दैनिक सेयर कारोबार चार अर्बमा झ-यो «

दैनिक सेयर कारोबार चार अर्बमा झ-यो


एक महिनाअघि दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको सेयर बजारको कारोबार चार अर्बमा झरेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक र कारोबार रकम घट्न थालेको हो ।
सोमबार पनि नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्से ११.७८ अंकले घटेर २८२२.७३ अंकमा झरेको छ । यसदिन २२४ कम्पनीका एक करोड सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड बराबरको सेयर कारोबार भएको छ ।
आर्थिक गतिविधि प्रभावित भएसँगै अन्य क्षेत्रको लगानीयोग्य रकमसमेत पुँजी बजारमा आइरहेको तथा बैंकको व्याजदर एकल अंकमा हुँदासमेत बजार लगातार वृद्धि भएको थियो ।
जेठ अन्तिममा नेप्से ३ हजार भन्दामाथि पुग्दा बजारमा एकैदिन २० अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । नेपाल धितोपत्र बोर्डको जोखिमयुक्त कम्पनीको नामसहितको विज्ञप्तिपछि लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न थालेपछि बजार ओरालो लाग्न थालेको हो । यसैगरी बजारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीमा कडाइ गर्ने हल्लाले समेत प्रभावित पारेको छ ।
नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई अल्पकालीन सेयर कारोबारमा कडाइ गरेपछि कारोबारमा प्रभाव परेको हो । सोमबार बजारमा नेप्सेसँग अधिकांश समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन व्यापार समूह १३२.२, उत्पादन २३१.७४, अन्य ८.७१, म्युचुअल फण्ड ०.०६ र लगानी समूह ०.५९ अंकले बढेका छन् ।
यसैरी बजारमा बाहुल्यता रहेको बैंकिङ समूह ७.०२ अंकले घटेको छ । यसैगरी होटल तथा टुरिजम ५९, विकास बैंक १०२.४२, जलविद्यत ५३.६९, फाइनान्स ५७.०६, निर्जीवन बिमा १५६.६२, माइक्रोफाइनान्स ३४.१८ र जिवन बिमा १३६.२२ अंकले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्