असुरक्षित बन्दै नेपालको पर्यटन क्षेत्र «

असुरक्षित बन्दै नेपालको पर्यटन क्षेत्र

प्रहरी मुख्यालयका अनुसार गएको दुई वर्षयता १६ देशका २३ जना पर्यटक हराएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

‘अतिथि देवो भवः अर्थात् पाहुना देवतासरह हुन् ।’
पहिले–पहिले यसो भन्ने गरिए पनि अब यो मान्यता नेपालमा असफलप्रायः भइसकेको छ । हाम्रो धार्मिक मान्यताले नेपालमा अतिथिलाई देवतासरह मान्ने गरिएको यथार्थ हो, तर अब भने यस्तो मान्यता रद्दीमा फालिएझैं भएको प्रस्ट छ । विगत केही वर्षयता नेपालमा घुम्न आएका पाहुना पर्यटकहरू दैनिकजसो लुटिने गरेको तथ्याङ्क सार्वजनिक भएसँगै नेपालको पुरानो मान्यता पनि असफल भएको हो कि भनेर सहजै अनुमान गर्न सकिन्छ । मान्यता असफल मात्र भएन, केही व्यक्तिको सीमित स्वार्थले देशको छवि अन्र्तराष्ट्रिय क्षेत्रमै धमिलो बन्ने अवस्था पनि आएको छ ।
नेपालमा पर्यटकीय सम्भावना बोकेका अनेकौं विषय छन् । यहाँको हिमश्रृंखला, हरियाली वातावरण, विश्वलाई नै चिनाउने थुप्रै धार्मिक मठमन्दिरका साथै यहाँको कला, नदीनाला, तालतलैयालगायतले पर्यटकहरूलाई आकर्षित गराउनु स्वाभाविक नै हो । नेपाल भ्रमणमा आउने गरेका पर्यटकहरू विभिन्न बहानामा ठगिने र लुटिने गरेको समाचारसँगै पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि पनि धमिलो बन्न पुगेको छ । प्रायःजसो दुर्गम भनिएका र हिमाली जिल्लामा ट्रेकिङका लागि जाने गरेका पर्यटकहरू लुटिने गरेको सुनिंदै आएको थियो, तर अहिले त उपत्यकाभित्रै दिउँसै पर्यटकहरू लुटिने गरेको तथ्याङ्क बताउँछ ।
हुन त नेपाल भ्रमणमा यही देशका यति नै पर्यटकहरू घुम्न आउँछन् भनेर ठ्याक्कै भन्न नसकिए पनि ६० भन्दा बढी देशका करिब १२ लाख पर्यटक बर्सेनि नेपाल भ्रमणका लागि आउने गरेको देखिएको छ; जसमध्ये अमेरिका, जापान, बेलायत, चीन, अस्ट्रेलिया, क्यानडालगायत देशबाट आएका पर्यटकहरू बढी मात्रामा लुटिने गरेका छन् । किनकि उनीहरूले महँगा खालका क्यामेरा, ल्यापटप, मोबाइल र विदेशी मुद्राहरू बोकेर आउने गरेका छन् । यसकै कारण उनीहरू चोर र डाँकाहरूका निसानामा पर्ने गरेको प्रस्टै छ । यस वर्ष मात्रै देशभरि ५ सय ६९ जना पर्यटकहरू विभिन्न आपराधिक गिरोहहरूका सिकार भएका छन् । अघिल्लो वर्ष राजधानीभित्रै ३९ जना पर्यटक लुटिएका थिए । यो वर्ष राजधानीमै लुटिने पर्यटकहरू १७ जना छन् । त्यस्तै गत वर्ष देशभरिमा ३ सय ८ जना लुटिएका थिए भने यस वर्ष यो संख्या बढेर ३ सय ३३ पुगेको प्रहरीको तथ्याङ्कले देखाएको छ । यो त थाहा भएको घटना मात्र हो, थाहै नभई कति पर्यटक कहाँ लुटिए, यसै भन्न सकिने अवस्था छैन ।
पछिल्ला केही दिनयतादेखि राजधानीका पर्यटकहरूको भीड धेरै हुने स्थानहरू वसन्तपुर, पाटन, भक्तपुर लगायतमा पर्यटकहरू ठग्न र लुट्न पल्किएकाहरूको गिरोह नै सक्रिय रहेको पाइएको छ । यस्ता घटनाहरू बढिरहेको र संलग्न केहीलाई पक्राउ गरिसकिएको महानगरीय अपराध महाशाखाको तथ्याङ्कमा उल्लेख छ । कतिपय अपराधी फरार छन् । अपराधीहरूले पर्यटकहरूका क्यामेरा, पर्सलगायत झोलाहरू पनि लुट्ने गरेका छन् । त्यसैले यस्ता गिरोहहरूबाट बच्नका लागि पर्यटकहरूलाई नेपाली जागरूक युवाहरूले सहयोग गर्नु आवश्यक रहेको महाशाखा बताउँछ । प्रहरीकै अर्को एक तथ्याङ्कअनुसार गत वर्ष ठगिने पर्यटकहरू २२ जना रहेकोमा यो वर्ष बढेर ४२ जना पुगेको छ ।
एक महिनाअघि अस्ट्रेलियन पर्यटक क्याट्रिन पाथको पर्स उनी बसेको ठमेलको एक होटलबाट हरायो । उनले होटलवालालाई सबै बताएपछि प्रहरीको सक्रियतामा अपराधी त पक्राउ गरियो, तर उनको सबै नगद फिर्ता दिलाउन सकिएन । पर्ससँगै हराएका क्यामेरा, ल्यापटपलगायतका सामानहरू भने फिर्ता गराउन सकियो । उनले सामान हराएकोमा दुःख व्यक्त गर्नुभन्दा पनि फेला परेकोमा धेरै खुसी व्यक्त गरिन् । तर, यस वर्ष उनीजस्ता धेरै पर्यटकले आफ्नो हराएको सामान फिर्ता पाउन सकेनन् । यस्ता अभागी पर्यटकहरूमध्ये १ सय १७ जनाले आईफोन गुमाए । त्यस्तै ९९ वटा क्यामेरा, ३६ वटा आईप्याड र १९ वटा ल्यापटप पनि गुमाएका छन् उनीहरूले ।
