आफ्नो लगानी उठ्छ । त्यसपछि सेयर जतिमा बिक्री भए पनि त्यो नाफा हुन्छ । एक वर्ष राखेर बेचे पनि १० प्रतिशत प्रतिफल पाइन्छ ।
कम्पनीले दिने प्रतिफलका आधारमा लगानी गर्ने हो भने माथिको कुरा लागू हुन्छ । कम्पनीले विगतमा यति प्रतिफल दिएको छ भन्ने थाहा हुन्छ । तर, भविष्यमा कति प्रतिफल दिन्छ भन्ने अनुमान मात्र हो । कसैको अनुमान अहिले १ सय प्रतिशत प्रतिफल दिएको कम्पनीले पछि नाफा घटेर ५० प्रतिशत मात्र नाफा दिन्छ भन्ने हुन्छ । त्यस्तै, कसैको अनुमान २ सय प्रतिशत दिन सक्छ भन्ने हुन्छ ।
२ सय प्रतिशत नाफा देला भनेर अनुमान गर्ने मानिसहरूको संख्या धेरै भयो भने सेयरको माग उच्च हुन्छ । माग बढेपछि सेयरको मूल्य पनि बढ्छ । नाफा ५० प्रतिशतमा झर्छ भनेर अनुमान गर्नेको संख्या धेरै भयो भने आपूर्ति अर्थात् बिक्री गर्न चाहनेको संख्या बढ्छ र सेयरको मूल्य घट्छ ।
सेयरको मूल्य मानिसहरूको विश्वास र अनुमानको आधारमा तलमाथि हुन्छ । यो तलमाथि हुने मूल्यमा खेलेर नाफा गर्न सेयर बजारमा स्पेकुलेटर (सट्टेबाज) प्रवेश गर्छन् । उनीहरूले कम्पनीको सेयर मूल्य यतिभन्दा तल जाँदैन होला भन्ने अनुमानमा किन्ने र यतिभन्दा माथि जाँदैन होला भन्ने अनुमानमा बेच्ने गर्छन् ।
वास्तविक लगानीकर्ताभन्दा धेरै सट्टेबाज बजारमा प्रवेश गर्न पुग्छन् । अब सेयरको मूल्य कम्पनीले दिने प्रतिफलको आधारमा मात्र तलमाथि हुँदैन । मूल्य सट्टेबाजीको कारोबारले तलमाथि हुन थाल्छ । कम्पनीले दिने वार्षिक प्रतिफलको कुरा गौण हुन्छ । मूल्य बढेको बेला बेच्दा कमाउने र घटेको बेला बेच्दा गुमाउने प्रवृत्ति हावी हुन्छ ।
बजार स्पेकुलेटिभ भएपछि उच्च जोखिम, उच्च नाफाको अवस्थामा पुग्छ । लगानीकर्ताको हातमा सेयर कित्ता र कम्पनीको प्रतिफल त छ । त्यससँग मेल नखाने गरी बजार खेल्न थाल्छ । मानौं, कम्पनीको प्रतिफलले सेयरको मूल्य १ हजार रुपैयाँ हुँदासम्म सपोर्ट गर्छ । तर बजारमा मूल्य भने १० हजार पुग्न सक्छ ।
स्पेकुलेटिभ बजारमा सबैले कमाउने भन्ने हुँदैन । एकले कमाउन अर्कोले गुमाउनैपर्छ । कसले कमाउँछ भन्दा अधिकांशतः सूचना छिटो थाहा पाउने, विश्लेषण गर्न र छिटो निर्णय गर्न सक्ने क्षमता भएको व्यक्तिले र कहिलेकाहीं कागताली परेको वा भाग्य भएको व्यक्तिले । कसैले बिना जानकारी बजार प्रवेश गरेर सुरुमा गुमाउँछन् । पछि सिकेर तिनीहरूले नै बढी कमाएको पनि पाइन्छ ।
