विरोधमा उत्रिए ट्रेड युनियन
वायुसेवा निगमलाई कम्पनी मोडेलमा लैजान प्रक्रिया सुरु

६३ वर्ष पुरानो सरकारको पूर्ण स्वामित्वको नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा लाने प्रकृया अघि बढाएपछि प्रस्तावको विरुद्धमा कर्मचारीहरु उत्रिएका छन् ।
निगमलाई कम्पनी मोडेलमा लैजाने प्रबन्धपत्र र नियमावली मस्यौदाको विरोध गर्दै निगमका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी समर्थित तीनवटा ट्रेड युनियनले आह्वान गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन् । “सरकारी स्वामित्वको राष्ट्रिय ध्वाजावाहक सरकारी संस्थालाई निजीकरण गर्न लागिएकोमा विरोध हो,” नेपाली कांग्रेस समर्थित कर्मचारी यूनियनका अध्यक्ष मानबहादुर कुंवरले भने, “शंकास्पद ढंगले निगमको बोर्ड बैठकले निगमलाई कम्पनी लिमिटेडमा लान मन्त्रालयमा नै प्रस्ताव पेश गरिएको छ । निगमको हित अनुकूल थियो भने किन बोर्डबाट परित गरिएको प्रबन्धपत्र र नियमावलीको मस्यौदा लुकाइयो, हाम्रो प्रश्न छ ।” महाप्रबन्धकले प्रबन्धपत्र र नियमावली बनाउन तथा आम कर्मचारीसँग कुनै पनि छलफल नगरेको बताउँदै उनी निगमको हितको लागि काम गर्नको लागि भने सबै ट्रेड यूनियनहरु एक ठाउँमा उभिएको बताउँछन् । हालै पर्यटन मन्त्री लिलानाथ श्रेष्ठ र सचिव यादव कोइरालालाई ज्ञापनपत्र बुझाएर यसबारे थप छलफल आवश्यक रहेको तर्फ ट्रेड युनियनहरुले ध्यानाकर्षण समेत गराएका छन् ।
यस्तो छ निगमको प्रस्ताव
करिब ९ वर्ष अगाडि नै निगम व्यवस्थापनलाई कम्पनी मोडेलमा लानको लागि खाका तयार भएको थियो । यसअघिका करिब ८-९ ओटा निगम सुधारका लागि गठन भएका कार्यदलका साथै निगमका पूर्व अध्यक्ष सुशील घिमिरेसहितको कार्यदलले पनि कम्पनीमा लानको लागि सिफारिस गरेको थियो । सरकारले प्रस्तुत गर्ने हरेक वर्षको बजेटमा निगमको व्यवस्थापन सुधारको लागि रणनीतिक साझेदारी खोजिने छ भनेर उल्लेख हुँदै आएको छ । आगामी आर्थिक वर्षको बजेट २०७८-७९को बजेटमा पनि निगमलाई कम्पनी मोडेलमा लैजान प्रस्ताव गरिएको छ ।
सरकारले निगमको व्यवस्थापनका लागि विकल्पको मस्यौदा तयार गर्नको लागि आदेश भएअनुसार प्रबन्धपत्रको मस्यौदा तयार गरेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । “निगमले हाल विकल्प खुल्ला राखेर मन्त्रालयमा प्रस्ताव पेश गरेको हो । हामीले गर्नुपर्छ पनि भनेका छैनौं, गर्नु हुँदैन पनि भनेका छैनौं । मस्यौदा माग भए बमोजिम बुझाएको हो,” महाप्रबन्धक पौडेलले भने, आवश्यक छलफल गर्ने समय बाँकी नै छ, सरकारले निगमको व्यवस्थापन र हालको ऋण भुक्तानीको लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।”
बजेटमा व्यवस्था भए अनुसार अर्थ मन्त्रालयको माग बमोजिम मन्त्रालयले आवश्यक प्रकृया आगाडि बढाएको हो र यस विषयमा कुनै ठोस निर्णय नभएको पर्यटन सचिव यादव कोइरालाले बताए । उनले भने, “अर्थ मन्त्रालयबाट माग भएअनुसार निगमसँग मस्यौदा माग गरिएको हो र हाल निगमबाट प्राप्त मस्यौदामा मन्त्रालयले अध्ययन गरिरहेको छ । ट्रेड युनियनहरुले निगमको आगामी दिनमा बन्ने संरचनाको आधार नबुझी विरोध गरेका छन् ।”
