कौसी खेतीको महत्व «

कौसी खेतीको महत्व

कोरोना भाइरसको दोस्रो लहर आएसँगै देशमा बन्दाबन्दी र निषेधाज्ञा जारी छ । यस्तो बन्दाबन्दी र निषेधाज्ञाको समय कौसी तथा करेसाबारीमा खेती गर्नेहरूका लागि भने उपलब्धिमूलक समय रहेको छ । विशेष गरी कौसी खेतीको सम्भावना सहरी क्षेत्रमा हुने गर्छ । कौसी खेतीबाट शारीरिक व्यायामका साथै सामाजिक सन्जाल र टेलिभिजनमा व्यस्त रहने समयको पनि सदुपयोग हुन्छ । कौसी खेतीबाट दैनिक भान्साको समस्या समाधान हुनुका साथै तरकारी किन्न भौंतारिनुपर्ने अवस्था नहुने र तरकारीलाई तिर्नुपर्ने दोब्बर–तेब्बरजस्तो चर्को मूल्य तिर्नुपर्ने मारबाट पनि मुक्त हुन सकिन्छ । यसका साथै विषादीजन्य तरकारीको सेवनबाट समेत छुट्कारा पाउन सकिन्छ । कोरोना महामारीको यस्तो सङ्कटको समयको उपयोग गरी आ–आफ्नो कौसी तथा करेसाबारीमा कौसी खेती गरी आम्दानी लिन सकिन्छ ।
हाम्रो देशको विभिन्न घना सहरी क्षेत्रमा कौसी खेती एउटा भरपर्दो विकल्प हो । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँजस्ता स्थलमा आफूलाई दैनिक रूपमा आवश्यक पर्ने बालीनाली जस्तै— तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्राङ्गारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल र मसलाजन्य उत्पादन नियमित भइरहन्छ । सागसब्जी, कोसेबाली, लहरेबाली, जरेबाली जस्तै— पालुङ्गो, चम्सुर, धनियाँ, मेथी, सुप, गाँजर, मुला, सिमी, बोडी, काउली, ब्रोकाउली, बन्दा, सलगम, आलु, गाँजर, घिरौँला, काँक्रो, फर्सी, लसुन, प्याजजस्ता तरकारीहरू वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपयोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै विषादीरहित ताजा सन्तुलित खाद्य सामग्री पनि प्राप्त गर्न सकिन्छ ।
कौसी खेतीले हरियाली ल्याउनुका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग गर्छ । यसका साथै घरको शोभा बढाउन समेत सजिलो हुन्छ । त्यस्तै सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । कौसी खेतीबाट उत्पादित ताजा तरकारीले दैनिक आहार सन्तुलनमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । दैनिक खानामा चाहिने पौष्टिक तŒवहरू जस्तै— कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ । मानिसको शरीरलाई आवश्यक पर्ने प्रायः यी सबै तत्व प्रशस्त मात्रामा तरकारीमा पाइन्छ । तरकारीमा पाइने प्रशस्त रेसाहरूले पाचन क्रियामा मद्दत गर्छ । त्यसैले मानव स्वास्थ्यका लागि कौसी खेती महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्