वर्सेनि १२ करोडको जुनार कुहिँदै «

वर्सेनि १२ करोडको जुनार कुहिँदै

२०७१ सालमा छिटफुटरूपमा देखिएको सो किराको व्यवस्थापनमा जुनार उत्पादक किसान, व्यापारी र उपभोक्ताले ध्यान नदिएका कारण अहिले यसले विकराल रूप लिएको हो ।

सिन्धुली-जुनारको राजधानीका रूपमा परिचित सिन्धुलीले जुनारबाट वर्सेनि करोडौं रकम घाटा बेहोर्दै आएको छ । जुनारमा देखिएको सुन्तला जात फलफूलको फल कुहाउने औँसा पार्ने झिंगा (ब्याक्ट्रोसेरा मिन्याक्स चाइनिज सिट्रस प्लाई) का कारण करोडौं रकम घाटा बेहोर्न किसान बाध्य भएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (जुनार सुपरजोन) का प्रमुख देवराज अधिकारीका अनुसार जुनारमा देखिएको झिँगाले वर्सेनि १२ करोड रूपैयाँ रकम बराबरको जुनार झार्ने तथा कुहाउने गरेको छ । विगत ४ वर्षदेखि जिल्लामा यसको प्रभावले जुनार उत्पादनमा कमी आइरहेको उनले बताए ।
२०७१ सालमा छिटफुटरूपमा देखिएको सो किराको व्यवस्थापनमा जुनार उत्पादक किसान, व्यापारी र उपभोक्ताले ध्यान नदिएका कारण अहिले यसले विकराल रूप लिएको हो । पोथी झिँगाहरूले जुनारका फलभित्र फूल पारेपछि तिनीहरूबाट औंसा निस्कने र औंसाले गुदी खाँदा फल कुहिने तथा रुखबाट खस्ने गरेको अधिकारीले बताए । झिँगाका कारण जुनारबाट जिल्लाले वर्सेनि करोडौं रकम घाटा बेहोर्न बाध्य भएको भन्दै उनले यसको व्यवस्थापनका लागि जुनार कृषकका साथै व्यापारी र उपभोक्ता पनि सजग बन्नुपर्ने बताए । कीराको फैलावट न्यून गर्न किराको व्यवस्थापनमा जुनार कृषक, व्यापारी र उपभोक्ताहरूको मुख्य भूमिका हुने उनको भनाइ छ । “औंसा कीरा नलागेका जुनारका फलका बिक्रीवितरणमा कृषकको अठोट, कीरा नलागेका जुनारका फलको खरिद तथा ओसार–पसारमा व्यापारी र उपभोक्ताको अठोट भएपछि मात्र कीरालाई नियन्त्रण गर्न सकिन्छ,” उनले भने। “जुनार बेच्दा र किन्दा क्षतिको लक्षण चिनारी गरेर मात्र प्रयोग गरौं ।”
सुपरजोनले ब्याक्ट्रोसेरा मिन्याक्सको व्यवस्थापनका लागि २०७४ साल वैशाखदेखि असार मसान्तसम्म गोलञ्जोर गाउँपालिका–४ तीनकन्यामा ८ सय रोपनी जुनार बगैंचामा प्रोटिन हाईड्रोलाईसेट प्रयोग गरी अबलम्वन गरिएको क्षेत्रगत नियन्त्रण कार्यक्रम प्रभावकारी भएको जनाएको छ । जसका कारण सो क्षेत्रमा १५ प्रतिशतले जुनार झर्न कम भएको अधिकारीले बताए ।
किराको व्यवस्थापनका लागि क्षेत्रगत नियन्त्रण कार्यक्रम अवलम्बन गर्न प्राविधिक पक्ष तयार भए पनि व्यवस्थापकीय पक्ष सबल नभएको उनले बताए । फल्ने जुनार, क्षेत्रफलको तथ्यांक, आवश्यक वजेटको व्यवस्थापन, समयमै प्रोटिन हाईट्रोलाईसेटको जोहो गर्न सके तथा स्प्रेकर्ताको व्यवस्थापन भए किराको व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
सुपरजोनले अहिले पनि कीराको भिँगा अवस्था निकस्ने समयको पहिचानका लागि ९ सयदेखि १४ सय ५० मिटरको उचाइको बगैँचामा कीराको अध्ययन गरिरहेको र बगैंचाको जमिनमा जाली या झुल राखेर या प्रोटिन हाईड्रोलाईसेटको पासोद्वारा अनुगमन गर्न सकिने, स्प्रेकर्तालाई अभिमुखीकरण तथा प्रशिक्षण र प्राविधिक अनुगमन गरिरहेको जनाएको छ ।

कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्