अर्थ मन्त्रालयले आवमा भएको व्यवस्था कार्यान्वयनको लागि ०७८ जेष्ठ २८ मा बसेको बैठकले मन्त्रालय, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र निगमलाई अर्थले पत्राचार गरेको थियो । सो पत्रमा भनिएको छ, “संगठन पुनर्संरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाइने, खुला प्रतिस्पर्धाको माध्यमबाट राणनीतिक साझेदारी भित्र्याउन प्रकृया सुरु गर्न र निगमको सेयर पँुजी संरचना परिवर्तन गर्न आवश्यक धारणा, निगमको पुनर्संरचना गर्न निगमको प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा तयार गर्ने पर्यटन मन्त्रालयमार्फत यही असार १५ मा पेश गनुपर्नेछ ।”
तयार भएको मस्यौदा निगमले १४ असारमा मन्त्रालय पठाएको थियो । निगमको सञ्चालक समितिका सदस्य किशोरकुमार प्रधानको संयोजकत्वमा सदस्यद्वय ईश्वरी पौडेल र फुर गेल्जे शेर्पासहितको उपसमितिले कमिटीलाई प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरी असार १३ मा सचिवालयमा नियमावली ५२ बुँदे र प्रबन्त्रपत्र १५ बुँदे पेश गरेकोे थियो । सो मस्यौदा अध्यययनको क्रममा रहेको सचिव कोइरालाको भनाइ छ ।
तयार भएको प्रबन्धपत्रको ६ नम्बर बँुदामा अधिकृत पुँजी ५० अर्ब हुने, तत्काल जारी सेयर २० अर्ब हुने उल्लेख छ । दुई मोडेल प्रस्ताव गरेकोमा कम्पनी मोडेलमा पहिलो विकल्पमा संस्थापकको सेयर शतप्रतिशत हुने भनी उल्लेख गरिएको छ । दोस्रो विकल्पमा ५१ प्रतिशत संस्थापक सेयर हुने, ख्यातिप्राप्त विदेशी वायुसेवा कम्पनीलाई ३० प्रतिशत दिने, १४ प्रतिशत नेपाली हवाई सेवा, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई र ५ प्रतिशत निगमका कार्यरत बहालवाला तथा पूर्वकर्मचारीलाई दिइने गरी प्रवन्ध पत्रमा प्रस्ताव गरिएको छ ।
निगमको कार्यकक्षमा तालाबन्दी
शुक्रबार निगमको महाप्रबन्धक तथा निर्देशकहरुको कार्यकक्षमा ट्रेड यूनियनहरुले ताला लगाएका थिए । निर्देशकको ताला खोलेको भए पनि महाप्रबन्धकको कार्यकक्षमा लगाइएको ताला भने मंगलबार प्रहरीको सहायतामा प्रहरीले खोलेको थियो । महाप्रबन्धक भने सम्पर्कमा नआई प्रहरीको सहयोगमा ताला खोल्न लगाएकोमा भने अध्यक्ष कुँवरले विरोध जनाएका छन् ।
मंगलबार प्रहरी र निगम कर्मचारीबीच झडप हुँदा ५० कर्मचारी समान्य घाइते भएको र १ जनाको दाँतमा चोट लागेको अध्यक्ष कुँवरको भनाइ छ । यता महाप्रबन्धक पौडलले भने ट्रेड यूनियनका पदाधिकारीहरुलाई वार्ताको लागि पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको बताएका छन् । उनले भने, “प्रहरी प्रशासन लगाउनको लागि मैले कुनै जोडबल गरेको छैन । वार्ताको लागि व्यवस्थापन सम्पर्कमा आउँदा पनि ट्रेड यूनियनहरु सम्पर्कमा आएका छैनन् ।” कार्यकक्षमा ताला लगाएकाले निगममा आफु जाने वातावरण नभएको महाप्रबन्धक पौडेलको भनाइ छ ।