सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छ :प्रवक्ता शर्मा «

सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छ :प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन् । आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने कुराको अपेक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधिशहरुको हातमा रहेको बताए । उनले महामारीबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको रहेको पनि बताए । नागरिकको जीवनलाई रक्षा नगर्ने हो भने त्यो लोकतन्त्र हुन नसक्ने प्रवक्ता शर्माले बताए ।

प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए । उनले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।

नेकपा(माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाए । नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीको रुपमा प्रधामन्त्री ओली प्रयोग भएको उनको जिकिर छ ।

उनले यस प्रकारको प्रवृत्तिसँगको लडाइँलाई अझै पेचिलो बनाउनुपर्ने बताए । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि बिचार गरिनुपर्ने बताए ।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको भन्दै राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्