लगानी र स्पेकुलेसन दुवै आम्दानीकै लागि गर्ने हो । लगानीमा मध्यम जोखिम हुन्छ भने स्पेकुलेसनमा उच्च जोखिम हुन्छ । लगानीमा दीर्घकालमा मध्यम आम्दानीको अपेक्षा गरिन्छ । स्पेकुलेसनमा तत्काल उच्च आम्दानीको अपेक्षा गरिन्छ । लगानीमा ६ महिनादेखि पाँच वर्षसम्म नबेच्ने गरी खरिद गरिन्छ । स्पेकुलेसनमा चार दिनदेखि एक वर्षभित्रमा बेच्ने गरी खरिद गरिन्छ ।

फन्डामेन्टल र टेक्निकल एनालाइसिस
लगानी प्रयोजनका लागि सेयर खरिद गर्दा फन्डामेन्टल एनालाइसिस गर्नुपर्छ । फन्डामेन्टल एनालाइसिस भन्नाले कम्पनीले अहिलेसम्म के–कति प्रतिफल दिँदै आएको छ र भविष्यमा बिजनेस योजना कस्तो छ भनेर हेर्ने हो । यसको आधारमा भविष्यमा दिन सक्ने प्रतिफल (लाभांश र बोनस सेयर) को पूर्वानुमान गर्ने हो । त्यसपछि मात्र सेयरको बजार मूल्य हेर्ने हो । प्रतिफलले थेग्ने खालको बजार मूल्य छ भने खरिद गर्ने हो ।
स्पेकुलेसन प्रयोजनका लागि सेयर खरिद गर्दा टेक्निकल एनालाइसिस गर्नुपर्छ । टेक्निकल एनालाइसिस भन्नाले कम्पनीको सेयर मूल्य र कारोबार कित्ता संख्याको उतारचढाव के–कस्तो छ भनेर हेर्ने हो । टेक्निकल एनालाइसिसले बाई र सेल सिग्नल दिन्छ । कति अवधिका लागि खरिद गर्न लागेको हो, त्यति अवधिको पुरानो डेटाबाट एनालाइसिस गरिन्छ । त्यसपछि मात्र कम्पनीको प्रतिफल क्षमता हेरिन्छ । यतिसम्मको कम्पनीमा टे«ेडिङ गर्न ठीकै हुन्छ भनेर खरिद गर्ने हो ।
फन्डामेन्टल एनालाइसिस गर्न कठिन हुन्छ । सबै कम्पनीका अद्यावधिक तथ्यांक भेटिँदैनन् । तथ्यांक पाइएमा अहिलेसम्मको स्ट्रेन्थ हेर्न सकिन्छ । तथापि तथ्यांकमा विश्वसनीयताको अभाव हुन सक्छ । भविष्यको स्ट्रेन्थको सही पूर्वानुमान गर्न झनै कठिन हुन्छ । कस्ता व्यक्तिले कम्पनी सञ्चालन गरेका छन् ? उनीहरूको नियत के छ ? उनीहरूको बिजनेस प्लान बजारसँग मेल खान्छ वा खाँदैन ?
टेक्निकल एनालाइसिसका लागि डाटा सहजै उपलब्ध हुन्छ । यसको विश्लेषण सफ्टवेयरबाट गर्न सकिन्छ । टेक्निकल एनालाइसिसको सिद्धान्त भनेको इतिहास दोहोरिन्छ भन्ने हो । यो मेसिनरी विश्लेषण हो । विगतमा के अवस्थापछि के अवस्था आएको थियो भनेर हेर्ने हो । तर, हुबहु प्याट्रनमा इतिहास दोहोरिँदैन । त्यसैले टेक्निकल एनालाइसिस ६० प्रतिशत मात्र भरपर्दो हुने मानिन्छ ।
टेक्निकल एनालाइसिसमा बढ्यो भने यति अवधिमा यतिसम्म बढ्न सक्छ वा घट्यो भने यतिसम्म घट्न सक्छ भनेर प्रक्षेपण गरिन्छ । यहाँ बेच्ने समयको एकदमै महŒव हुन्छ । यति अवधिमा यति बढ्यो भने बेच्ने, होल्ड गर्ने वा यति घट्यो भने पनि बेच्ने, होल्ड गर्ने भनेर टार्गेट सेट गरिन्छ । त्यसैले यो कारोबारलाई उच्च जोखिमयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्