कोभिड–१९ पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन माग «

कोभिड–१९ पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन माग


नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष ०७८-७९ को मौद्रिक नीतिका लागि सुझाव पेस गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष मौद्रिक नीतिका लागि सुझाव पेस गरेको हो ।
महासंघले आगामी मौद्रिक नीतिले चालू वर्षको नीतिमा कोभिड–१९ पुनरोत्थानका लागि लिएको नीतिको निरन्तरतासंँगै साना तथा मझौला उद्यमीलाई परियोजना कर्जा एवं डिजिटल बैंकिङको विस्तारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । साना तथा मझौला उद्यमी लक्षित पुनर्कर्जाले निकै राहत दिएको भन्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रमा करिब २२ प्रतिशत हिस्सा राख्ने यस्ता उद्यम र स्टार्टअपको विस्तारका लागि परियोजना कर्जाको अवधारणा ल्याउनुपर्ने बताएका छन् । महासंघले परियोजना कर्जाको सम्भाव्यताबारे अध्ययन गरिरहेको र छिट्टै नेपाल राष्ट्र बैंकसमक्ष प्रस्तुत गर्ने उनले बताएका छन् ।
छलफलमा गभर्नर अधिकारीले महासंघबाट प्रस्तुत सुझावलाई अध्ययन गरी आवश्यक सुझाव मौद्रिक नीतिमा समावेश गर्ने बताएका छन् । व्यवसाय निरन्तरता कर्जाको प्रभावकारी कार्यान्वयनका लागि तलबबाहेक अन्य कामका लागि पनि सुविधा होस् भन्ने माग निजी क्षेत्रको छ । सहुलियतपूर्ण कर्जामा पनि सामान्य परिमार्जन आवश्यक रहेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चालू वर्षका मौद्रिक नीतिका प्रावधानसँंगै बजारमा रहेको अत्यधिक तरलताका कारण विशेषगरी चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थतन्त्रका लागि निकै राम्रो रहे पनि यसपटक तरलतामा चाप पर्ने देखिएको छ । त्यसैले यस आर्थिक वर्षको मौद्रिक नीति बजारमा तरलता प्रवाह गर्नेतर्फ बढी केन्द्रित हुनुपर्ने महासंघको सुझाव छ ।
उपलब्ध उपकरणको प्रयोग गरी एकल अंकमा ब्याजदर कायम गर्ने प्रयास नीतिले गर्नुपर्ने र आर्थिक गतिविधि बढ्दा विदेशी विनिमय सञ्चिति तथा भुक्तानी सन्तुलनमा पर्ने चापको अवस्थालाई पनि मिहीन रूपमा मौद्रिक नीतिले केलाउनुपर्ने महासंघको सुझावमा छ । सरकारले तदारुकताका साथ खोप वितरण गर्न सक्यो भने आर्थिक वर्ष ०७८-७९ मा अर्थतन्त्र पूर्णतया लयमा फर्किने महासंघको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्