Logo

रामनगर गाउँपालिका अध्यक्षको निधन

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको ६७ वर्षको उमेरमा निधन भएको छ । सर्लाहीको पश्चिमी भूभागमा अवस्थित रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको काठमाडौंको मेडिसिटी हस्पिटलमा शनिबार राति १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।


लामो समयदेखि मधुमेह तथा बिपिको समस्याबाट ग्रसित रहेको अध्यक्ष बर्माको उपचारका क्रममा शनिबार राति निधन भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् । एक्कासी उनको स्वास्थमा समस्या भएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो । ब्लड प्रेसर बढेपछि नाक र मुखबाट रगत आएपछि आइसियुमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको रामनगर गाउँपालिकाका निमित प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिए ।


अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने रामनगर गाउँपालिकाले जनाएको छ । रामनगर गाउँपालिका वडा नम्बर १ मा स्थायी घर भएको बर्मा वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदबार बाबुलाल रायलाई पराजित गरी नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्