विदेशको कमाइ, १२ लाख लगानीमा काठेपुल «

विदेशको कमाइ, १२ लाख लगानीमा काठेपुल

धनगढी-कृष्णपुर नगरपालिका–९ का युवाले स्थानीयलाई नदीमा ओहोर–दोहोर गर्न समस्या हुन थालेपछि काठेपुल निर्माण गरेका छन् । स्थानीय युवा विनोद भट्ट र ज्ञानबहादुर चौधरीले विदेशमा कमाइ गरेको पैसाले काठेपुल निर्माण गरेका हुन् ।
काठेपुल निर्माणमा १२ लाख रुपैयाँ लागत लागेको छ । स्थानीयलाई व्यापार–व्यवसाय र उच्च शिक्षाका लागि मोहना नदीमा पुल नहँुदा सास्ती भोग्दै आएका थिए । काठेपुल बनेपछि कृष्णपुरका राजघाटवासी हर्षित भएका छन् । लामो समय विदेशमा कमाई गरी ल्याएको पैसाले ती दुई युवाले काठेपुल निर्माण गरेका हुन् ।
तीन वर्षमै काम सक्नेगरी २०७१ सालमा निर्माणको जिम्मा लिएको केएस एडभेन्चर जेभीले ५ वर्षसम्म पनि धनगढी–राजघाट नदीको पक्की पुल निर्माण सम्पन्न गर्न सकेको छैन । काममा ढिलाइ भइरहेको पुलको अहिले आएर निर्माण कामले गति लिए पनि पुल चाँडै बन्ला भन्ने विश्वास नभएका कारण काठेपुल निर्माण गरेको काठेपुल लगानीकर्ता ज्ञानबहादुर चौधरी बताए ।
आ.व. ०७३÷७४ मा धनगढी–राजघाट जोड्ने पक्की पुल निर्माणका लागि १८ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम अपुग भएपछि पुल निर्माणकार्यको म्याद थप भएको हो । निर्माण व्यवसायी चन्द्रशेखर मल्लले आवश्यक सामग्री राखिसकिएको र निर्माणका लागि बजेटको व्यवस्था भएमा चाँडै काम सक्ने दाबी गरे पनि पुल निर्माणकार्य अझै पनि सुरु हुुन सकेको छैन ।
काठेपुल निर्माण भएपछि कैलालीको धनगढी उपमहानरपालिकाका बोराडाँडी, चटकपुर, राजपुर, भन्सारलगायतका स्थान जोडिने पुगेका छन् । त्यसैगरी कञ्चनपुरको राजघाट, गुलरीया, बाइसेबिचुवा, मौरीफाँटालगायतका ठाउँ पनि जोडिएका छन् । पुलमा सवारी साधन लगेवापत मोटरसाइकलको २० रुपैयाँ, साइकलको १० र अटोको ३५ रुपैँया ओहोर–दोहोर शुल्क तोकेको छ । पुलका लगानीकर्ताले स्कुले विद्यार्थीलाई भने शुल्क लिने गरेका छैनन् ।
कृष्णपुरका राजघाटवासी किसानले उत्पादन गरेका तरकारीह पुल नहुँदा बजारमा निर्यात गर्न सकिरहेका थिएनन् । काठेपुल निर्माण भएपछि तरकारीले समेत बजार पाएको स्थानीय कृषक दशरथ चौधरीले बताए । उनले भने, “हाम्रा लागि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर टाढा पर्ने भएकाले खेतीबारीमा उत्पादन भएका तरकारी लगायतका वस्तु कैलालीको सदरमुकाम धनगढी बजारमा बेचबिखन गर्न सहज भएको छ । राजघाटबाट कञ्चनपुरको सदुरमुकाम ५० किमि टाढा छ भने कैलालीको सदरमुकाम धनगढी ४ किमि टाढा छ ।
बर्सेनि राजघाटबाट उच्च शिक्षाका लागि धनगढी आउने विद्यार्थीले अकालमै ज्यान गुमाउनु परेको थियो । काठेपुल निर्माण भएपछि विद्यार्थीलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्