सीमा समस्या समाधानका लागि संघ सरकारसँग समन्वय गरिने «

सीमा समस्या समाधानका लागि संघ सरकारसँग समन्वय गरिने


सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले सीमा समस्या सामाधानको लागि संघ सरकारसँग समन्वय गरिने बताएकी छिन् ।
सोमबार कञ्चनपुर जिल्ला स्थित भारतसँग सीमा जोडिएका क्षेत्रहरुको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री जोशीले जिल्लास्थित सीमा समस्या सामाधानको लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको उनले बताएकी हुन् ।


कोरोना कालपछि सीमा क्षेत्रको अवस्था बुझ्न कञ्चनपुर पुगेकी कानून मन्त्रीले सीमा समस्या प्रदेश सरकारले मात्रै हल गर्न नसक्ने भन्दै त्यसको हलको लागि संघ सरकारसँग प्रदेश सरकारले समन्वय गरिरहेको बताइन् । “कञ्चनपुर जिल्लाको हकमा भारतसँग जोडिएका विभिन्न क्षेत्रमा सीमा समस्या रहेको अवस्था छ, सीमा समस्याको बारेमा सीमामा तारजाली लगाउनुपर्छ भन्ने आवाज पनि सुदूरपश्चिम प्रदेश सभामा उठेको अवस्था छ,” कानून मन्त्री जोशीले भनिन्, “तसर्थ जिल्लामा उत्पन्न सीमा समस्यालाई हल गर्न प्रदेश सरकार संघ सरकारसँग समन्वयकारी भूमिकामा रहेको छ, आवश्यक निष्कर्ष निकालेर सीमा समस्या हल गर्नेतर्फ प्रदेश सरकार लागिपरेको अवस्था छ ।” यस्तै जिल्लाका अधिकांश क्षेत्रमा विओपी राखिएको भए पनि विओपीको व्यवस्थापनको लागि पनि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ ।


यसैगरी भारत सँग सीमा जोडिएको सीमा क्षेत्र पनि व्यवस्थित गरिने भएको छ । मन्त्री जोशीका अनुसार कञ्चनपुर जिल्लाको गड्डाचौकी र गौरीफन्टा नाकालाई कोरोना माहामारीको जोखिमलाई न्युनिकरण गर्नको लागि प्रदेश सरकारले थप व्यवस्थित गर्ने योजना छ ।
“कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गरेर त्यसको व्यवस्थापनको लागि पनि प्रदेश सरकारले आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको छ र आवश्यक तयारीमा पनि प्रदेश सरकार लागेको छ,” कानून मन्त्रीले भनिन्, “नेपालसँग सीमा जोडिएका भारतका सीमा क्षेत्रहरुमा कसरी निगरानी बढाउने र सम्भावित कोरोना महामारीको जोखिम न्युनिकरण गर्ने भन्ने कुुराहरु अगाडि बढाएको अवस्था छ ।” कैलाली र कञ्चनपुरका सीमा क्षेत्रलाई व्यवस्थित गर्ने प्रदेश सरकारको योजना छ । यो सँगै केही समयपछि भारत सँग जोडिएका पहाडी जिल्लाका सीमानाका क्षेत्रहरुलाई पनि व्यवस्थि गर्ने प्रदेश सरकारको योजना रहेको उनले बताइन् ।


जिल्लाको भारतसँग जोडिएको सीमाक्षेत्रको २० स्थानमा विओपी स्थापना भएका छन् भने केही स्थानमा अझ विओपी थप्ने योजना रहेको छ । अनुगमनमा मन्त्रीसँगै कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्द, प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला निकायको अनुगमन कार्यक्रममा सहभागिता रहेको थियो । सोमवार मन्त्री सहितको अनुगमनको टोलीले गड्डाचौकी नाका, सीमा सुरक्षा बल सशस्त्र प्रहरीको गड्डाचौकी स्थित चेकपोष्ट लगायत ठाउँहरुको पनि अनुमगन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्