आगामी मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्छ : परिसंघ «

आगामी मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्छ : परिसंघ


नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष सुझाव प्रस्तुत गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाको तर्फबाट मौद्रिक नीतिमा सुझाव पेश गरेका हुन् ।


सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले परिसंघको तर्फबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्दै त्यसलाई आगामी मौद्रिक नीतिमा समावेश गरेर अघि बढ्ने बताए । “तपाईंहरूले व्यावसायिक संगठनको हिसाबबाट जसरी सबै पक्षलाई समेटेर सुझाव दिनुभएको छ, त्यसलाई नेपाल राष्ट्र बैंकको सीमाभित्र बसेर कार्यान्वयन गर्ने नै छौं” गभर्नर अधिकारीले भने, “स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग वृद्धि गर्ने परिसंघको योजना सफल बनाउन राष्ट्र बैंकको तर्फबाट सधैं सहयोग रहनेछ ।”


गभर्नर अधिकारीले कोरोना प्रभावित उद्योग व्यवसायलाई बचाउन राष्ट्र बैंकले नीतिगत सहयोग गरिरहेको भन्दै अर्थतन्त्रको पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गरिने बताए । उनले राष्ट्र बैंकले दिएका नीतिगत सहुलियतको प्रभाव विश्लेषण गरेर अघि बढ्ने भन्दै निजी क्षेत्रका सुझाव यसका लागि महत्वपूर्ण हुने उल्लेख गरे ।
अध्यक्ष मोरले कोरोनाका कारण धेरै व्यवसायमा असर परेको भन्दै उनीहरूको निरन्तरता अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे । उनले गत वर्ष पनि मौद्रिक नीतिमार्फत् दिएका सुविधाले अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सहयोग गरेको भन्दै यस वर्षपनि राष्ट्र बैंकको ध्यान त्यसमै केन्द्रित हुनेमा आफू विश्वस्त रहेको बताए ।


अध्यक्ष मोरले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रको स्वरूपमा अघि बढाउन परिसंघले मेक इन नेपाल–स्वदेशी अभियान अघि बढाएको भन्दै त्यसले आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक पुनरुत्थान एवं उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमार्फत् संरचनागत सुधार र क्षेत्रगत सहुलियत एवं सुविधा उपलब्ध गराउन माग गरे ।
परिसंघले मौद्रिक नीतिको सुझावमा तरलता व्यवस्थापन, ब्याजदर वृद्धि नियन्त्रण, पुनर्कर्जा सुविधाको निरन्तरता र मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकले काम गर्नुपर्ने उल्लेख गरेको छ । यसैगरी सरकारले ठूलो मात्रामा आन्तरिक ऋण परिचालनको लक्ष्य राखेको र यसबाट विद्यमान तरलता प्रशोचित भइ संकुनच आउन सक्ने र ब्याजदर बढ्ने जोखिम न्यूनीकरणका लागि ध्यान दिन पनि परिसंघले सुझाव दिएको छ । यसका लागि सीसीडी, सीआरआर, एसएलआर तथा अन्य दरहरूमा लचकता अपनाउने नीति लिनुपर्ने सुझाव दिइएको छ ।


कोरोनाको पहिलो तथा दोस्रो लहरको गम्भीर प्रभाव उद्योग÷व्यवसायमा परेकाले बैंकको किस्ता तथा ब्याज भुक्तानीमा समस्या पर्दै गएको र कोरोना पछिको सामान्य अवस्था आउन अझै केही समय लाग्ने भएकाले ऋण तथा ब्याजको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिइनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । नवप्रवर्तन तथा उद्यमशीलता विकास गरी स्वरोजगारी एवं रोजगारी सिर्जनामा योगदान गर्न धितोमा आधारित कर्जा प्रवाह गर्ने परिपाटीलाई परियोजनामा आधारित कर्जा प्रवाहमा लैजानुपर्ने परिसंघको सुझाव छ ।

परिसंघले वाचलिस्ट सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न पनि राष्ट्र बैंकलाई अनुरोध गरेको छ । यसैगरी ठूला र साना तथा मझौला उद्योगका लागि अलग–अलग पुनर्कर्जा कोष बनाइ कार्यान्वयनमा ल्याउन र पुनर्कर्जाको सीमालाई कूल कर्जाको २० प्रतिशत वा २० करोड रूपैयाँमध्ये जुन धेरै हुन्छ त्यही कर्जा सुविधा लिन पाउने व्यवस्था गर्न पनि परिसंघले माग गरेको छ ।


आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा दिइएका सुविधा तत्काल कार्यान्वयन गर्ने गरी मौद्रिक नीतिमार्फत् स्पष्ट व्यवस्था गर्न पनि परिसंघले माग गरेको छ । कोरोनाबाट अति प्रभावित पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा प्रवाहित कर्जाको ब्याजदरलाई ५ प्रतिशतमा सीमित राखिनुपर्ने माग पनि परिसंघले गरेको छ ।
परिसंघले ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। यसैगरी ब्लेन्डेड फाइनान्स र हेजिङको स्पष्ट कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउन परिसंघले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्