कुरी क्षेत्रमा नयाँ संरचना बनाउन नपाइने «

कुरी क्षेत्रमा नयाँ संरचना बनाउन नपाइने

चरिकोट-धार्मिक एवं पर्यटकीय महत्वको प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्रमा नयाँ संरचना निर्माणमा रोक लागेको छ । अनियन्त्रित रूपमा विभिन्न होटल लगायतका संरचना बन्दै गएकोमा त्यसलाई अब नयाँ संरचना निर्माण गर्न नपाइने भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा बसेको उच्चस्तरीय छलफलले कालिञ्चोक क्षेत्रमा अनियन्त्रित रूपमा बनिरहेको संरचनाले कालिञ्चोक क्षेत्र कुरुप र अव्यवस्थित हुँदै गएको भन्दै नयाँ संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको हो । संघीय सांसद्, प्रदेश सांसद्, जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायका प्रतिनिधिले कालिञ्चोकको कुरी तथा घ्याङडाँडा क्षेत्र अव्यवस्थित रूपमा भएको निर्माण रोक्नुपर्ने धारणा राखेका थिए ।
कालिञ्चोक क्षेत्रमा अनियमित रूपमा प्राकृतिक सौन्दर्यलाई नै कुरुप बनाउने गरी अतिक्रमण हुन थालेपछि त्यसको जनस्तरमा विरोध हुन थालेको छ । कालिञ्चोक क्षेत्रमा अव्यवस्थित र अनियमित रूपमा संरचना निर्माण तीव्र भएका बेला प्रमुख जिल्ला अधिकारीको पहलमा छलफल राखिएको हो ।
छलफलले नयाँ संरचना निर्माणमा रोक लगाउनुका साथै बनिसकेका संरचनालाई आन्तरिक व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । आधा बनेका संरचना भने सम्पन्न गर्न दिने सहमति भएको छ । हाल सो क्षेत्रमा कालिञ्चोक दर्शन लिमिटेडले केबलकार निर्माण गरी सञ्चालनमा ल्याएकोमा त्यसलाई समेत आवश्यक सहयोगसहित व्यवस्थापन गर्ने सहमति गरिएको छ ।
केबलकारले तिर्नुपर्ने भू–बहाल कर कसले उठाउने भन्ने विषयमा विवाद भएपछि हाललाई जिल्ला गुठी व्यवस्थापन समितिको खातामा जम्मा गर्ने सहमतिसमेत भएको छ । तर कालिञ्चोक गाउँपालिकाले कालिञ्चोक क्षेत्रको कर आफैंले संकलन गर्न पाउनुपर्ने माग राखेकाले गाउँपालिकालाई नै त्यसको जिम्मा दिने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
कालिञ्चोक क्षेत्रको जमिनको स्वामित्वको बारेमा सरकारी निकायबीचको विवाद भने कायमै छ । हाल गुठी संस्थान, वन कार्यालय, गौरीशंकर संरक्षण क्षेत्र तथा स्थानीय निकायबीच त्यहाँको स्वामित्वको बारेमा विवाद हुँदै आएको छ । कालिञ्चोक दर्शन लिले गुठी संस्थानबाट अनुमति लिई केबलकार निर्माण गरेपछि स्वामित्वको विवाद हुँदै आएको थियो ।
२ वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले आफ्नै अध्यक्षतामा जिल्लास्तरीय गुठी समिति बनाएर कुरी क्षेत्रमा जग्गा भाडामा समेत दिएका थिए । एक वर्ष केबुलकार र होटलले आफूले भोग चलन गरेको जग्गाको भाडा गुठीलाई तिरे तापनि अहिले पुनः रोकिएको छ ।
प्रदेश सांसद् विशाल खड्काले जग्गाको स्वामित्वको विषय कानुनी भएकोले गुठी र संरक्षण क्षेत्रलाई अदालत जान आग्रह गरे । उनले भेडपु गाउँका जनता वर्षौँदेखि सुकुम्वासी हुँदा चासो नराख्ने गुठीले कालिञ्चोकको जमिनमा अनावश्यक चसो राखेको गुनासो गरे । उनले भने, “तर जग्गाको स्वामित्वको विवाद व्यवसायीलाई मर्का पार्नु हुँदैन, केबलकार सञ्चालनमा बाधा गर्नुहुँदैन ।” जग्गा विवाद कानुनी विषय भए पनि कालिञ्चोकको संरचनाको विषय आन्तरिक व्यवस्थापनको विषय भएको उनले बताए ।
अर्का प्रदेश सांसद् पशुपति चौलागाईंले कालिञ्चोकको जग्गा विवादको विषयसँगै जिल्लाका सबै ठाउँको त्यस्ता प्रकृतिका जग्गाको व्यवस्थापनको पहल गर्नुपर्ने बताए । केबलकारको विवादको प्रसंगमा उनले लगानीकर्तालाई लगानीको वातावरण दिनुपर्ने बताए । उनले लगानीकर्तालाई दोलखामा लगानी गरेर कर तिर्नसमेत आग्रह गरे ।
संघीय सांसद् पार्वत गुरुङले जिल्लाभरि यसरी भएका अतिक्रमण रोक्ने गरी लाग्नुपर्ने बताए । उनले त्यसका लागि अध्ययन टोली बनाउन सुझाए । तर डिभिजन वन कार्यालय दोलखाका प्रमुख प्रवीण विडारीले वन क्षेत्रको जग्गा जथाभावी अरुले भाडामा लगाउन र उपभोग गर्न नपाउने बताए ।
कालिञ्चोक क्षेत्रमा एक दशकअघि सडक पुगेर गाडी चल्न थालेपछि आन्तरिक पर्यटकको गन्तव्य बन्दै आएको छ । अहिले कालिञ्चोक क्षेत्रमा साना ठूला गरी ६० बढी होटल सञ्चालनमा छन् । अन्यत्र पनि नयाँ ठाउँमा जथाभावी डोजर लगाएर भत्काउन थालेको छ । २ वर्षअघि जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वन समूहले अनियमित रूपमा बनेका संरचनासमेत भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्