यी त पर्यटकहरूका सामानहरू हराएका कुरा भयो । कतिपय अवस्थामा नेपाल घुम्न आएका पर्यटकहरू नै हराएको पनि पाइएको छ । प्रहरी मुख्यालयका अनुसार गएको दुई वर्षयता १६ देशका २३ जना पर्यटक हराएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । हिमाली भेगतिर ट्रेकिङ जाने क्रममा उनीहरू हराएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ, तर फेला पर्ने सम्भावना पनि ज्यादै न्यून छ । किनकि सम्भाव्य सबै ठाउँमा प्रहरीले सक्रियताका साथ खोजतलास गरिसकेको छ, तर पनि झिनो आशा जीवितै भएको प्रहरी बताउँछ ।
पर्यटकहरूलाई अनावश्यक रूपमा सताउने, सामान बेच्न खोज्ने र लुट्ने जस्ता क्रियाकलाप गर्न नहुने भए पनि यस्ता घटनामा पनि कमी नआएको प्रहरी बताउँछ । विशेष गरी पर्यटकहरू धेरै आउने राजधानीका व्यस्त पर्यटकीय गन्तव्यहरू वसन्तपुर, पाटन, भक्तपुरलगायतमा उनीहरूलाई दिक्क पार्ने गरी घुमन्ते व्यापारीहरू सामान किन्न कचकच गरिरहेका देखिन्छन् । यो पक्कै पनि राम्रो होइन । स्थानीय प्रशासनले यस्तो काम हटाउन पहल गर्नु जरुरी छ । आगामी दिनहरूमा यस्ता क्रियाकलाप घटाउन प्रहरी सक्रिय भएर लाग्ने र पर्यटकहरूले पनि आफू सचेत हुन सके मात्र यस्ता घटनामा कमी आउने महाशाखाको भनाइ छ । पर्यटकहरूलाई अभद्र व्यवहार गरेको पाइएमा खबर गरिदिन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।
हामी विदेश जाँदा त्यहाँका नागरिकले आफूहरूलाई राम्रो व्यवहार गरे हुन्थ्यो ठान्छौं, तर यहाँ आएका पर्यटकहरूलाई जे पायो त्यही व्यवहार गर्छौं, सम्मान पनि गर्न जान्दैनौं । आफूले राम्रो व्यवहार गरे पो अरूले पनि आफूलाई राम्रो गर्छन् भन्ने कुरा सायद हामीले भुलिसकेका छौं, अनि हाम्रै व्यवहारले देशमा पर्यटन उद्योग धराशायी भएको र समग्र देशको अर्थतन्त्र पनि बिग्रिएकोतिर अलिकति पनि ख्याल गरेका छैनौं । यो असल नागरिकको काम हो र ? यतातिर सोच्नैपर्छ ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका राजधानीका मुख्य गन्तव्यहरू हनुमानढोका, पाटन, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, स्वयम्भूलगायतका स्थानमा स्थानीय व्यापारीहरूले पर्यटकहरूलाई हैरान पारिरहेका दृश्य तिनै पर्यटकहरूले खिचेर आफ्नो देशमा लैजान्छन् । त्यहाँ लगेर देखाउँछन्, यो भनेको हाम्रो पनि त बेइज्जत हो नि । यति मात्र होइन, कतिपय अवस्थामा जोगीहरूले पनि उनीहरूलाई दुःख दिने गरेका छन् । पर्यटकहरू हाम्रा पाहुना हुन् । उनीहरूले यहाँ घुम्दा, खाँदा, बस्दा गर्ने गरेको खर्च हाम्रो आम्दानी हो । उनीहरूलाई दुःख दिइने कार्यले आगामी दिनहरूमा देशमा आउने पर्यटकहरूको संख्यामा कमी आउन सक्छ । त्यसैले उनीहरूलाई आफ्नै परिवार सरह व्यवहार गर्नु आवश्यक छ ।
उनीहरूलाई दुःख दिएर, लुटेर केही व्यक्तिले त फाइदा कमाउलान्, तर यसले देशको समग्र पर्यटन क्षेत्रमै नकारात्मक असर पुग्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ; अन्यथा यस्तो कार्यले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बदनाम पनि हुनेछ भने देशले पर्यटन उद्योगमा ठूलो घाटा पनि बेहोर्नुपर्नेछ । अब यस्ता घटनामा संलग्नहरूलाई सरकारले कडाभन्दा कडा कारबाही गर्न सरकारले पर्यटन नीतिमै उल्लेख गरी रचनात्मक काम गर्नु आवश्यक देखिएको छ । यसो गर्न सके यो नै पर्यटकीय क्षेत्रको एउटा उल्लेख्य प्रगतिका रूपमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्