चितुवा पीडित ५९ परिवारले पाए क्षतिपूर्ति «

चितुवा पीडित ५९ परिवारले पाए क्षतिपूर्ति


पर्वतमा चितुवाको आक्रमणबाट क्षति बेहोरेका पीडितलाई राहत वितरण गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परेर घाइते व्यक्ति तथा पशुचौपाय मारिएका कारण पीडित भएका ५९ जना परिवारलाई नगद राहत वितरण गरिएको हो । डिभीजन वन कार्यालय पर्वतका अनुसार चालू आवका विभिन्न मितिमा चितुवाको आक्रमणपछि क्षति बेहोराका जिल्लाभरका ५९ पविारलाई राहत वितरण गरिएको जनाएको छ ।


कार्यालयका अनुसार झण्डै नौ लाख रुपैयाँ पीडितलाई वितरण गरिएको हो । यस वर्ष ८ लाख ९६ हजार ८२४ रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको छ । चितुवाको आक्रमणबाट तीनजना व्यक्ति घाइते भएका थिए भने बाँकी सबै पशुचौपाया आक्रमणमा परेका हुन् । डिभिजन वन कार्यालयका प्रमुख मेघराज पौडेलका अनुसार गत आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु भएको हो । क्षतिपूर्ति पाउन थालेपछि पीडित तथा कृषकहरूले राहत महसुस गरेका छन् ।


चितुवाको आक्रमणबाट क्षति पुगेका परिवारलाई क्षतिपूर्तिका लागि प्रदेश सरकारको सहयोगमा यसरी राहत वितरण गर्न थालिएको पौडेलले जानकारी दिए । चितुवाको आक्रमण पछि आवश्यक कागजातसहित दाबी गर्न आउनेलाई मूल्यांकन समितिको सिफारिसमा दररेट कायम गरी राहत उपलब्ध गराउने गरिएको उनले बताए । उनका अनुसार चितुवाले आक्रमण गरेपछि सम्बन्धित पीडितले घटनास्थलको मुचुल्का बनाएर ५ जनाको हस्ताक्षर गराउने, सम्बन्धित वडा र पालिकाबाट मूल्यसहित सिफारिस गर्नुपर्ने र नजिकैको सामुदायिक वनको सिफारिससँगै घटनाको तस्बिरसमेत उल्लेख गरेर वन कार्यालयमा बुझाएपछि मूल्यांकन समितिको निर्णयको आधारमा क्षतिपूर्ति रकम दिइने गरिएको छ । चितुवाले आक्रमण गरेको पशुपंक्षी गाडिएको हुनुपर्ने पनि कार्यालयले जनाएको छ ।


अहिले जिल्लामा बाख्राको हकमा बढीमा १० हजार र भैसी, गाईको बढीमा ३० हजार रुपैयाँसम्म क्षतिपूर्ति निर्धारण गरिएको कार्यालयले जनाएको छ । पर्वतमा गत वर्ष पनि २५ पीडित परिवारलाई राहत रकम वितरण गरिएको थियो ।
डिभिजन वन कार्यालय पर्वतका प्रमुख पौडेलका अनुसार चितुवा बस्ती वरपरका जंगलमा नै बस्ने भएकाले यसले घरेलु पशु चौपाय तथा मानिसलाई समेत आक्रमण गर्दै आएको बताए । उनले घरमा कुकुर पाल्ने हो भने पहिलो आक्रमण कुकुरलाई गर्ने हुँदा मानिस तथा पशु चौपाय बढी सुरक्षित हुने गरेको अनुसन्धानले देखाएको जानकारी दिए ।
पर्वतमा पछिल्ला केही वर्ष यता चितुवाको आक्रमणका घटना बढ्दै गएका छन् । बढ्दो वन फडानी र वन्यजन्तुलाई आहराको कमी हुँदा मानव तथा घरपालुवा पशुपंक्षीलाई आक्रमण गर्ने क्रम बढेको पाइएको सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्