निर्णयमा महिला अभियान «

निर्णयमा महिला अभियान

अछाम- ‘सबैभन्दा पहिला निर्णयमा महिला’ भन्दै अछामको रामारोशन गाउँपालिकाले महिला केन्द्रित बजेट तथा कार्यक्रमलाई महिलाको मागका आधारमा परिचालन गर्ने भएको छ । महिला जनप्रतिनिधि, महिला अगुवा र महिला शिक्षकहरूको कार्यशालामार्फत ५ वर्षे कार्ययोजना निर्माण गरी गाउँपालिकाले यो प्रक्रिया अवलम्बन गरेको हो ।
महिला लक्षित कुनै पनि परियोजना वा गाउँपालिकाका योजना तथा कार्यक्रम उनीहरूकै आवश्यकतामा आधारित रहेर महिलाको मागअनुसार गाउँ कार्यपालिकाले बजेट पारित गर्ने गरी पञ्चवर्षीय योजना तयार पारिएको गाउँपालिका अध्यक्ष झंकर साउदले बताए । अध्यक्ष साउदले भने, “महिलाको शीर्षकमा विनियोजन हुने बजेटमा महिलाको निर्णयलाई नै पहिला कार्यान्वयन गरिने छ, जसका लागि यहाँका महिलाले पञ्चवर्षीय कार्ययोजना समेत तयार पारेका छन्, हामीले त्यसलाई ग्रहण गरेका छौं ।”
यस अभियानअन्तर्गत महिलाले छाउपडी कुप्रथा अन्त्य, महिला हिंसा र घरायसी कार्यबोझ कम गर्ने तथा आयआर्जनका क्रियाकलापमा महिलालाई अग्रसर गराउने खालका थुप्रै योजना ल्याएका जनाइएको छ ।
यसबाट लैंगिक हिंसा अन्त्य गर्नका लागि फरक ढंगले अघि बढ्न मद्दत गर्ने पनि गाउँपालिकाले जनाएको छ । महिलाको आवश्यकता उनीहरूबाटै आओस् भन्ने हेतुले पञ्चवर्षीय कार्ययोजना बनाई जसको सवाल उसैको नेतृत्व स्थापित गर्न खोजिएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । यसबाट निर्णय तहमा महिलाको अर्थपूर्ण सहभागिता गराउन र आफ्नो योजना आफैं बनाएर कार्यान्वयन गर्नमा सहयोग पुग्ने रावलको विश्वास छ । पञ्चवर्षीय योजनामा महिलाका क्षेत्रमा चुलोदेखि स्थानीय सरकार सञ्चालनसम्मका योजना तयार पारिएको बताइएको छ । उपाध्यक्ष रावलले भनिन्, “कार्ययोजना कुरिती न्यूनीकरणको प्रयास हो, सामाजिक जागरण र नीति निर्माण तहमा महिलाको सशक्त उपस्थिति गराउने माध्यम हो ।”
गाउँपालिकाका महिलाले तयार पारेको पञ्चवर्षीय कार्ययोजनामा रामारोशनका सबै वडामा खानेपानी निर्माण, पूर्ण सरसफाइ, छाउगोठ मुक्तअभियान, घरबारी बगैंचा, सार्वजनिक शौचालय निर्माणजस्ता क्षेत्रमा योजना निर्माण भएका रुडेक नेपालका फिल्ड संयोजक नरबहादुर साउदको भनाइ छ ।
यस्ता क्रियाकलापमा ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनामार्फत पनि काम गरिने जलस्रोत अधिकृत कृष्ण रावलको भनाइ छ । यसबाट गाउँपालिकाले सञ्चालन गरेको अभियान थप प्रभावकारी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्