अर्थ र ऊर्जामन्त्रीकै जिल्लाका उद्योगीहरू विद्युत्बाट पीडित «

अर्थ र ऊर्जामन्त्रीकै जिल्लाका उद्योगीहरू विद्युत्बाट पीडित


वर्तमान मन्त्रीमण्डलका मुख्य सदस्य अर्थ, गृह, ऊर्जालगायत विभिन्न मन्त्रालय सम्हालेका वरिष्ठमन्त्री विष्णुप्रसाद पौडेलेको गृहजिल्ला रुपन्देहीका उद्योगी व्यवसायीहरू नेपाल विद्युत् प्राधिकरणका कारण पीडित भएको जनाउँदै उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको जनाएका छन् ।
जबरजस्ती लादिएको ट्रन्कलाइन विद्युत्वापतको बिल भुक्तान गर्न बिल काटन थालेपछि उद्योगी व्यापारीले पत्रकार सम्मेलन गर्दै यस विषयमा मन्त्रिपरिषद्सम्म ज्ञापनपत्र बुझाउँदासम्म कुनै पहल नभएको बताएका छन् ।


ऊर्जा मन्त्रालयसमेत सम्हालेका मन्त्री पौडेल गृहजिल्ला हरेक पटक रुपन्देही आउँदा उद्योगी व्यवसायीले यो समस्या पौडेलसँंग राख्दा पनि समस्या समाधानका लागि कुनै पहल नभएको र अहिले असारभित्र ट्रन्क लाइन विद्युत् उपभोग गरे वापतको महशुल भुक्तानका लागि बिल गएपछि व्यवसायीमा थप मानसिक तनाव देखिएको उद्योगी एवं भलवारी स्वचालित चामल कारखानाका सञ्चालक चन्द्रमान श्रेष्ठले बताए ।

भैरहवा बुटवल सडकखण्डको दायाबाया क्षेत्रमा रहेका २३ उद्योगमा अहिले विद्युत् प्राधिकरणको भैरहवा, नयाँमिल र बुटवल वितरण शाखाले ट्रन्कलाइनको बक्यौता रकम भुक्तानका लागि बिल काटेका छन् । असार मसान्तभित्र पैसा भुक्तान नगरे कारबाही हुने जानकारीसमेत विद्युत् प्राधिरकणले दिएपछि अहिले कोभिडका कारण विषम परिस्थितिमा रहेका उद्योग व्यवसाय थप समस्यामा पर्न गएको श्रेष्ठको भनाइ छ ।
पीडित व्यवसायीले सरकार तथा विद्युत् प्राधिकरणले आफूहरूमा परेको समस्या समाधानका लागि पहल नगरी एकै पटक विद्युत् महशुल भुक्तान नगरे कारबाही गर्ने समेत बताउनु दुःखद रहेको पत्रकार सम्मेलनमा बताए ।


आफूहरूले उद्योगमा ट्रन्कलाइन विद्युत्को माग गर्दै नगरेको र आवश्यक पनि नभएकोमा जबरजस्ती लादिएको पञ्चकन्या उद्योगका नायब महाप्रबन्धक देवेन्द्र साहुले बताए । हामीले माग पनि गरेका होइनौ, आवश्यक पनि थिएन र जडान भएको पनि थाहा छैन, कसरी तिर्ने बिल, साहुले भने । सामान्य लाइनभन्दा ट्रन्कलाइनको महशुल ६७ प्रतिशतले महँगो छ ।
ट्रन्कलाइनका कारण अहिले हामीहरू समस्यामा छौं, सरकार र प्राधिकरणले यो विषयमा सम्बोधन गरेन भने हामी उद्योगमा ताला लगाएर चाबी सरकारलाई बुझाउँछौं, सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं एभरेष्ट रोलिंग इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयनकाले बताए ।
ट्रन्कलाइन भनेको एक सबस्टेसनबाट अर्को सबस्टेसनका बीचमा कुनै उद्योग रहे ती उद्योगलाई सोझै सबस्टेसनमा विद्युतीकरण भएको लाइनबाटै विद्युत् उपलब्ध गराउनु हो । ट्रन्कलाइनमार्फत प्राप्त विद्युत् बिना कुनै अवरोध निरन्तर प्रवाह हुने, ट्रिपिंग नहुने, भोल्टेज तलमाथि नहुने रहेको प्राधिकरणले बताउँदै आएको छ । तर व्यवसायी भने प्राधिकरणको भनाइ मान्न तयार छ्रैनन् ।


ट्रन्कलाइन भन्नुमात्रै रहेछ, यो लाइनमा पनि लोडसेडिंग, ट्रिपिंग र लोभोल्टेजको समस्या देखियो, त्यसैले त सामान्यभन्दा कुनै फरक नहँुदा हामीले थाहा पनि पाएनौ र एकै पटक बिल आउँदा थाहा पायांै, बिल आउने बित्तिकै हामीले तत्काल काटन आग्रह गर्दा पनि नकाटिएको र महगो बिल प्रत्येक महिना आउने गरेको एसोधा फुड प्रालिका महाप्रबन्धक मधुसूदन घिमिरेले बताए । आफूलगायत यस क्षेत्रका कुनै पनि उद्योगले ट्रन्कलाइन विद्युत् जडान गर्दिनु भनेर अहिलेसम्म कसैले पनि निवेदन नहालेको र जबरजस्ती लादिएको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्