राष्ट्रियसभामा राजनीतिदेखि खोपसम्म «

राष्ट्रियसभामा राजनीतिदेखि खोपसम्म

राष्ट्रिय सभाको सोमबारको बैठकमा सदस्यहरुले समसामयिक राजनीति तथा अन्य विषयमा आफ्नो धारणा राखेका छन् ।
बैठकको विशेष समयमा जसपाका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम र जालझेल गर्न थालेको आरोप लगाए । जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको उनले बताए । उनले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दै कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गरे ।
राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेबसाइटहरुमा नेपालको पूरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गरे । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए। अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको टिप्पणी देवकोटाले गरे।
दीर्घनारायण पाण्डेले राजनैतिक रुपमा देश विभाजन हुनु गम्भीर भएको बताए । राष्ट्रियसभामा पहिलोपल्ट बोल्दै सदस्य पाण्डेले राष्ट्रियराजनीतिमा ठूलो दल विभाजन उन्मुख हुनु दुखद भएको टिप्पणी गरे । सरकारले लिएको नीतिले विकाश निर्माण र शासन व्यवस्था नै केन्द्रिकृत हुन पुगेको आरोप पनि उनले लगाए । राष्ट्रिय सहमति बनाएर जान सके संघीयता तथा लोकतन्त्र विरुद्धको आवाज निस्तेज पार्न सक्ने उनले बताए ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रतिगमन विरुद्ध राष्ट्रियसभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाए । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप उचालेर प्रतिकात्मक रुपमा विरोध जनाएको बताए । शिर देखि पाउ सम्म कालो पोशाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रुपमा क्याप प्रस्तुत गरेको बताए । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाका जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोशाकमा उपस्थिति भएर सभामा नै प्रतिगमनको विरोध गरेको उनले बताए ।
राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिए । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिएका हुन् । उनले मुलुक प्रतिगमन र अग्रगमनको द्ध्रन्द संघर्षबाट गुज्रिरहेको बताए । प्रतिगमन पनि आफ्नै योजना अनुसार सम्पूर्ण संविधान र लोकतन्त्रलाई समाप्त गरेर अघि बढेको भएपछि उत्कर्ष विन्दुमा नपुगेका कारण आफूहरु राष्टियसभामा रहेको उनले बताए । प्रधानमन्त्री ओलीको स्वार्थ केन्द्रीत सत्तालिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पु¥याएको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गरे । श्रेष्ठले सरकारले भोट माग्ने अस्त्रको रुपमा कालीगण्डकी तिनाउ डाईभर्सन परियोजना अघि बढाएर संघीयताको हत्या गरेको टिप्पणी गरे । राष्ट्रियसभा सदस्य श्रेष्ठले सबै जनतालाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन तथा कोभिड तेश्रो लहरको पूर्व तयारीमा जट्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्