‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरू «

‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरू


स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ ।
नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकमडटएनपी वेबपोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो ।
यो अभियानमा आवद्ध हुन चाहने स्वदेशी उद्योग÷व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पूरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउने छ । वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत् नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।
यो अभियानअन्तर्गत वार्षिक एक हजार उद्योग दर्ता, कूल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पु¥याउने, वार्षिक १ हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा ४ अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको नेपाल उद्योग परिसंघले जनाएको छ ।
“स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल–स्वदेशीको लक्ष्य हो” नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, “यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोग बढाउने लक्ष्य राखेको छ ।”
यो अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गरेका थिए । अभियान कार्यान्वयनका लागि यही असार १० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परिसंघबीच समझदारीमा हस्ताक्षर भइसकेको छ ।
यस अभियानलाई व्यापकरूपमा अगाडि बढाउन नेपाली वस्तु र सेवामा प्रयोग गर्ने गरी लोगोको पहिचान गरिएको छ । नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभइकन यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर वृद्धि गर्नु, बजारको माग र निर्यात सम्भाव्यतासमेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन र प्रवद्र्धन गर्नु आवश्यक हुने परिसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्