उद्धार, राहत र पुनस्र्थापनामा सरकारले राजनीति गर्दैन : गृहमन्त्री पौडेल «

उद्धार, राहत र पुनस्र्थापनामा सरकारले राजनीति गर्दैन : गृहमन्त्री पौडेल


गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनस्र्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।
आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारे ।

राजनीतिका लागि अन्य कयौ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । विपत् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारबीच प्रभावकारी समन्वय भएको उनले बताए । विपतमा परेकाहरुलाई राहत दिन चाहने व्यक्तिहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् वितरण गर्नेगरी एकद्धार प्रणाली लागु गरिएको पनि उनले बताए ।


गृहमन्त्री पौडेलले वर्षाका कारण पहिरो जानसक्ने र सडक अवरुद्ध हुनसक्ने सम्भावना भएका ठाउँको नजिकमा मानविय तथा अन्य आवश्यक स्रोत, साधनहरुको व्यवस्थापन गरीएको बताए । उनले सडक सुचारु गर्न र मानिसको आवतजावत लाई सहज तुल्याउन सरकार केन्द्रीत भएर लागेको बताए । गृहमन्त्री पौडेलले डुबानको समस्या समाधान गर्नका लागि भारत सरकारसँग दुई पक्षिय सम्वाद गरेको पनि बताए ।


यसवर्षको मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त घरहरुको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सरकारले बनाएको कार्यविधि अनुसारको रकम तत्काल दिनका लागि प्रक्रिया अगाडी बढाइएको पनि उनले जानकारी दिए ।
यस वर्ष मनसुन शुरू भएयता (२०७८ जेठ ३१ गतेदेखि आइतबारसम्म) देशका विभिन्न जिल्लामा मनसुनजन्य विपद्का २२६ घटना भएको तथा सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटीलगायत २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ बेपत्ता र ४६ जना घाइते भएको सरकारले जनाएको छ ।


२०७८ असार १९ मा परेको अविरल वर्षाका कारण सुनसरीको थला, ट्याङ्ग्रा, बूढी, केशलिया, धनुष खोलामा बाढी आई आसपासका करीब २०० घर डुबान भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए । पीडितलाई स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायका सक्रियतामा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सोही दिन पर्सा जिल्लाको सिर्सिया खोलाको बाढीले डुबानमा परेका ३१ घरपरिवारलाई स्थानीय प्रहरीको सक्रियतामा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
मनसुनजन्य विपद्का घटनाबाट मानवीय क्षतिका साथै सयौँ घरपरिवार विस्थापित भएका छन् । हालसम्म सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्की, गोरखा, अर्घाखाची, खोटाङ, तनहुँ, सर्लाहीलगायत जिल्लामा ५०५ निजी घर पूर्णरूपमा तथा ११२ घरमा आंशिक क्षति भएको सरकारको तथ्यांक छ । ३६ सरकारी कार्यालयका भवन क्षतिग्रस्त भएका छन् । त्यसैगरी नौ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।
विपद्बाट सिन्धुपाल्चोक जिल्लामा सात, मनाङ र चितवनमा दुईदुई, तथा तनहुँ मोरङ, उदयपुर र सिरहामा एकएक गरी १५ मोटरेबल पक्की पुलको क्षति भएको छ । मनाङमा पाँच मोटरेबल काठेपुलको क्षति भएको छ । सिन्धुपाल्चोकमा १४, मनाङमा सात र मस्याङ्दी नदीको एक्लेफाँटमा (तनहँु र गोरखा जोड्ने) एक गरी २३ झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । विषयगत निकायबाट तत्काल कार्ययोजना बनाई क्षति भएका सार्वजनिक सम्पत्ति र पूर्वाधारको पुनःनिर्माण गरिने उपप्रधानमन्त्री पौडेलले अवगत गराए ।

प्रतिक्रिया दिनुहोस्